वाम गठबन्धनका अवसर र चुनौती

वाम गठबन्धनका अवसर र चुनौती


सुमन बराल

अनेक चुनौती र अड्कलबाजीका बीच संविधानले तोकेको समय–सीमाभित्र नै सफलतापूर्वक चुनाव सम्पन्न भएको छ । समग्रमा शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अङ्ग, मिडिया, राजनीतिक दलहरू र आममतदाताले खेलेको भूमिका प्रशंसनीय छ । पूर्वअनुमान गरिएजस्तै वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ, तर काङ्ग्रेस यति नमजाले पछारिन्छ भन्ने कुरा भने धेरैले आकलन गरेका थिएनन् । यद्यपि वाम गठबन्धन मात्तिन अनि नेपाली काङ्ग्रेस र वैकल्पिक शक्ति बन्न कसरत गरिरहेको विवेकशील साझा धेरै अत्तालिन भने आवश्यक छैन । दुई ठूला वामपन्थी दलहरू मिलेकाले मात्र नभई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले अङ्गालेको र देखाएको बाटो छाडेर हिँडेकाले चुनावमा काङ्ग्रेसलाई जनताले दण्डित गरेका हुन् ।

दुई ठूला वामपन्थी दलहरू मिलेकाले मात्र नभई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले अङ्गालेको र देखाएको बाटो छाडेर हिँडेकाले चुनावमा काङ्ग्रेसलाई जनताले दण्डित गरेका हुन् ।

प्रहरी प्रमुख नियुक्ति विवाद, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद्, लोकमानसिंह कार्की विवाद र भारतले अमानवीय नाकाबन्दी लगाउँदा खलेको भूमिकालगायतका प्रकरणमा काङ्ग्रेस नमजाले चुकेको थियो । यद्यपि आगामी दिनमा शशांक कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापालगायतका तुलनात्मक रूपमा सक्षम र इमानदार नेताले पार्टीको नेतृत्व गर्न पाए भने काङ्ग्रेसको सुकेको रूखमा फेरि मुना पलाउने निश्चित छ । विगतमा जस्तै देशी–विदेशी शक्तिकेन्द्रहरूको इसारामा वाम गठबन्धनलाई फुटाउने, सरकारमा जान छिर्के दाउ खेल्ने कुबुद्धिले काङ्ग्रेसलाई मात्र नभई देशलाई नै अहित हुने कुरा नयाँ नेतृत्वले हेक्का राख्नुपर्छ । काङ्ग्रेसले संवेदनशील क्षेत्रमा अवस्थित र जागरुक जनता भएको नेपालमा अधिनायकवाद आउने त्रासको आडमा नभई सरकारले गरेको राम्रा काममा समर्थन अनि खराब कामको विरोध गरेर जिम्मेवार प्रतिपक्षको भूमिका निभाएर जनताको मन र मत जित्ने कोसिस गर्नुपर्छ ।

साथै, काङ्ग्रेस मात्र नभई देश नै ध्वस्त बनाउन प्रत्यक्ष–परोक्ष भूमिका खेलेका केही असक्षम र भ्रष्टहरूबाट पार्टीलाई जोगाउन आवश्यक छ । उनीहरू सम्मानजनक ढङ्गले पार्टीको अभिभावकत्व गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएनन् भने काङ्ग्रेस र देश दुवैलाई घाटा हुनेछ । तसर्थ काङ्ग्रेसभित्र भ्रष्ट र अक्षमहरूले आफ्नो गोजीबाट नेता र प्रतिनिधि छान्ने अनि तिनैद्वारा सभापति र नेतृत्व छानिने लाजमर्दो बेथितिमा सुधार गर्न आवश्यक छ । वास्तविक अर्थमा लोकतान्त्रिक विधिबाट नेता छानिएको खण्डमा युवा र राम्रा भनिएकाले प्रतिस्पर्धा गर्न सक्नुप¥यो भन्ने कटाक्ष गर्दै भ्रष्टहरूको पक्षपोषण गर्ने जमात पनि तर्कविहीन हुनेछन् । अर्कोतर्फ नयाँ नेतृत्वले राप्रपाका अनि मधेसकेन्द्रित दलका विभिन्न गुटमा छरिएर बसेका इमानदार नेता, कार्यकर्ता र मतदातालाई पनि काङ्ग्रेसमा ल्याउन कसरत गर्नुपर्छ, तर परीक्षण भइसकेका शीर्ष नेताहरूलाई अभिभावकत्वभन्दा माथिको जिम्मेवारी सुम्पिनुहुँदैन ।

देश–विदेशमा छरिएर बस्ने अधिकांश नेपालीले कुनै एक गठबन्धनको स्थिर सरकार बनेर समृद्धिको दिशामा देश अघि बढोस् अनि वाम गठबन्धन र काङ्ग्रेस दुवै नसिुध्रिने, तर जनता तिनैलाई छान्न बाध्य हुने स्थितिको अन्त्य गर्न विवेकशील–साझा राष्ट्रिय दल बनोस् भन्ने अपेक्षा गरेका थिए । ठूला दलहरूले विगतको आचरण र प्रवृत्ति बदल्न सकेनन् भने जनताले भविष्यमा भरपर्दो वैकल्पिक दलका रूपमा विवेकशील–साझालाई हेर्नेछन् भन्ने सङ्केत दिने गरी सम्मानजनक मत दिएका छन् । उनीहरूले अझै पनि सरकारलाई देश र जनताको पक्षमा काम गर्न सकरात्मक दबाब दिन सक्छन् अनि अहिले पाएको मत र सद्भावको जगमा देशभरि पार्टी र सङ्गठनको सुदृढीकरणमा ध्यान दिएर मत र मन जित्ने कोसिस गर्न आवश्यक छ ।

अर्थशास्त्रका पिता मानिने एडम स्मिथलाई पनि पछार्ने क्षमता बोकेको ठान्ने दलनिकट होनाहार अर्थशास्त्रीहरू नेपालमा धेरै छन्, तर सरकारले त्यो घेराभन्दा माथि उठेर स्वतन्त्र विज्ञहरूको सुझाबलाई पनि आत्मासात् गर्न आवश्यक छ । नेपाल अत्यन्त पछि परिसकेकाले दलहरूले विशेष ध्यान दिनुपर्छ । काङ्ग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वले विकास र निकास दिने नैतिक बल र इमानदारिता गुमाइसकेका छन् भन्ने धेरैले आरोप लगाउने गरेका छन्, तर वाम गठबन्धनलाई पाँच वर्षभित्र काम गरेर निराशालाई आशामा बदल्ने सुवर्ण अवसर मिलेको छ । वाम गठबन्धन र काङ्ग्रेस फेरि पनि नसुध्रिए अनि विवेकशील–साझाले जनजीविकाको मुद्दा र जनताको आवाज इमानका साथ संसद्भित्र वा बाहिरबाट निरन्तर उठाइरहे भने ५ वर्षपछि हुने चुनावमा जनताले उचित मूल्याङ्कन गर्नेछन् ।

०४७ सालपछि सबैभन्दा बढी शासनसत्ता समालेका क्रमशः काङ्ग्रेस, एमाले र माओवादीले देशलाई संसारकै एक गरिब र अविकसित देश बनाउन भूमिका खेलेकोमा बढी जिम्मेवारी नलिएर चित्रबहादुर केसी र नारायणमान बिजुक्छेले लिने कुरा आउँदैन । पटकपटक प्रमाणित भ्रष्ट र अक्षमहरूलाई सत्तामा पु¥याउने जनता पनि केही दोषी छन्, तर अझै दल र जनता दुवै सच्चिने अवसर भने गुमिसकेको छैन । यसपटक वाम गठबन्धनसँग ५ वर्षभित्र प्रगतिपथमा देशलाई अघि बढाएर महसुस हुने गरी परिवर्तन गर्ने अवसर छ । साथै, काम गर्न नसकेको अवस्थामा ५ वर्षपछि जनताले दण्डित गर्ने भएकाले वाम गठबन्धनलाई विगतमा जस्तै मन्त्रिमण्डल गठनमा विवाद गरेर बस्ने, जितको मातमा एक–अर्कालाई प्रयोग वा दुरुपयोग गर्ने सुविधा छैन ।

नेपालमा नियन्त्रित अस्थिरताको खेती गरेर भारत र चीनको प्रगतिको यात्रामा बाधा पु¥याउन दाउपेच गरिरहेका देशी–विदेशी शक्तिकेन्द्रहरू स्थिर सरकार कुनै हालतमा नबनोस् भन्ने चाहन्छन् र विभिन्न दलभित्रका आफ्ना एजेन्टमार्फत सक्रिय हुनेछन् । यिनै कारणले एमाले र माओवादीबीच एकीकरण हुने अथवा वाम गठबन्धन लामो समयसम्म टिक्ने कुरामा पनि धेरै आशङ्काहरू छन् । एमाले र माओवादी गुट र उपगुटबाट पीडित छन् र केही शक्तिकेन्द्रद्वारा परिचालित हुन सक्छन् । तर, केपी ओली र प्रचण्डले खुट्टा कमाएनन् भने वाम गठबन्धन कसैले फुटाउन नसक्ने धरातलीय यथार्थ हो ।

विगतमा जस्तै राजा, पञ्चायत, राणाशाषण र अल्पमतलाई दोष लगाएर पन्छिने अवसर अब वाम गठबन्धनलाई छैन अनि सबै नागरिकको गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने राजधर्म पूरा गर्न ५ वर्ष पर्याप्त छ । विद्युतीय रेल चढ्न, केवल कारमा सगरमाथा घुम्न अझै केही दशक प्रतीक्षा गर्न तयार छन्, तर वाम गठबन्धनले सहजै गर्न सकिने काम पनि गरेनन् भने ५ वर्षमा जनताले विकल्प खोज्नेछन् । वाम गठबन्धनको संयुक्त घोषणा–पत्र कति कार्यान्वयन हुन्छ भन्ने कुरा भविष्यले बताउनेछ, तर ५ वर्षमा नभई ५ हप्ताभित्र सहजै गर्न सक्ने केही काम गरेको अवस्थामा मात्र उनीहरू इमानदार भएको पुष्टि हुन्छ । प्रथम, बेरोजगारीको विकराल समस्या समाधान गर्न अनि रोजगारीका लागि सस्तो श्रमिक बनेर बिदेसिन बाध्य ४०औँ लाख नागरिकलाई फर्काउन घोषणापत्रबमोजिम कृषि र पर्यटनलगायतका क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । तर, सर्वप्रथम सरकारले तोकेको मापदण्डविपरीत गएर लाखौँ नेपालीलाई ठग्न पल्किएका केही खराब म्यानपावर र कन्सल्टेन्सीलाई हदैसम्म दण्ड–जरिवाना गर्नुपर्छ ।

दोस्रो, लाखौँ र करोडौँ खर्चिएर सांसद बनेकाहरूले भ्रष्टाचार गरेर अर्बौं कुम्ल्याउने सम्भावनालाई न्यूनीकरण गर्न घुस लिएको र दिएको प्रमाणित भएकालाई आजीवन सार्वजनिक पदका लागि अयोग्य हुने अनि हदैसम्म दण्ड–जरिवाना गर्ने कानुन बनाउने नैतिक बल गठबन्धनसँग हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरण गर्न प्रत्येक सरकारी कार्यालयमा सीसीटीभी जडान गर्ने, इन्टरनेटबाट सीधै सेवा–सुविधा लिन सकिनेलगायतका प्रविधिको सदुपयोग गर्नुपर्छ । तेस्रो, पैसाको अभावमा महँगो रोग लाग्दा मृत्यु कुरेर बस्न अनि आत्महत्या गर्न बाध्य हुने पीडादायी स्थितिको अन्त्य गर्न आयबमोजिम कर लिएर सबै नागरिकको स्वास्थ्य सेवाको ग्यारेन्टि गर्नैपर्छ । चौथो, विकास र समृद्धिका लागि दलीय आधारमा आधिकारिक कर्मचारी र विद्यार्थी युनियन बनाउन नपाउने कानुन बनाउनुपर्छ ।

पाँचौँ, पूर्व–पश्चिम रेल बिस्तारै बनाउँदा पनि हुन्छ, तर सरकारी लगानीमा वा निजी क्षेत्रलाई नै मापदण्डबमोजिम मर्यादित बनाएर चढ्न लायक सार्वजनिक यातायात सेवा सुरु गर्न आवश्यक छ । साथै, भएका सडक मर्मत गर्ने अनि सवारीसाधन अनुमतिपत्र वितरणमा कडाइ गर्दै अनुमतिपत्र भएकालाई पनि फेरि परीक्षा लिन लगाउने हो भने दुर्घटना पनि न्यूनीकरण गर्न सकिन्छ ।

छैटौँ, समयसँगै आफूलाई परिस्कृत गर्न नसकेका शिक्षकको ठाउँमा दक्ष र योग्य शिक्षक पठाउने अनि पूर्णकालीन राजनीति गर्ने शिक्षकलाई जागिर र राजनीतिमध्ये एउटा चयन गर्न लगाउने हो भने सरकारी स्कुलहरूको खस्कँदो गुणस्तरलाई बढाउन मद्दत पुग्छ ।

सातौँ, भारत र चीन अनि अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ ।

आठौँ, भूकम्पपीडितलाई उचित व्यवस्थापन गर्नुपर्छ अनि जीर्ण अवस्थामा रहेका देशभरिका संरचनाहरू अर्को विपत् आउनुअघि नै भूकम्पप्रतिरोधी बनाउन बाध्यकारी नियम पालना गराउने, बिल्डिङ कोड देशभर लागू गर्न जनचेतना फैलाउने र मापदण्ड मिच्नेलाई कारबाही गर्ने, खोज तथा उद्धारका निम्ति पर्याप्त उपकरण र दक्ष जनशक्ति राख्नेलगायतका काम गर्नुपर्छ । स्थानीय सामग्री प्रयोग गरेर भूमि र संस्कृति सुहाउँदा कम खर्चिलो र भूकम्पप्रतिरोधी घरहरू बनाउन सकिन्छ । साथै, पहिरोलगायतका प्राकृतिक प्रकोपको जोखिम कम भएको क्षेत्रमा एकीकृत पुनर्वासको अवधारणा ल्याएर बाटो, बिजुली, पानी, ढल, विद्यालय, अस्पताल, टेलिफोनलगायतका सुविधा पु¥याउन राज्यलाई सहज बनाउनुपर्छ । दमकल र एम्बुलेन्ससमेत पुग्न नसक्ने डरलाग्दो र लज्जास्पद शहरीकरण अन्त्य गर्नुपर्छ । इमानदारी साथ काम गर्न सकेनन् वा चाहेनन् भने वाम गठबन्धनलाई अर्को चुनावमा जनताले दण्डित गर्ने निश्चित छ ।

[email protected]