माओवादी पार्टीमा प्रचण्डको विकल्प तत्काल प्रकट भएको नदेखिए पनि एमालेमा प्रधानमन्त्री तथा पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका र गर्न योग्य कैयन नेता देखिएका छन् । माओवादीमा नारायणकाजी श्रेष्ठलाई मात्र सम्मानजनक व्यवस्थापन गरियो भने उक्त दलमा प्रचण्डलाई टक्कर दिने हैसियत कसैले पनि बनाएका छैनन् ।
तर, एमालेमा माधवकुमार नेपाल, झलनाथ खनाल, विद्या भण्डारी र वामदेव गौतमलाई उचित व्यवस्थापन नगरिएमा केपी ओलीका निम्ति सहज हुने विश्वास गर्न सकिँदैन । प्रचण्डलाई पार्टी अध्यक्ष पद सुम्पिएर आफू प्रधानमन्त्री बन्ने मानसिकतामा केपी ओली रहनुभएको भए पनि माधव नेपाल, वामदेव गौतम, विद्या भण्डारी र झलनाथ खनाललाई समेत उचित जिम्मेवारी दिनुपर्ने अवस्था छ ।
प्राप्त जानकारीअनुसार माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति पदका आकाङ्क्षी छन् । तर, केपी ओली विद्या भण्डारीलाई नै एक पूर्ण कार्यकालका निम्ति राष्ट्रपतिमा दोहो¥याउने पक्षमा रहेको बताइन्छ । ओली अहिलेसम्म नेपाल र खनाललाई राष्ट्रपति बनाउने पक्षमा रहेका छैनन् । केपी प्रधानमन्त्री, विद्या भण्डारी राष्ट्रपति र प्रचण्डले पार्टी अध्यक्ष या सहअध्यक्षको जिम्मेवारी लिएको अवस्थामा नेपाल, खनाल र गौतमका निम्ति अर्को कुनै उच्च पद उपयुक्त मानिने स्थिति छैन ।
सभामुख, उपसभामुख र उपराष्ट्रपतिजस्ता पदहरूमा दोस्रो, तेस्रो पुस्ताका नेताहरूको दाबी रहन थालिसकेको छ । कृष्णबहादुर महरा, सुवास नेम्वाङ र वर्षमान पुनको नाम सम्भावित सभामुखको रूपमा लिन थालिएको छ । यस्तो अवस्थामा नेपाल, खनाल र गौतमको व्यवस्थापन कसरी हुने हो चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया