वाम गठबन्धनका दुई घटक नेकपा एमाले र माओवादीभित्र एकताको विषयलाई लिएर तनाव उत्पन्न भइरहेका बेला उपेन्द्र यादव नेतृत्वको सङ्घीय फोरमलाई वाम गठबन्धनमा सामेल गराउने प्रयास भएको छ । मधेसकेन्द्रित दुई समूह फोरम र राजपामध्ये फोरमको नेतृत्व वामपृष्ठभूमिका व्यक्तिहरूको हातमा रहेको छ भने राजपामा प्रजातान्त्रिक पृष्ठभूमिका नेताहरू रहेका छन् । फोरमका मुख्य नेताहरू उपेन्द्र यादव र अशोक राई दुवैको पृष्ठभूमि वामपन्थी भएकोले उनीहरूको ‘वेभलेन्थ’ वाम गठबन्धनसँग मिल्ने विश्वास गरिएको हो । सङ्घीय फोरमलाई आफूतिर तान्न एमाले नेतृत्वले विशेष प्रयास गरिरहेको र यस क्रममा सकारात्मक प्रगति भएको बताइएको छ । फोरमको सहकार्य एमालेसँग भएमा वाम गठबन्धनलाई दुईतिहाइ बहुमत पुग्ने निश्चित छ । कुनै विशेष कारणवश एमाले र माओवादीबीच पार्टी एकता हुन सकेन भने त्यस्तो अवस्थामा सङ्घीय फोरमको साथले एमालेलाई बहुमत पुग्ने निश्चित छ । फोरम एमालेसँग सहकार्य गर्न तयार भएको अवस्थामा प्रचण्डको ‘बार्गेनिङ’ अर्थहीन हुने विश्वास पनि गरिएको छ ।
प्रतिक्रिया