'अभिनन्दन सम्झनाको !'

'अभिनन्दन सम्झनाको !'


-कमल पौड्याल,
”रात
रात सुनसान छ
रात अँध्यारो छ,
रात अघोर निन्द्रामा छ
रातलाई व्युँझाउन
सियोको टुप्पो भएर
मेरो सानो मनले निँहु खोज्दैछ ।
ऊ मलाई सुत्न दिन्न
सुनसानमा एकाधिकार जमाउँछ,
कोट्याई रहन्छ
घोँचिरहन्छ,
चुहिरहन्छ,
चुहिरहन्छ,
रत टपकिरहन्छ,
टप टप टप…टप,
आफ्नै मनको सियोले
घोपेको घाउबाट ।”
कवयत्री तथा लेखिका सुलोचना मानन्धरको ‘अनुभूतिका थोपाहरु’ कविता सँग्रहको ‘रात’ शीर्षकको कविताबाट उद्धृत अँश जस्तै भएको छ मेरो यो रात । मनभरि सुनसान रात जागिरहेको छ, आजको यसै घडीमा म केही विगत वल्झाईरहेको छु । दुई वर्षअगाडि आजकै रात, अवेरसम्म म पिताजीसँग कुराकानी गर्दै थिएँ, त्यस प्रहर पनि आँखाबाट निन्द्रा हराएको थियो र अहिले त्यो सम्झना आँखामा यसरी टाँस्सिएको छ कि निन्द्राको कतै नामोनिसान नै छैन ।

आजकै दिन दुई वर्ष पहिले, पिताजी नेपालबाट हङकङ आइपुग्नु भएको थियो। अघिल्लो रात फोनमा छोटो कुराकानी भएको थियो-“लौ, छोरा, पासपोर्टलगायत सबै कागजातहरु मिलाएर राखेको छु, विहान भाइले एअरपोर्ट पुर्‍याई दिई हाल्छ, एउटा पाको मान्छेको साथ लागेर आइहाल्छु नी, पीर नगर !, बाँकी भेटमा”….भन्दै कुराको बिट मार्नु भएको थियो । मलाई भने पिताजी कतिबेला आइपुग्नुहुन्छ, कहिले भेटौँला, भन्ने उत्सुकताले चित्त चन्चल भईरहेको थियो । करीव पौने तीन बजेतिर एअरपोर्ट जाने बस चढेर चेपलाप कोकको बाटो तताएँ ।

देशमा पञ्चायतीतन्त्र, प्रजातन्त्र, असोजतन्त्र, मकरतन्त्र या लोकतन्त्र आए पनि नेपाल वायूसेवा निगमको तन्त्रमा भने रौँ जति पनि असर आएको छैन । उडान या अवतरण समयमा नहुनु या हुँदै नहुनु, चेक-इन गरेर वोर्डिङ पास लिई सकेपछि पनि उडान रद्द हुनु, आफ्ना यात्रूहरुलाई जिम्मेवार मान्छे अगाडि आएर स्पष्टिकरण दिनु त परै जाओस्, फोनमा समेत उपलब्ध नहुनु, अग्रिम बुकिङ गरेको कन्र्फम टिकट पनि एअरपोर्टमा पुगेपछि फर्कन वाध्य हुनु आदि नेपाल वायूसेवा निगममा यात्रा गर्ने जो कोहीको पनि एउटा सत्य तथ्य कथा भएको हुन्छ । ‘नेपालीहरुलाई जति पनि दबाउन सकिन्छ’ भन्ने उक्ति सान्दर्भिक लाग्छ यहाँ । यति हुँदा हुँदै पनि हाम्रा हङकङेली नेपालीहरुका विशेष कार्यक्रममा हाम्रा वायूसेवा निगमका मान्छेहरु निम्त्याएकै छन्, अतिथीका आसन ग्रहण गराएकै छन्,…”लौ हजुर, तपाईँहरु जसरी भए पनि, देखा मात्रै हुन भए पनि, आई दिनु पर्‍यो”……भन्ने भाकाका फोनहरु गएकै छन् । समस्याको निराकरणको लागि ख्वै त हामीबाट पाइला चालिएको ? सबै हङकङेली नेपालीहरु मिलेर यति निश्चित समयावधिमा व्यवस्थापनमा सुधार नआए यात्रा गर्न वहिस्कार गरिदिने हो भने त्यसले केही असर गर्ला । यहाँका मान्छेका जहिले पनि उही रेडिमेड जवाफ हुन्छ….”यो माथिको समस्या हो, यहाँबाट केही गर्न सकिँदैन ।”…हुन त नेपाल वायूसेवा निगमको चेपलाप कोक विमानस्थलको काउन्टरमा निगमका सम्पत्तिहरु (तौल) त थोक तथा खुद्रा खुलेआम बिक्री हुँदा आँखा चिम्लिएर आफ्नो भागमा कति पर्छ भन्दै हिसाव गर्नेहरुले माथिको समस्यामा त के लछारपाटो लगाउनू ? नेपाल वायूसेवा निगमको सबैभन्दा बढी नाफा हुने क्षेत्र हङकङ सेक्टर हङकङे नेपालीहरका लागि ….’नखाउँभने दिनभरिको शिकार, खाउँभने कान्छा बाउको अनुहार’…सावित भएको छ । सायद अरु सजिला विकल्पहरु नभएर होला ।

यस्तै कुराहरु मनमा खेलाउँदै एअरपोर्ट नजिक पुगिसकिएछ । परैबाट ‘नीलो रातो किनारा’ भएको वोइङको पुच्छर देखेपछि मात्र …’पिताजी अब त पक्कै आइपुग्नु भयो’…भन्ने ढुक्क भयो । केही बेरमा नै म आगमन कक्षको प्रतीक्षालयको भित्तामा रहेको ठूलो स्क्रिनमा आँखा पनि नझिम्क्याएर हेरिरहेको थिएँ । पिताजीसँगको मेरा वाल्यकालमा अविस्मरणीय क्षणहरु मानसपटलमा सल्बलाउन थाले । म वाल्यकालमा पिताजीको पछि लागेर शहर जान भनेपछि हुरुक्क हुन्थेँ । चिउरी पाटी, पण्डीत पौवा, धार्केको ओह्रालो, महेश खोलाको तीरै तीर, धुनेबेसीको आँप बँगैचा, खत्री पौवाको उकालो हुँदै थानकोट चेकपोस्टबाट एक मोहोर (पचास पैसा) मा मिनिबस चढेर….”लहै छोरो, च्यापिएला”…भन्दै बसको भीडबाट मलाई बाँधमा बोकेर मलाई ओह्रालेको अनि ठहिटीको तीन तलामाथिको (सायद त्यतिबेला, मोहन विक्रम सिँहको मसाल सम्बन्धित कार्यकर्ताको) कोठामा नुनपानी तताएर मेरा दुखेको गोडा धोइदिएको झलझली याद आयो ।

अनि असीको दशकमा टेकेका पिताजीलाई आफ्नै बलबुताले दोस्रोपटक हङकङमा स्वागत गर्न पाउँदा गर्व महसुस गरिरहेको थिएँ । पिताजी टुप्लुक्क आइपुग्नु भयो र मलाई स्पर्श गर्नु भयो । बोली टाठो भए पनि उहाँ शारीरिक रुपमा अलि दुर्वल लाग्नु हुन्थ्यो । उहाँलाई ल्याउन सहयोग गर्ने महानुभावलाई धन्यवाद दिँदै हामी चिमसाचुइ जाने बसतर्फ लाग्यौँ । उमेरमा चार दशकको अन्तर भए पनि पिताजी र मेरा धेरै कुराहरु र अनुभवभहरु मेल खान्छन् । पथ प्रदर्शक जस्तै नयाँ बाटो, नयाँ चिङ्मा पुल, सुरुङ मार्गको बारेमा पिताजीलाई व्याख्या गर्दै सवा घण्टाको यात्रा पार गरेको पत्तै भएन । घरको सँघारभित्र छिर्दै गर्दा मैले झ्वाट्ट सोधेँ…”ए…साँच्ची !..के छ नी, राम बहादुरको हाल खबर ? के मलाई सोधिरहन्छ ? घरमा कतिपटक आयो ?”…

पिताजी खुईय…सुस्केरा हाल्दै मतिर हेर्दै भन्नुभयो….”छोरा, राम बहादुरलाई त मारिहाले नी !” ..पिताजीको कुरा भुइँमा चुहिन नपाउँदै मैले प्रश्न गरेँ..”कसले ? किन ? कसरी ?”……”माओवादीले ।” म त्यसपछि भुइँमा थुचुक्क बसेँ, पिताजीले सविस्तार भन्न थाल्नुभयो ….”अस्ति करीव चार महिनाअगाडि चार पाँच जना माओवादीहरु राम बहादुरको घरमा खाना पकाउन लगाई खाईवरी जङ्गलको बाटो गएका थिए, उनीहरुका सुराकी गर्दै हिँडेका सेनाहरुले गोठालाहरुबाट सुराकी पाई मुठभेटको नाममा मारिएपछि माओवादी कार्यकर्ताहरुले राम बहादुरलाई सुराकी गरेको आरोपमा बाह्र बजे राति घरमा पक्रन आए । उसका छोराहरु ….’हाम्रा बुवालाई लान पाईँदैन’ …भन्दै गाउँ नै थर्कने गरी रोइरहेका थिए । श्रीमति …..’बरु मलाई मार, यिनी निर्दोष छन्’..भन्दै घरको मूलथाममा राम बहादुरलाई समातेर बस्दा …’हामी केही गर्दैनौँ, सोधपुछ गरेर छोड्छौँ’…भन्दै लिएर गएछन् । अनि त्यतिबेला नुवाकोट माओवादी जन सरकार प्रमुखले सुराकीको आरोपमा फासीको सजायँ सुनाएपछि वैद्यको वनमुनि भोर्ले खोलाको किनारमा नुवाकोट जिल्लाको काली दहछेउ हात पछाडि बाँधेर हँसियाले रेटेर मारेछन् ।” …..”किन नी, हँसियाले काटी मारेका ?” …मैले प्रश्न गरेँ,….”गोलीको खर्च नगर्न अरे ।”…पिताजीले बताउनु भयो ।

मेरो मन उथल पुथल भयो, घाँटी अवरुद्ध भयो । मेरो घरअगाडि चिमसाचुइको हनोइ रोडमा बदै गरको गगनचुम्वी विल्डिङको टुप्पातिर हेर्दै मेरा घर (धादिङ जिल्लाको केवलपुर)बाट देखिने पेटारीको लेक, वैद्यको वन अनि भोर्ले खोलाको काली दहको कल्पनामा एकैछिन हराएँ । राम बहादुलाई कति दुख्यो होला ? कस्तो जन सरकार ? कस्तो अदालत ? कस्तो सजायँ ? कुरै नसुनी, सफाइको मौकै नदिई…….बिचरा राम बहादुर…..! एकैछिनमा मेरा आँखाहरु टलपल टलपल भए । मेरो एकाग्रतालाई भङ्ग गर्दै पिताजी मलाई सान्त्वना दिन खोज्दै हुनुहुन्थ्यो …”छोरा, हामीले चिनेका त एकजना मात्र, सेना रमाओवादी मारेका निर्दोष जनताहरु त कति छन् कति ! तिमीलाई अँग्रेजी पढाउने शिक्षक कृष्ण प्रसाद ढकाललाई एकजना माओवादी कार्यकर्तासँग नाम मिलेकै भरमा पक्राउ गरी बैरेनी ब्यारेक (धादिङ जिल्लाको)मा सात दिनसम्म पुस माघको जाडोमा यातना दिनुसम्म दिई सातदिनपछि ….’गल्ति भएछ’…भनी छोडिदिए । कृष्णसेन इच्छुकलाई महेन्द्र पुलिस क्लवमा कुटी-कुटी मारे भन्छन् । दुई बन्दुकको सँग्रामले देश बर्वाद छ”…पिताजी फतफताउँदै हुनुहुन्थ्यो । जुद्ध शम्शेर र राणा प्रधानमन्त्री हुँदा भद्रकालीबाट सिँह दरबारतिर ठाडो शिरले हेर्दा सिपाहीँहरुले बन्दुक ताकेर हकार्न आएदेखि अहिलेसम्मका यावत घटनाक्रम भोगेको पिताजीभन्दा म अलि भावुक छु सायद, म राम बहादुरको बारेमा सोँच्न थालेँ ।

राम बहादुर उमेरको हिसाबले मभन्दा अलि पाको भए तापनि हामी साथी जस्तै थियौँ । त्यतिबेला पानी-घट्ट चलाएर जीवन गुजारा गर्ने राम बहादुरको घरमा म कैयौँ पटक पुगेको थिएँ । घट्टको चरा टक् टुक गर्दै मकै खसेको, पिँधेको घट्टको डुँड मदानी देखेपछि मेरो बाल मस्तिष्कमा भाएका उत्सुकताहरु उसले पूरा गरिदिन्थ्यो । घट्टको कूलोको मुहानदेखि मदानीले पानी फालेको दृश्यसम्म, राम बहादुरले मेरा विज्ञान पढाउने गुरुले भन्दा बुझ्ने गरी सम्झाई दिएको अस्तिजस्तो लाग्दैथ्यो । कोल्पू खोलाको जोगी रुम्टोको किनारमा दिनभरि दुवाली छेकेर एउटा माछा पनि पार्न नसकी घाम डाँडामा बस्नै लाग्न गर्दा निराश भई रहेको बेला राम बहादुरले फुर्लुङबाट आलो माछा दिँदै …”छिटो घर जाऊ, नत्र चिसापानीको चौतारामा भुतले समाउँछ”….भन्दै मेरो पाखुरामा समाएर ….”अलि टाढा टाढा हेर”….भन्दै खोलो तारिदिएको पनि अस्ति जस्तै लाग्दैथ्यो । राम बहादुरको घट्टको सोलीमा झुण्ड्याउने काठको चरा मेरो त्यतिबेलाको खेलौना थियो । राजनैतिक रुपले केही थाहा नभएको राम बहादुरले म हङकङ आएपछि घट्टबाट पिठो पिँध्ने, धान कुट्ने, र चिउरा कुट्ने मीलसमेत खोलेको थियो । म हङकङबाट फर्केको समयमा तीन पटकसम्म ऊ काठमाण्डौमा भेट्न आएको थियो । ….”बरु भाँडा माझ्न परे पनि हङकङ जान पाए, मील बन्द गरेर भए पनि हङकङ जान्छु”…भन्ने इच्छा उसले नगरेको होइन । उसको नियतिमा त्यस्तो भयानक मृत्यु हुन्छ भन्ने थाहा पाएको भए सायद कोशिस गर्थेँ हुँला ।

राम बहादुर जस्ता घट्ट र पानी मील चलाएर जीवन गुजारा गर्ने मजदुरहरु अनि आदिबासी जनजाति, दलित, उत्पीडितहरुका लागि वर्गीय चेतना जगाउँदै देशको भविष्य फेर्न बन्दुक उठाएको एउटा माओवादी पार्टीले एउटा तामाङको निर्दोष छोराको अन्जानमा हत्या गर्‍यो । हुन त देशमा रहेको २३८ वर्ष पुरानो सामन्ती सत्तालाई यति धरासयी बनाउन माओवादीको दश वर्षको जनयुद्ध पनि एउटा महत्वपूर्ण कारक तत्व होइन भन्नु अन्याय हुन्छ । प्रचण्डले चितवनको माडीमा लगायत देशको विभिन्न भागमा गएर अन्जानले त्यहाँ मारिएकाहरुका आफन्तहरुसँग माफी मागेर, गला लागेर, डाँको छोडे पनि उनीहरुका त्यो त्रासदी घाउ खाटो पर्ला तर मेटिन्न । अनि रुक्मागत कटुवालले मैना सुनुवारका आमा, बाबा हुन् या दोरम्भामा मारिएकाहरुका आफन्तहरु तथा भैरवनाथ गणले बनाएको सामूहिक चिहानमै गएर मौन धारण गरे पनि अपुग हुन्छ ।

देशमा लोकतन्त्र आएको छ, शान्ति तथा पुनस्थापना मन्त्रालयले एउटा विभाग खडा गरेर दश वर्षको जनयुद्धमा बिनाकसुर मारिएका निर्दोषहरुका खोजबिन गरी राहत दिने, रोजगारी दिने तथा कतिपय माओवादीका नाममा अरुले गरेका सँदिग्ध हत्याको छानबिन नगरे यी पीडित पक्षले देशमा लोकतन्त्र आएको भन्दा लोकतन्त्रको नाटक मञ्चन भएको बुझ्नेछन् ।

यिनै कुराहरु खेलाउँदै राम बहादुरका टम्म मिलेका दाँत, हँसिलो अनुहार, मिलनसारिता एवँ फरासिलो बानी व्यहोरा सम्झँदै निदाउने प्रयत्न अहिले गर्दैछु र कवयत्री मानन्धरको, कवि मञजुललाई पनि मीठो लागेको बाँकी अँश मनमनै गुन्गुनाउन थालेँ..

”रातको उदार ओछ्यानमा
लुटुपुटु भएर
मीठो निन्द्रामा सुतिरहेको बेला
समय गोली भएर पड्कन्छ
झसङ्ग बिउँझिन्छ रात,
अहो…रात पनि खोसिएको छ यतिबेला
रातको हत्या हुन्छ भने
भन म सुतुँ फेरि कसरी ??”
-नटसर्फड टेरेस,
काउलून, हङकङ