हङकङमा नेपाली समाजसेवी सम्मानित

हङकङमा नेपाली समाजसेवी सम्मानित


हङकङ र बिगतका बर्षहरुमा झैँ यस वर्ष पनि हङकङ सरकारले हङकङ सारको १३औ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका ३०६ जना महानुभावहरुलाई विभिन्न पदक तथा आभुषणद्वारा विभुषित गर्ने घोषणा गरेको छ । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन जुलाई १ लाई हङकङमा हरेक वर्ष हङकङ यसएआर दिवसको रुपमा भव्यताकासाथ मनाइन्छ ।
यसै उपलक्ष्यमा लामोसमयदेखि हङकङको नेपालीलगायत अन्य अल्पसंख्यक समुदायमा सक्रिय रुपमा कार्यरत नेपाली समाजसेवी बुद्धिबहादुर थापालाई हङकङ सरकारले ‘मेडल अफ अनर (एम यच)’ ले विभुषित गर्दैछ । चीनको राष्ट्रिय दिवसको अवसरमा आगामी अक्टोवर १ तारिख थापालगायत अन्य ३०५ जना व्यक्तित्वहरुलाई हंगकंगका कार्यकारी प्रमुख डोनाल्ड चांगले पदकद्दारा विभुषित गर्नेछन् ।
नेपाल सरकारको बिभिन्न विभागहरुमा काम गरिसकेका स्याङ्गजा जिल्ला वालिंग नगरपालिका वडा नम्बर १० का थापा, हङकङका स्थायी बासिन्दा हुन् । बेलायतमै स्थायीरुपमा बसोबास गर्ने अधिकार मिलिसकेका थापाले हङकङमा आफूले निस्वार्थरुपले गरेको सामाजिक कार्यकोलागि हङकङ सरकारले गरेको सम्मानले आफूलाई हङकङमा नै बस्न प्रेरित गरेको बताउँछन् ।
बिगत ६ बर्षदेखि निरन्तररुपमा ‘हङकङ एकीकृत नेपाली समाज’ को अध्यक्षको रुपमा कार्यारत थापाले हङकङ सरकारको संबैधानिक तथा मूख्यभूमि मामिला ब्योरोको ‘द कमिटी अन द प्रमोशन अफ रेसियल हार्मोनी’ मा समेत रही उक्त कमिटी तथा हङकङ सरकारलाई जातीय सदभाबसम्बन्धी अमूल्य सुझाब तथा सल्लाह दिने जस्ता महत्वपूर्ण कार्यहरुसमेत गरिसकेका छन् । -जय गुरुङ, मेस