ईतर घोषणाको पक्षबाट

ईतर घोषणाको पक्षबाट


-प्रदीप कन्दङ्वा (लिम्वू),
मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ, किनकि यस घडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होइन । बरु यस अर्थमा हुन सक्छ कि यस घडि म केही लेखिरहेको छु । जीवन भ्रमहरुको एक पुलिन्दा हो भन्ने मेरो जिरिह छ । असन्तोष यसको संघटक तत्व हो । दुःखको कारण पनि यही हो । जीवनका यावत गतिविधिहरुको कारण पनि यही हो । जीवनको गति प्रदायक तत्व पनि यही हो ।

अप्राप्य वस्तुको खोजीमा मान्छे भौतारिन्छ, प्राप्त भएपछि सन्तुष्ट हुने भ्रम पाल्छ । यो क्रम मरणोपरान्त चलिरहन्छ । जीवन यस मानेमा भ्रमहरुको पर्याय हो भन्ने मेरो आशय हो । यो मेरो मात्रै एक्लो विचार नहुन सक्दछ । कारण जीवन साँच्चैमा एक भ्रम त हो । भ्रमको खेती गरेर मान्छे बाँचेको हुन्छ । मान्छे भ्रमित भएन भने उसको जीवनको अन्त्य त्यहीँनिर हुन्छ जहाँ ऊ भ्रम मुक्त हुन्छ । जस्तो यो एकलास र निर्जन ठाउँमा एक्लै बसेर चुरोटको धूँवामा रुमलिँदै म केही लेखिरहेको छु । मलाई लागिरहेको छ कि मैले यहाँ केही मुक्तिको सास फेर्न सकेँ । एकलास र निर्जन ठाउँमा एक्लै बसेर मुक्तिको सास फेर्न सकिन्छ । यो कुरामा कति पाठकहरु सहमत हुन सक्लान्, त्यो पाठकको स्वविवेक भयो । तर त्यो मेरो मृत्यु त भएन । मेरो हरेक विचार, मेरो लेखकीय दृष्टिकोण, मेरो बैयक्तिक बिश्लेषण सर्वथा स्वीकार्य कदाचित हुन सक्दैन । न अरु कसैको हुन सक्छ । विचारलाई निरपेक्ष सत्यको कसिमा कसरी घोट्न सकिन्छ ? योचाँहि निरपेक्ष सत्यको अनुभूत लेखकको मृत्यु हुनुअगावै पनि गरिएको हुनुपर्दछ । पाठकको स्वविवेकलाई सँकेत गर्न लेखकको मृत्यु भएको किन मानौं हामी । लेखकीय अधिनायकको अन्त्य भएको मान्नु र त्यसैलाई उसको मृत्यु मान्नुमा केही भिन्नता अवश्य हुनुपर्दछ । एउटा अधिनायकवादी लेखकको अन्त्यले पाठकीय सत्ताको एकाएक उद्घघाटन गरिदिएको छ । सत्तामा बसेपछि के थाहा, पाठक आफैँ पनि कताकति अधिनायक बनेको हुँदो हो तर सँसारबाटै अधिनायकहरुको सफाया भइरहेकोले त्यो संम्भावना हाललाई नरहेकै जस्तो लाग्दछ । लेखकले जे लेख्छ त्योभन्दा अर्को सत्य छैन भन्ने मान्यताको बिपरीत पाठकले पाठको अर्थ जे बुझ्छ, त्यो नै सत्य हो भन्ने मान्यता स्थापित भएको छ । यो वैचारिकतामा विशेष लागू हुँदो हो भन्ने मेरो अनुमान छ । भाषाको अर्थ विचलनले पनि यो कुरासँग सरोकार राख्छ । भाषाले दिने अर्थ सदैव एकार्थी हुँदैन, अनेकार्थी हुन्छ भनिएको छ । ईन्द्रविलास अधिकारिले एउटा उदाहरण पेश गरेका छन् …त्यहाँ सर्प छ.. । सर्प छ भनिसकेपछि सामान्यतया मान्छेहरु डराउँछन्, भाग्छन्, त्यसलाई मार्न तम्सिन्छन् तर कतिपय ठाउँ र अवस्थामा सर्पलाई पुज्ने पनि गरिन्छ । अतः सर्प हुनुको अनेक अर्थ लाग्न सक्छ । त्यसो त आजकल बाहुनलाई बाहुन भन्दा उनीहरु झर्किन्छन्, पहिला गर्व गर्थे । लिम्वूलाई लिम्वू भन्दा पहिला लिम्वूहरु हीनताबोध गर्थे, आजकल गर्व गर्छन् । भाषाले दिने अर्थ यस प्रकार बिचलित हुने रहेछ ।

लेखकको मृत्युको अवधारणा आउनुभन्दा अगावै पाठक प्रतिक्रिया सिद्धान्तको बारेमा प्रशस्तै चर्चा र बहस भइसकेको पाइन्छ । १९७७ मा रोलाँ बार्थले चलिसकेको सैद्धान्तिक प्लेटफर्ममा टेकेर एउटा अग्रगामी घोषणा गरे, त्यो थियो लेखकको मृत्युको घोषणा । यो अग्रगमनकारी घोषणाले नै वास्तवमा पाठक प्रतिक्रिया सिद्धान्तलाई स्थापित गर्ने काम गरेको छ । सँगसँगै आमरुपमा एउटा भ्रम पनि सिर्जेको हुनुपर्दछ । पाठक प्रतिक्रिया सिद्धान्तमा पाठ र पाठकको योगफल बराबर अर्थ भनिएको छ । त्यस्तै पाठले सदैव दुईखाले अर्थको प्रस्ताव गर्दछ पनि भनिएको छ । पाठ कि त निश्चतार्थक हुन्छ कि त अनिश्चतार्थक हुन्छ । जब पाठ निश्चतार्थक रुपमा अघि सर्दछ तब पाठकीय सत्ता डगमगाउँछ, त्यो बेला सोच्नुपर्ने हुन्छ, लेखकको मृत्यु कसरी ? जस्तै लेखकको मृत्यु भएको छैन, पाठकको स्वविवेक हावी भएको छ पनि त भन्न सकिन्छ । जस्तै कवि बाल आवाराको उर्दिलाई नमान्दै पाठकको मृत्यु भएको छैन, नयाँ पाठकको जन्म भएको छ पनि त भन्न सकिन्छ, । जस्तै कवि हाङयुग अज्ञातको घोषणालाई अवज्ञा गर्दै नयाँ लेखकको जन्म भएको छैन, लेखकको विनिर्माण भएको छ पनि त भन्न सकिन्छ । यो दुनियाँ विचारहरुको महाजँगल हो, सत्यको स्थाइ रुप त्यतै कतै हराएको हुन्छ, बिलाएको हुन्छ ।

त्यसो त फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणा गरिदिए, अब यसलाई हामी सत्य मानौं भने नित्से आफैले भने …..सत्य कतै छैन केबल ब्याख्या मात्र छ । नित्सेले यस्तो घोषणा किन गरे, यसमा केबल दुई कारण हुन सक्दछ, मेरो अनुमान । नित्से कि त अति इश्वरवादी हुनुपर्दछ जसको घोर अकर्मण्यता देखेर झोँकमा उनले यो घोषणा गरे कि त नित्से अति अनीश्वरवादी हुनुपर्दछ जसको खिलाफमा उनले यो घोषणा गरे । जुन घोषणाको जति चर्चा गरौँ उति कम लागिरहन्छ । त्यस्तै फ्रान्सिस फुकुयामाले ईतिहासको अन्त्यको घोषणा गरे त्यो एउटा विश्व राजनितिको निश्चित घटनाक्रमलाई लक्षित गरेर गरिएको घोषणा थियो । त्यो एउटा राजनितिक घटनाक्रमको अन्त्य थियो । त्यो एउटा ईतिहासको अन्त्य थियो तर सम्पूर्ण त थिएन । उपरोक्त शीर्षक सहितको ब्याख्यामा तर्कको अधिक गुन्जायसको आभाष हुन्छ तर केही ग्यापहरु छन् जहाँ टेकेर विपक्षमा दुई चार कुरा गर्न सकिन्छ । डा. गोविन्दराज भट्टराईले कवि बाल आवाराको कविता कृतिको शीर्षकमा केन्द्रित रहेर आफ्नो समालोचकीय दृष्टिकोण राखेका छन् । हुन पनि शीर्षककै त्यस्तो छ ….पाठकको मृत्युमा… । कविता या साहित्यप्रति आजको मान्छे जसरी वितृषित भएका छन्, आवाराले उसैगरी आफ्नो आक्रोश पोखेका छन्, कृतिको नामको रूपमा । भट्टराईले आवाराको यो उर्दिलाई घुमाउरो पाराले अस्वीकार गरेका छन् । आवाराले युद्ध हत्या र आतङ्कबाट मर्नेहरुलाई पाठक मानेर आफ्नो कृतिको यो नाम जुराएका होलान्, यो म मान्न सक्दिनँ तर भट्टराईले त्यतैबाट कृतिको नामको पुष्टि गर्न खोजेका छन् भन्दा पनि आवारालाई सान्त्वना दिएका छन् ।

समाजका पारम्परित मूल्य र मान्यताहरु समयक्रममा फेरबदल भइरहन्छन् । आजभोलि यसको तीब्रता झेलीनसक्नु भएको छ । उहिले त्यस्तो हुँदैनथ्योहोला, अनुमान लगाउन सकिन्छ । विज्ञान र प्रविधिको तीव्र विकासले यसमा प्रमुख भूमिका निभाएको छ । जस्तै उत्तरआधुनिक जीवनको विकास पनि पश्चिममा भएको औधोगिक क्रान्तिपश्चात् नै जमेको यथार्थ हामीसामु छिपेको छैन । नेपालमा यसको चर्चा हुन थालेको धेरै भएको छैन । उता दार्जेलिङमा ईन्द्र बहादुर राईले यो कुरा उहिले नै थाहा पाए तर उनले यसलाई उत्तरआधुनिकता नभनिकन लीला भनिदिए । पछि यो कुरा गोबिन्दराज भट्टराईहरुले थाहा पाएर ईन्द्र बहादुर राईलाई कबुल गराई छाडे । यद्यपि, यस मानेमा ईन्द्र बहादुर राईको चेतना स्तरको उचाइको मूल्याङ्न गर्न सकिन्छ । आज लीलालेखन उत्तरआधुनिकताको महाजँगलमा लुप्तप्राय भइसकेको छ । लीला ईतिहास भइसकेको छ । कुनै कुरा ईतिहास हुनुलाई नौलो अवश्य मानिँदैन तर लीलाको माम्लामा यो अलिक फरक रह्यो ।

समाजका स्थापित मूल्य र मान्यताहरु उल्टिने क्रममा लेखकप्रतिको आदिम धारणामा पनि परिवर्तन हुनुलाई मात्रै नौलो र उदेकलाग्दो किन मान्ने ? लेखकलाई पहिला जे सोचिन्थ्यो, लेखक त्यो होइन रहेछ यधद्यपि लेखक त लेखक नै रहन्छ । यदाकदा यस्तो लाग्छ कि रोलाँ बार्थको लेखकप्रतिको परिवर्तित अवधारणाले होइन, लेखकको मृत्युको घोषणाले मात्र चर्चा पाएको हो । आजभोलि लेखकको मृत्यु भइसक्यो भन्दै लेखकहरु जताततै कुर्लिँदै हिँडेकाछन् । लेखकको मृत्युको चर्चा नगरी आफ्नो विद्धता अपुरो भएको जस्तो आभाष लेखकवृत्तमा पाइँदो छ । कतिलाई यसको सँकेतको सुँईको समेत नभएको जस्तो बुझिन्छ । यो एक प्रकारको बुख्याँचा [Coseccrow] जस्तो प्रतीत भएको छ ।

अब यता हङकङबाट दुईवटा घोषणाहरु भएकाछन् । हङकङको साहित्यक ईतिहासमा यी दुई घोषणा कुनै दिन सुनौलो अक्षरले लेखिएला ? त्यो दिन पर्खनै पर्ने भएको छ । एउटा भयबादको घोषणा, जो देश सुब्बाले गरे । मेरो बुझाइमा भयवादको सन्देश छ, ….जीवन केवल भयबाट निर्देशित र नियन्त्रित छ । जीवनको कुनै पल यस्तो छैन जुन भयरहित होस् । भयवादले जीवनको भय न्यूनिकरण गर्ने या जीवनलाई भयमुक्त गर्ने प्रेरणा दिन्छ.. । यदि मैले बुझेको कुरा गलत होइन भने भयवादभित्र अन्तरविरोधको स्थिति मौजुद रहेको आभास हुन्छ । किनभने जव जीवनको कुनै पनि पल भयरहित हुनै सक्दैनभने भयवादले कसरी जीवनको भय न्यूनिकरण गर्न सक्छ ? अथवा भयवादले जीवनलाई कसरी भयमुक्त गर्न सक्दछ ? प्रश्न स्वभाविक रुपमा उब्जिएको छ । भयवादको मेजर अप्रेसन देश सुब्बाले लिम्बुवानमा गराए ।

यता हङकङमा भएको माइनर अप्रेसनमा देखिएका कुराहरु नै उताको मेजर अप्रेसनमा विस्तृतरुपमा आएको रहेछ । जो अप्रेसन रिपोर्टको भीडीयो हेरेपश्चात् थाहा भयो । अर्को नयाँ लेखकको जन्म भएको घोषणा जो चर्चित कवि हाङयुग अज्ञातले तीन वर्षअगाडि गरे । काल क्रमको हिसाबले यो घोषणालाई आलै मान्न सकिन्छ । कारण नयाँ लेखक जन्मेर तीन वर्षमा मरिसकेको मान्न सकिँदैन । मान्न सकिन्छ, यदि त्यसको अकाल मृत्यु भएको भए तर त्यस्तो घोषकले बताएका छैनन् तसर्थ यो मेरो पुरानो घोषणा हो भनिकन उम्कन पाउने घोषकको स्थिति नरहेको बुझ्नमा आउँछ । देश सुब्बा र हाङयुग अज्ञातका दुबै घोषणाहरु फरक-फरक वस्तुतमा आएका छन् । केबल घोषणा बिषयक र हङकङबाट भएकोले मात्र पहिलो चर्चा गरिएको हो । अब नयाँ लेखकको जन्म भएकै हो भने नयाँ लेखकलाई पुरानो पाठकले नपढ्न सक्छ, पढेपनि नबुझ्न सक्छ । अतः यही मौका छोपेर मलाई पनि घोषकलाई समर्थन गर्दै ….नयाँ पाठकको जन्म…को घोषणा गरिदिऊँ कि जस्तो लागेको छ । तर लागेको मात्रै छ । घोषणा गरिएको छैन ।