अनमिन गए दुर्घटना हुन सक्ने माओवादीको चेतावनी

अनमिन गए दुर्घटना हुन सक्ने माओवादीको चेतावनी


काठमाडौं । अनमिन फिर्ता भए त्यसपछि हुन सक्ने दुर्घटनाको जिम्मेवारी सरकार र सत्तारुढ दलहरुले लिनुपर्ने चेतावनी एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य एवम् सैन्य ईन्चार्ज वर्षमान पुनले दिएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अनमिन फिर्ता भए नेपालको शान्ति प्रक्रिया बृहद् शान्ति सम्झौताअघिको युद्धविरामको अवस्थामा पुग्ने उनले बताएका हुन । उनले भने– ‘अनमिन जानुअघि बृहद् शान्ति सम्झौता र हतियार र लडाकुको अनुगमनसम्बन्धी सम्झौता संशोधन गरेर अनुगमनसम्बन्धी संयन्त्र नबनाउने हो भने मुलुक सकारात्मक दिशामा अगाडि बढन सक्दैन । मुलुक अन्यौलग्रस्त अवस्थामा पुग्छ ।’ यद्दपि उनले माओवादीको तर्फबाट शान्ति प्रक्रिया भङ्ग नहुने स्पष्ट पारे।

उनले अझै पनि सरकार र माओवादीले अनमिनलाई यहाँ राख्‍न पत्राचार गरे अनमिन नेपालमा बस्ने विश्वास गर्दै अनमिनलाई फिर्ता पठाउन माओवादीको कुनै भूमिका नरहेको र फिर्ता पठाउन माओवादीले सहमति पनि नगरेको दाबी गरे । सरकारले माओवादी सेनाको हतियार बुझाउन अनमिनलाई पत्र लेखको विषयमा आक्रामक देखिएका पुनले सरकारलाई हतियार बुझाउनु भनेको आत्मसर्मपण गरेको ठहरिने भन्दै त्यौ सम्भव नरहेको स्पष्ट पारे। – देविका, मेस काठमान्डौ