विदेश सचिवको अफगनिस्तान प्रतिको वक्तव्य

विदेश सचिवको अफगनिस्तान प्रतिको वक्तव्य


लण्डन । विदेश सचिव विलियम ह्यागले अफगनिस्तानमा सेनाको बारेमा हालै आफ्नो वक्तव्यमा -यदि अफगानी सेनाले आफ्नै देशको सुरक्षाको बोध गर्दैनन् र सन् २०१४ सालसम्म आफ्नो देशको सुरक्षा गर्न सकिँदैन भने अत्यन्तै ताज्जुब मान्ने विषय हुन सक्छ, भनेर उद्धृत गरेका छन् । नेटोका मित्रराष्ट्रहरुले आतंकवादलाई परास्त गर्न र अफगनिस्तानमा शान्ति कायम गर्नलाई सन् २००१ सालदेखि तालेबानसँग एउटा अप्ठ्यारो लडाइ लडिरहेका छन् । लडाइ शुरु भएलगत्तै तालेबानहरुलाई लगभग निष्कृय पारिसकेको नेटोको शक्तिशाली फौजलाई अहिले तालेबानलाई पूर्णरुपमा परास्त गर्न फलमको च्यूरा चबाउनु जतिकै साबित भइरहेको छ । हुन त नेटोको सहायताबाट नै लोकतन्त्र स्थापित गर्ने प्रयासमा चुनाव पनि गरियो, तर, त्यहाँ पूर्ण शान्ति ल्याउन सकेको छैन । पछिल्लो केही सप्ताह यतादेखि नेटोलाई निकै क्षति पुर्‍याउँदै तालेबानले लडेर उनीहरुलाई जित्न सक्दैनन् र अफगनिस्तानमा शान्ति ल्याउन नसक्ने संकेत दिएको छ । यसैबेला नेटोका कमाण्डर स्टान्ली म्याकक्रिस्टललाई अमेरिकी राष्ट्रपतिले पद्बाट बर्खास्त गरेपछि अब तालेबानसँग वार्ता गरेर शान्ति ल्याउनुपर्छ भन्ने कुरामा मित्रराष्ट्रहरुले राय थियो । तालेबान कमाण्डरसँग सो विषयको लागि शूत्रहरुबाट सन्देश पठाउँदा तिनीहरुले नेटोको प्रस्तावलाई पूर्णरुपले इन्कार गरिदिएको छ । तालेबानका अनुसार -अब हामीले युद्धमा विजय हासिल गरिरहेको बेला हामी वार्तामा जाँदैनौं, भनेर अडान लिएका छन् ।
नेटोका २००० जना जति सेना यो युद्धमा मारिएका छन् । बेलायती सेनाको मात्र युद्ध भएदेखि अहिलेसम्म ३०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । इतिहासले आदिकालदेखि नै अफगनिस्तान युद्धभूमि रहेको र यहाँ शान्ति नभएको यथार्थ बोकेको छ । यो भूपरिवेष्ट राज्यमा अमन चयन कहिल्यै भएन । यसै राज्यबाट भारतलाई शासन गर्ने मुगलहरु जन्मे, १८औं शताब्दिताका कैयौं पटक लुटमार गर्दै कोहिनूर हिराजस्ता अनमोल हिरा लुट्ने अफगनका नादिर शाहले तीन दिनसम्म दिल्लीमा कत्लेआम गरेर दिल्लीबासीलाई आतंकित तुल्याएको थियो । त्यसपछि १९औं शताब्दीमा जब बेलायतले आफ्नो उपनिवेश विस्तारको क्रममा सम्पूर्ण भारतमाथि कब्जा जमाइसकेको थियो, त्यतिबेला अफगनिस्तानको उत्तरपटि्ट रुसले साम्राज्य विस्तार गर्दै अफगनिस्तानको सीमासम्म आइपुगेको थियो । ब्रिटिश इण्डियाले अफगनिस्तानमा आफ्नो कूटिल नीति बढाउँदै लैजाँदा तीन पटकसम्म ठूला युद्धहरु लड्नु परेको थियो, जसमा ब्रिटिश सेनाको इतिहासमा नै धेरै मानिस एकै ठाउँमा हाताहात भएको रेकर्ड रहेको छ । ब्रिटिश सेनाको ४४ रेजिमेण्टको ४५०० जना सेना काबुलबाट र्फकंदै गरेको बेलामा काबुल नदीको छेउमा काबुल र गन्डामाकको बीचमा अफगानी घिल्जाई योद्धाहरुले आक्रमण गरेर सबैलाई मारेका थिए । त्यसमा केवल एकजना क्याप्टेन, एकजना सार्जन र सातजना सिपाहीहरुलाई बन्दी बनाईको थियो तर ती सबैलाई पनि पछि मारेका थिए । ४५०० जना मध्ये एकजनामात्र बचेर आएका भाग्यमानी थिए डाक्टर विलियाम ब्राइडन जो जलालाबादसम्म बचेर पुग्न सफल भएका थिए । अप्ठ्यारो भूभाग र तालेबानहरुको गुरिल्ला तथा आत्मघाती लडाइलाई सजिलै जित्न गाह्रो भइरहेको छ यतिबेला । तर, विदेश सचिवको भनाइअनुसार ब्रिटिश सेना छिटो नै फर्किने छैन र अफगनिस्तानबाट आउनु परे सबैभन्दा अन्तिममा नै फौजलाई निकालिने छ भनेर वक्तव्यमा उल्लेख गरिएको छ ।
श्रोत – नेट, सुमल, मेस