लण्डनमा स्वामी रामदेवको भव्य योग शिविर

लण्डनमा स्वामी रामदेवको भव्य योग शिविर


वेम्बली पार्क, लण्डन । गत ९ जुलाई २०१०को दिनमा आएका विश्व विख्यात, पाताञ्जली योग पीठका संस्थापक गुरु स्वामी रामदेवजी बेलायतमा आएर योग शिक्षाको प्रवचन र अभ्यास सिकाउँदै आएका छन् । गत ११ जुलाई २०१०, आइतवार, तमूधीं, यूके र हुडाज संस्थाको संयोजनमा विशेष गरी गोर्खाली अथवा नेपालीहरुलाई लक्षित गरेर स्वास्थ्य रहनका लागि योग वारे प्रकाश पार्ने तथा अभ्यास सिकाउने एउटा अविस्मरणीय कार्यक्रमको आयोजना गरिएको थियो । ९ बजेबाट प्रारम्भ भएको योग कार्यक्रम भजनबाट शुरु भएको थियो । सर्वप्रथम कार्यक्रम संचालिका श्रीमती मुना चौहानले योग शिविरको बारेमा संक्षिप्त प्रकाश पारेपछि भूतपूर्व गोर्खाहरु र नेपाली समुदायलाई स्वागत गर्नको लागि योग शिविरकी श्रीमती सुनिता पोद्धरलाई नेपालीमा नेपालीहरुलाई सम्बोधन गर्नको लागि मञ्चमा अमान्त्रणा गरिन् । सुनिता पोद्धर आफू पनि नेपाली चेली भएकी र गोर्खाहरुको बेलायत प्रतिको योगदान, बहादुरी र इमान्दरिताको प्रशंसा गर्दै पीठको तर्फबाट त्यहाँ उपस्थित जनसमुदायलाई आभार प्रकट गरिन्, साथै स्वामीजीको आशीर्वाद ग्रहण गर्नको लागि गोर्खा तथा नेपाली समुदायका स्थानीय नेतृत्व तहका विशिष्ट व्यक्तित्वहरुलाई बोलाएकी थिईन् । सातावीश सामुदायिक भवनमा मानिसहरु खचाखच भरिएका थिए ।
ऊँ उच्चारणबाट शुरु भएको कार्यक्रममा स्वामी रामदेवजीको भक्ति भजनले प्रथम चरणको कार्यक्रमलाई दिव्य माहोलको सृजना दिएको थियो । जब स्वामीजीले उपस्थित जनसमुदायलाई सम्बोधन गरे एकप्रकारको निस्तब्धता र शान्तिको वातावरण व्याप्त भयो । सामुहिक ऊँ को मन्त्रोच्चारण र गायत्री मन्त्रको लयमा सबै समाहित थिए । यस्तो लागिरहेको थियो, मानौ कुनै अलौकिक अदृश्य शक्तिले आकर्षित गरिरहेको थियो । प्रवचनको शुरुमा नै सबै भावविभोर र अस्थामा बाँधिएका थिए ।
सबैभन्दा पहिले स्वामीजीले मान्छेको सृष्टिलाई हेर्ने दृष्टिको बारेमा र मानव ब्रहृमाण्डको सर्वश्रेष्ठ प्राणी भएको उद्धृत गर्दै अनि छौइङले गाएका गीत “फूलको आँखामा फूलै संसार” दुर्इ पंक्ति अत्यन्त सरस सुरिलो स्वरमा गाएर सृष्टिलाई हेर्ने उदाहरण दिँदै प्राणायम र योगको बारेमा विस्तृत ज्ञान दिए । प्राणायम र योगले कति बीमारी निको पार्न सक्छ, योग र प्रणायमको प्रयोग साथै अभ्यास गर्ने प्रक्रिया सिकाएका थिए । यस कार्यक्रमलाई तमूधी युके तथा हुडाज संस्थाको संयुक्त संयोजनमा संचालित थियो । तमधी युकेका अध्यक्ष सुवास सिंह गुरुङ, प्रथम कौन्सिलर धन गुरुङ, संयोजक मुक्षेत्र गुरुङलगायत बेलायतका लागि नेपाली राजदूत डाक्टर चालीसे आदि व्यक्तित्वहरुले कार्यक्रममा मन्तव्य प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
-सुमल, मेस