किर्गिज्स्तानमा साम्प्रदायिक दंगा

किर्गिज्स्तानमा साम्प्रदायिक दंगा


लण्डन । सन् नब्बेको दशकमा सोभियत युनियनबाट अलग्गिएका १५वटा राज्यमध्ये मध्य एसियामा पर्ने किर्गिज्स्तान् राज्यमा विगत अप्रिल २०१० देखि जनविद्रोहको कारण हिंसा, हत्या, लुटपाट जस्ता अराजतकता फैलिँदै देशमा अशान्ति छाएको छ । जनविद्रोह र अशान्तिको कारण देशमा व्यापक रुपमा फैलिएको भ्रष्टाचार, आर्थिक संकट, बेरोजगारी, प्रशासनबाट कतिपय संचार माध्यमलाई रोक र प्रशासनको कमजोरीपनले देशमा आकाश छुने गरी बढेको ऊर्जाको महंगाई थियो । विद्रोह भड्किएको लगत्तै अप्रिल ६ र ७ को दिन प्रहरीहरु र अन्दोलन्कारीहरुबीच भएको भीडन्तमा ८८ जना मारिनुका साथै १००० भन्दा बढी घाइते भएका थिए । जनविद्रोहको कारण देशमा फैलिएको भ्रष्टाचार र नेतृत्ववर्गको कमी कमजोरी मात्र नभई विदेशी शक्तिहरुको चलखेलले गर्दा जन विद्रोहको घट्ना घटेको हो भनी देशबाट भागेर गएका पूर्व राष्ट्रपति कुरमान वेक बाकियेभले भनेका छन् । आन्दोलन चुलिएको बेला सरकारले नियन्त्रन गर्न नसकेपछि राष्ट्रपति कुरमान वेक बाकियेभ स्वयम् आफ्नो सपरिवारसहित निजी जहाजमा चढेर कजाकस्तान हुँदै बेलारुसमा भागेका थिए । त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसैबेला दक्षिण किर्गिज्स्तानमा उनका समर्थकहरुबाट जुलुस निकालेर उनलाई फेरि सरकारमा ल्याउने कोशिस गरेका थिए, तर, ती प्रयासहरुलाई अन्तरिम सरकारले विफल पारेका थियो । राष्ट्रपति बाकियेभको पलायनपछि अन्तिरीम सरकारको नेतृत्व पूर्व विदेशमन्त्री रोजा ओतुनबायेभाले गरेकी छिन् । किर्गिज्स्तानको दक्षिण भागमा पूर्व राष्ट्रपति कुरमानका किर्गिज समर्थकहरुको बाहुल्यता छन्, तर, त्यस क्षेत्रका अल्पसंख्यक उज्बेकहरुले वर्तमान् अन्तरिम सरकारलाई समर्थन गरेको कुरा प्रकाशमा आएको छ । ती उज्बेक समुदायका व्यक्तिहरु किर्गिजहरुभन्दा केही आर्थिक रुपमा सम्पन्न पनि छन् ।
गत हप्तादेखि कि्गिज्स्तानको दोश्रो ठूलो शहर ओसमा उज्बेक मुलका व्यक्तिहरुलाई लक्ष्य गरेर किर्गिज युवाहरुले व्यापक समूहगत रुपमा आक्रमण गर्दै उनका घरहरु जलाइदिने, लुटपाट, हिंसा, हत्या र उज्बेक महिलाहरुलाई खोजी-खोजी बलात्कार गर्ने जस्ता घट्नाले भयभित भएर उज्बेक महिलाहरु, बच्चाहरु र वृद्ध वृद्धाहरु शरणार्थी बनेर छिमेकी मुलुकमा लगातार भागेर जा“दै छन् । यसरी अप्रत्यशित आक्रमण गरेकाले उज्बेक युवाहरु पनि प्रतिकारमा उत्रेर भीडन्त हुँदा अहिलेसम्म २०० भन्दा बढी हत्या भएको र हजारौं हजार घाइते भएको समाचार प्राप्त भएको छ । त्यसमा बढी संख्यामा उज्बेकहरु मारिएका छन् । अन्तरिम सरकारको राष्ट्रपति रोजा ओतुनबायेभका अनुसार हत्या हुनेहरुको संख्या समाचारमा जनाएको भन्दा दशगुणा बढी हुन सक्छ भनेर लख काटेकी छिन् । छिमेकी राष्ट्र उज्बेकिस्तानमा अहिलेसम्म चारलाखभन्दा बढी किर्गिज्स्तानका उज्बेक शरणार्थीहरुले शिविरहरुमा शरण लिएर बसेका छन् । यो साम्प्रदायिक दंगामा पूर्व भगौडा राष्ट्रपतिको हात रहेको छ भनी वर्तमान सरकारले भनेको छ, तर, पूर्व राष्ट्रपति कुरमान्ले आफ्नो संलग्नता रहेको कुरालाई स्वीकार गरेक छैनन् ।
श्रोत – नेट, सुमल, मेस