गणतन्त्र कि गाँणतन्त्र ?

गणतन्त्र कि गाँणतन्त्र ?


खडेरीले धान छैन, संविधानको भाषण छ
भान्छामा नुन छैन, कानुनको शासन छ ।
झन्डै एक डेड वर्षअगाडि गाउँमा खडेरीको राप र सहरमा संविधानको चापलाई देखेपछि कवि संविधानप्रसादले लेखेको कविताको एक अंश हो यो । कवि संविधानप्रसाद कविता लेख्छन् तर छपाउँदैनन्, नेतालाई सुन्छन् तर पत्याउँदैनन् । सबैको कुरा सुन्छन् दिमागभित्र गुन्छन् अनि मात्र भन्छन् । साँच्ची नै, उनको भनाइमा सार हुन्छ, दुःखीको चित्कार हुन्छ । उनको कुरा रिसाउनेलाई अंगार लाग्ला । रमाउनेलाई झकार । जे होस्, उनी अरूले बेकार ठानेका कुरालाई आकार दिन्छन् । कसैले पनि हुनै नपर्ने आकार देखाए र गर्नै नपर्ने डकार गरे, त्यसलाई खकार पारिदिन्छन् । कवि संविधानप्रसादको स्वभाव यस्तै छ ।
संविधानसभाले पुनर्जन्म पाएर पनि सुस्ताएको बेला यी संविधानप्रसाद के गर्दै
होलान् ? रुँदै होलान् कि हाँस्दै होलान् ? या गणतन्त्रको गीत गाउँदै होलान् ।
गाउँमा गट्टा खेल्दादेखि नै गणतन्त्रको गीत गाउँदै आएका यी कवि अहिले गबाट गञ्जागोल र डबाट डाङडाङ-डुङडुङ देख्दा रहेछन् । गणतन्त्रको कार्यान्वयनमा गधाको गति देखिएपछि यिनी आजित भएका रहेछन् ।
यिनको आवासमा पुग्दा, त्यहाँ राजनीतिक परिवर्तनको कुनै रवाफ थिएन । वर्षौं पुरानो टिनको छानामुनि खाना बनाउँदै गरेका कवि कराहीमा कुनै मिष्ठान्न परिकार बनाउँदै थिएनन् । बरु कराहीमै पकाएको कालोे चियाले स्वागत गरे कविले मलाई । कवि भर्खरै भान्साबाट निस्के पनि त्यहाँ कुनै स्वादयुक्त परिकार थिएन । त्यसैले बसाइलाई खल्लो नबनाउन नै भए पनि मैले भए भरकोे साहित्यिक स्वादको कुरा गरे । जानेजति विम्ब, उपमा, अलङ्कार, लक्षणा, व्यञ्जना र भाव भङ्िगमाको कुरा गरे । तर, कवि बोलेनन् । सुनिरहे । मुन्टो हल्लाइरहँे । हल्लाएँ पनि के भन्नु बिस्तारै हल्लाएझंै गरे ।
कविको घाँटीको लुगा हटाएर देखाए । उनको घाँटीमा गलगाँड आएको रहेछ । गणतन्त्रको गीत गाउँदा-गाउँदै गलगाँड आएछ । विडम्बना पहिले गीत गाउने कवि अहिले नबोल्ने भएछन् । उनले गीत गाउँदा भाषण गर्नेहरू अहिले गाईको गोठ भत्काएर गाडी राख्ने ग्यारेज बनाउन सक्ने भए । पहिले बोर्डिङमा पढाउन विरोध गर्नेहरू अहिले बोर्डिङको पनि बाउ क्याम्पसका हाकिम होइन मालिक भए । तर, कवि पहिलेकै लवाइमै उही किटकै कराहीको कालो चियामै छन् ।
केहीबेरको मौनतापछि कविले आफ्नो गलगाँड मुसारे र सानो कविताको टुक्रा मतिर बढाएँ । लेखिएको थियो ।

गणतन्त्र गजब भो ।
सभासद्लाई पैसा भो
उनीहरूलाई नै बैंस भो ।

बजेट विकास चाहिएन
कार्यकर्तालाई नै पालुन् भो ।
पकेट खल्ती भरिएपछि
कहाँ हाल्नु छ हालुन् भो ।

कार्यकर्ता नै सबथोक रै’छन्
उनीहरूलाई नै पालुन् भो ।
हामी जनता बेकार रै’छौँ
जता फाल्नु छ फालुन् भो ।
तिनकै हातमा हतियार
तिनकै मुखमा कानुन
यो कस्तो गणतन्त्र हो ?
लौ तिनैले जानुन् ?
मिति सधैं बितिरहन्छ
सहमति गर्ने भन्छन्
असहमतिले जितिरहन्छ ।

गणतन्त्र भन्दाभन्दै, लडतन्त्र भयो ।
अनर्थ नै अनर्थ छ, अर्थ अन्तै गयो ।

जनतन्त्र हुनुपर्ने जाँडतन्त्र भयो
गणतन्त्र हुनुपर्ने गाँणतन्त्र भयो ।