एक ऐतिहासिक वीर पुरुषप्रति श्रद्धान्जली

एक ऐतिहासिक वीर पुरुषप्रति श्रद्धान्जली


स्वर्गीय लछिमन गुरुङ, ३० डिसेम्बर १९१७मा, पर्वत जिल्लाको दखनी भन्ने गाउँमा जन्मेका थिए । सन् १९४० को डिसेम्बर महिनामा नै तत्कालीन ब्रिटिश सरकार अर्थात् इण्डियन आर्मीमा भर्ना भएका गुरुङले दोस्रो विश्वयुद्ध ताका अर्थात् सन् १९४५ मा आफ्नो बहादुरीको लागि ब्रिटिश सरकारबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।

सन् १९४५को मे १२ र १३ मा वर्मामा जापानविरुद्ध गुरुङ केही सहकर्मीहरुसहित सबैभन्दा अगाडिको लाइनमा पर्ने एक पोस्टमा तैनाथ थिए, जसलाई दुईसय जना जापानिज सिपाहीहरुबाट अचानकै हमला गरिएको थियो । तिनीहरुले फालेका ग्रेनेडले गुरुङको दाहिने हात उड्नुका साथै अनुहार तथा शरीरमा गम्भीर चोट दिएको थियो र अन्य सहकर्मीहरु ढलेका थिए । एक्लो अनि एक्लो हात (देब्रेहात)को भरमा तिनले भटाभट राइफल चलाउन थाले । करीव चार घण्टा त्यसरी नै नियमितताका साथ उनले दागेका गोलीहरुबाट ३१ जना जापानिजहरुको मृत्यु भएको थियो र तिनीहरु त्यसैले सो क्षेत्रलाई छाडेर फर्कन वाध्य भएका थिए, सोही बहादुरीको लागि लछिमन गुरुङलाई ब्रिटिश सरकारले भारतको दिल्लीमा १९ डिसेम्बरका दिन भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।

गत १२ तारिख, यहाँ उनको ९३ वर्षको उमेरमा निधन भएको छ । यूकेमा रहने नेपालीहरुलाई कुनै न कुनै रुपले गौरवान्वित गर्ने स्वर्गीय गुरुङको यही महिनाकै २२ तारिख अन्त्यष्ठि गरिने भएको छ, हुन त उनका छोराहरुको आगमनपछि मिति सारिन पनि सकिन्छ, तर हामी यूकेबासी नेपालीहरुले यूकेमा जोडिएका हामीहरुका एक कडीको ऐतिहासिक सम्वन्ध राख्ने वीर पुरुष भीसी लछिमन गुरुङको अन्त्यष्टिमा सहभागिता देखाई कृतज्ञता व्यक्त गर्ने बेला आएको छ । मेरोयूके डट कम, स्वर्गीय गुरुङको नेपालीलाई वीरतामुखी परिचय दिने क्रमको निरन्तरतालाई कायम राख्दै तथा वीरत्व अनि साहसको प्रदर्शन गर्दै एक लामो अनि सफल उदाहरणीय आफ्नो भागको जीवन सगर्व बिताएर परलोक भएका छन् । उनको देहवसानमा भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै मेरो यूके डट कम यूकेबासी सहृदय नेपालीहरुलाई भीसी गुरुङको अन्त्यष्ठिमा उपस्थित भई नेपाली भएकोमा गौरवान्वित हुन अनुरोध गर्दछ ।