[कथा] "आँशुको रङ नीलो"

[कथा] "आँशुको रङ नीलो"


-उमेश राई ‘अकिञ्चन’,
‘आँशुको रङ नीलो’यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ र आँशुको रङ कसरी एउटै हुनसक्छ ? -प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु, आँशुको रङ नीलो लेखुँ कि रातो लेखुँ ? अहिलेलाई आँशुको रङ नीलो नै लेखेको छु । अरू कारण कथाभित्र खुल्दै जानेछ । कुरा आजभन्दा ११-१२ वर्ष अघिको हो । आजजस्तै म थिएँ, पारू थिईन् र थिए हाम्रा बादलजस्तै उड्ने रहर । अनि अक्वारियमका माछाझैं नाचिरहने उमङ्ग । भक्तहरूलाई मन्दिरझैं प्रिय थियो घर नजिकैको कलेज । हामी आँखाका गोजीभरि-भरि सपनाहरू लिएर हिँड्थ्यौं । हामी हाम्रा कलेज- ब्यागभरि भविष्यका रोडम्याप बोकेर दौडन्थ्यौं । जीव-विज्ञानको विद्यार्थीले गर्ने भ्यागुता, गड्यौँला आदि चिरफार गर्ने निदर्यी काम (मरेकै जीवजन्तु भए पनि) र कैची, फोरसेप मात्र डाइसेक्टिङ बक्समा राख्दैन थियौं । त्यो सानो बाकसमा डाक्टर बन्ने रातो अनि उज्यालो घामजस्तो सपनालाई पनि जतनसाथ बोक्थ्यौं । आफ्नो कुरा गर्दागर्दै यो कथाको मुख्य पात्र र मेरो अनन्य मित्र हिमाल झन्नै छुटेको !

कठोर स्कूले दिन सकिएपछि, सिनेमामा देखाइने कलेजको रूमानी वातावरण कल्पँदै म, हिमाल र पारू विराटनगरको तीन कुनाबाट महेन्द्र मोरङ्ग कलेजको एउटै गेटबाट प्रवेश गरेका थियौं । जो निरन्तर चलिरहृयो दुई वर्षसम्म । अहिलेजस्तो टोलैपिच्छे विज्ञान क्याम्पस खुलेको समय थिएन त्यो । हामी सबैको आर्थिक अवस्था निजी क्याम्पस पढ्न सक्ने भए पनि हामीले सरकारी मोरङ कलेजमा नै भर्ना गरेका थियौं ।

पानीले आफ्नो सतह आफै मिलाउँछ भनेझैं हामी व्यक्तिहरू फरक भए पनि हामीबीच केही विशेषता मिल्दाजुल्दा थिए । हामी आ-आफ्नो स्कूलका जेहेन्दार विद्यार्थी थियौँ । संयोगले लगभग १०० विद्यार्थी मध्येमा पनि हाम्रो प्रयोगात्मक समूह एउटै थियो । विज्ञानमा सैद्घान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान ठूलो मानिन्छ । प्रयोगात्मक कार्य गर्नुपर्ने हुँदा विज्ञानका विद्यार्थीवीच हेलमेल बढी नै हुन्छ । म सानैदेखि साहित्यमा रूचि राख्थेँ । अनिवार्य अँग्रेजी पढ्नु परेको बेला कथा, कविता मैले उनीहरूलाई बुझाउँथे । म साहित्यप्रेमी भएकोले उनीहरू परको मानविकी भवन देखाउँथे ।

एकदिन विशेष काम परेर, रसायन प्रयोगशालामा सरको उपस्थिति भएन । हामीलाई विज्ञानले अति जिज्ञासु बनाएको थियो । के, किन, कसरी आदिको घनिष्टतामा विज्ञान बाँच्छ, त्यो हामीलाई थाहा थियो । खाली पिरियड, सर नहुनु भएकोले, मलाई एउटा जिज्ञासाको उत्तर खोज्न मन लाग्यो । मैले सोधे “ए हिमाल ! तलाईं आँशुको रङ कस्तो हुन्छ थाहा छ ?” “कहिले रुनु परेको भए पो थाहा हुन्छ, तँ पो भावुक कवि तलाईं नै थाहा होला । ” उसले जवाफ फर्कायो । “पानीको कुनै रङ हुँदैन, आँशु पनि आँखाको पानी हो, तसर्थ यसको कुनै रङ हुँदैन ” पारूले तर्क पेश गरी ।” तिमी गुरूआमाले भनेको ठीक कि बेठीक, एक्स्पेरिमेन्ट गरुँला नि ! ” भनेर मैले टेष्ट ट्युब र लिटमस पेपर भेला पारेँ । आँशुको रङ त हेर्ने तर आँशु कसरी झार्ने भन्ने जटिल समस्या बन्यो । तर हिमालले बोटनीमा प्याजको सेल तयार पार्दा राखेको प्याज बोकेको रहेछ । मैले त्यही प्याज खेलाउँदा-खेलाउँदै बर्रबर्र आँशुहरू झरे, जसले रातो लिटमस पेपर नै नीलो बनाइदियो । त्यो दिनदेखि आँशुको रङलाई हामी फुच्चे वैज्ञानिकले नीलो भन्न थाल्यौं ।

मान्छेहरू आँशु नझार्न परे हुन्थ्यो भन्छन्, हामीलाई कुन लहडले त्यस्तो गरायो । अलिकति जिज्ञासा र अलिकति लहडले गरेको त्यो फुच्चे एक्सपेरिमेन्टको उपयोग मानव जगतकालागि काम लाग्ने कुरै भएन । यद्यपि, हाम्रा कलेजका दिनहरूलाई अविष्मरणीय बनाउन भने उपयोगी नै भयो जुन आजसम्म ताजै छ ।

म कीर्तिपुरबाट एयरपोर्ट जान भनेर चाँडै बाटो लागेको थिएँ । कारण फेरि काठमाडौमा कतिबेला नारा जुलुस, चक्काजाम हुन्छ थाहा नहुने हुँदा केही समय चाँडै आइपुगेको थिएँ । मेरो ब्यागमा केही पुस्तकहरू थिए । किन-किन मलाई पुस्तक पल्टाउन मन लागेन । मलाई मान्छेकै अनुहार र हाउभाउ अध्ययन गर्न रमाइलो लाग्यो । एयरपोर्टभित्र कुर्सीमा बसेर चारैतिर फैलिएका आँखा, कसो-कसो सेक्युरिटी चेक सकेरभित्र पस्दै गरेकी नारी आकृतिमा अडियो । हातमा ६-७ वर्षकी बच्ची समाएकी उनी मान्छेहरूको भीडमा थिईन् । भीड जति भए पनि आत्मीय अनुहार चिनिँदो रहेछ । वर्षौँ भेट नभए पनि परिचित आँखा सँधै भेटिरहेझैं लाग्दोरहेछ । “अहो ! पारू तिमी ! आज कैयन वर्षपछि भेट भयो हगि हाम्रो ! मलाई चिन्न त चिन्यौ नि -” म त्यसरी नै बोलेँ, जसरी हामी कलेजमा बोल्थ्यौं । “चिनेँ ।” छोटो जवाफ थियो पारूको । गम्भीर भाव झल्कने उनको मुहारमा ती कलेज लाइफका कुनै अवशेष बाँकी थिएनन् । आज पारूले थोरै बोलेर पनि मलाई धेरै कुरा बताउन सफल भई । वर्षौंपछि पारूलाई भेट्दा मतिर सम्झनाको तातो हावा बग्न थाल्यो । मसँग पारू, हिमाल र कलेजमा बिताएका एक-एक पलहरू, गह्रुँङ्गो ढुङ्गासरि थिच्न आइपुगे । म पुरानो गोरेटोतिर फेरि फर्कें ।

म लाहुरे परिवारबाट आए पनि सैनिक सेवाप्रति कहिल्यै आकषिर्त भइनँ । पारिवारिक विस्थापन, रातदिनको खटाइ अनि बौद्घकि अभ्यासका कमीले मलाई सैनिक सेवाले छुन सकेन । सबैभन्दा ठूलो कुरा त आफ्नै बाबा, बाजेले गर्नुभएको पेशाप्रति मेरो मोहभङ्ग भइसकेको थियो । बन्दुक बोक्नेका छोरा-नाती म, कलमको आफ्नै संसार कोर्न चाहन्थेँ । विदेशमा गुमनाम भएको आफ्नो पहिचानलाई स्वदेशमै केही गरेर स्थापित गर्नुपर्छ भन्ने मान्यता हाम्रो परिवारको थियो । तर जसको जे हुँदैन त्यही हुन मनपर्छ भनेजस्तै हिमाल कोइराला विराटनगरको मध्यम वर्गीय ब्राम्हण परिवारको थियो । सरकारी क्षेत्रमा उसका बुवा, काका, ठूलाबा काम गर्थे । ऊ भने जहिले सैनिक सेवाबाट देशको सेवा गर्ने कुरा गर्थ्यो । हाम्रो घरमा रहेको बाबाको कम्ब्याट ड्रेसमा रहेको ठूलो फोटोमुनि रहेको बाबाको आर्मी नम्बर-२११५२५८६ देखेर फुरुङ्ग बन्थ्यो । “हेर ! एकदिन तेरो साथीको छातीमा पनि यस्तो ड्रेस र नम्बर झुन्डिनेछ । अनि तैँले मलाई हिमाल होइन, क्याप्टेन हिमाल भन्नुपर्नेछ “। “क्याप्टेन किन ? सी इन सी (कमान्डर इन चिफ) नै भनुँला नि पहिले बनेर त हेर । बरु नम्बर भने २११५२४२० जस्तो नलिनू नि । फेरी सबैले क्याप्टेन ४२० भन्छन् ।” “क्यापटेन नै काफी छ । सी इन सी त बूढो मान्छे हुन्छ । मलाई बूढो भइन्जेल रहनु छैन ।” मैले जिस्क्याउँदा हिमालको प्रतिउत्तर यस्तो हुन्थ्यो ।

यसरी कलेजका रमाइला दिनहरू अनि पढाइसँगै, हाम्रो मित्रता प्रगाढ बन्दै गयो । यही बीचमा पारू र हिमाल एक अर्कामा नजिक-नजिक बन्दै गए । मलाइ पनि अति खुशी लाग्यो । पारू र हिमाल दुवैको आत्मीय साथी भएकोले उनीहरूलाई नजिक पार्न मेरो पनि भूमिका थियो । कलेज वरपर रहेका धुपी, अशोक र मसलाका बोटहरूमा परेका घामछाँया जस्तै चाँडै सकिए ती कलेजका दिनहरू ।

हाम्रो आई.एस्सी.को पढाइ सकिएपछि हिमाल र पारू काठमाडौतिर लागे । म मेडिसिनको प्रवेश परीक्षा तयारी गर्न पटनातिर लागेँ । पटना र काठमाडौ टाढा -टाढा भए पनि हामी फोन सम्पर्कमा रहन्थ्यौँ । धरान बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बी.बी.एस.को प्रवेश परीक्षाको बेला हामी फेरि सबै एकै ठाउँमा भेला भयौँ । “बी.पी.कोइराला मेडिसिन कलेजमा हिमाल कोइराला नाति परेछ भनेर निस्कन्छ होला तिम्रो नाम ।” म ठट्टा गर्थेँ । दुर्भाग्य हामी कसैको नाम मेडिसिनमा निस्केन । कलेजका केही साथीहरू आफ्नै खर्चमा एम.बी.बी.एस. पढ्न थाले । कोही चीनतिर मेडिसिन पढ्न लागे । मैले विराटनगरमै बी.एस्सी. पढ्न शुरु गरें । हिमाल र पारू काठमाडौमै बी.एस्सी. पढ्न थाले । आफूले पढ्न चाहेको विषय पढ्न नसक्नु, मन मिल्ने साथीहरू टाढा-टाढा पुग्नुको कारण, आई.एस्सी. पढेजस्तो बी.एस्सी. पढ्न उत्साह पनि लागेन । अर्को कारण म बिस्तारै देशभरि शुरु भएको क्रान्तिको नैतिक समर्थन गर्न थालेको थिएँ । देशको पश्चिमी क्षेत्रबाट शुरु भएको क्रान्तिको झण्डा पूर्व क्षेत्रमा आइपुगेको थियो । शिक्षा क्षेत्रमा भएको धनी गरीव बीचको खाडल, औषधि नपाएर मर्ने गरीबहरूको स्थिति, दलित र किसानलाई गरिने हेलोहोँचो । यसर्थ मैले भोगेको समाजलाई बदल्न आवश्यक ठानेको थिएँ ।

त्यही बीचमा एकदिन हिमालले फोन गर्‍यो -“मेरो नाम सेकेण्ड लेफ्टिनेन्टमा निस्क्यो, ट्रेनिङको लागि भोलि नै खरिपाटी जाँदैछु ।” एउटै आकाश ओढे पनि, एउटै धर्ती टेके पनि यसरी हिमाल-पारूको संसार र मैले बाँचेको संसार फरक हुँदै गयो । एकदिन विद्यार्थी संगठनको सिलसिलामा बैठक भइरहेको ठाउँबाट मलगायत केही साथीहरूलाई प्रहरीले पक्राउ गर्‍यो । साहित्यिक संस्था अनि पत्रकार मित्रहरूको सकृयताले कबुलियतनामा गराई प्रहरीले मलाई छाडिदियो ।

डाक्टर बन्ला, डाक्टर नबने पनि स्वदेशमै नाम कमाउला भनेको छोरा राजनीतिमा, त्यो पनि सशस्त्र भूमिगत दलको । यो थाहा पाएर बाबा गम्भीर हुनुभएछ । मलाई यथासक्य चाँडो बाबाले हङकङ बोलाउनु भयो । हिमाल र पारूको सम्पर्कबाट टुटेको चङ्गाजस्तो जीवन लिएर म विदेशको हावापानीमा रुझ्दै भिज्दै गएँ । विदेश भनेको हामीले सुनेजस्तो सरल नहुने रहेछ । परिश्रम नगरे खान नपाइने, परिश्रम गर्दा साथीभाइ बिर्सनु पर्ने । डार्विनको ‘बाँच्नका लागि संघर्ष’को कथा जस्तो । त्यो समय इमेल, इन्टरनेटको प्रचलन पनि आजजस्तो थिएन । फेरि हिमाल पनि आर्मी अपरेसनमा कहाँ कहाँ पुगिरहने ! हिमाल र पारूको विवाहसम्म भएको कुरा मलाई थाहा थियो ।

आजभन्दा दुई वर्षपहिले आमा बित्नुहुँदा नेपाल आएको बेला डा.अमितलाई भेटेको थिएँ । संयोगवश आमाको उपचार गर्ने डाक्टरमा ऊ पनि एक थियो । अमित हामीसँगै आई.एस्सी.पढेको सहपाठी हो । अमितकै मुखबाट हिमाल यो संसारमा नरहेको कुरा सुन्दा मैले पत्याउनै सकिनँ । हिमालको मृत्यु, गस्तीको क्रममा एम्बुस विस्फोट हुँदा भएको रहेछ । एकातिर आफ्नी देवताजस्ती आमाको देहवसान, अर्कोतिर प्रिय साथीको मृत्युको खबर, मलाई नियतिले कुट्नु कुटेझैं लाग्यो । म मानसिक रुपमै थला परेँ । पारू काठमाडौंमा रहेको कुरा पनि अमितले सुनाएको थियो । पारूलाई भेट्ने चाहना उनको फोन नम्बर नहुँदा अधुरै रहेको थियो ।

आज यसरी अचानक पारूलाई भेट्दा म अल्लमल्ल परेको छु । हिमाललाई सधैं भन्थेँ, यदि मैले कथा लेखेँ भने पारू र तेरो प्रणयलाई पहिलो कथा बनाउनेछु । जिन्दिगीको बाटो यति अप्ठेरो भयो कि मैले कहिल्यै कथा लेख्न सकिनँ । जब लेख्न खोजेँ, हिमाल यो संसारबाट टाढा भइसकेको छ ।

आजकल म स्वदेशमै छु । राजनीतिक परिवर्तन पछिको जनजीवनलाई निँयाल्दैछु । युद्ध समाप्त भए पनि युद्घले छोडेका पीडाहरू यथावत छन् । फरक यति छ, कोही रातो झण्डामाथि आफन्तको सम्झना बुनिरहेछन्, कोही प्रहरी र सेनाको ड्रेसमा आफन्तको छाँया देखिरहेछन् । आँखा फरक भए पनि झर्ने आँशु सबैको एउटै हो । मुटु बेग्लै भए पनि दुखेको घाउ सबैको उही हो । युद्ध कति भयानक हुँदोरहेछ, म पारूको सपना सुकेको आँखालाई सम्झिरहेछु । युद्घको रङ कति गाढा हुँदोरहेछ, म उनको सिउँदोलाई सोधिरहेछु । आँशुको रङ कति नीलो हुँदोरहेछ म आफ्नै कथाका हरफहरू पढिरहेछु ।

:-विराटनगर-१६, हालः कीर्तिपुर