१९ औं विश्वकप स्पेनलाई

१९ औं विश्वकप स्पेनलाई


लण्डन । विश्वकप फुटबलको १९ औं संस्करणको उपाधि स्पेनले जितेको छ । ११ तारिख भएको संघर्षपूर्ण खेलमा नेदरल्याण्डलाई अतिरिक्त समयको अन्तिम मिनेटमा शून्यको विरुद्ध एक गोलले हराउँदै स्पेनले पहिलोपटक उपाधि जितेको छ । फर्नान्डो टोरेसबाट फाब्रेकास हुँदै आफूसम्म आएको बललाई इनेस्टाले जाली चुमाएर इतिहास रचे ।
दक्षिण अफ्रिकाको जोहनेसवर्गस्थित सकरसिटी रंगशालामा भएको खेलमा नेदरल्याण्डका खेलाडी जोन हेटिङ्गाले अतिरिक्त समयको १९ औं मिनेटमा रातोकार्ड पाएर बाहिरीएपछि स्पेनलाई केही सहज भएको थियो । स्पेनलाई विश्वकप फुटबलको सुनको ट्रफि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा र फिफा अध्यक्ष सेव ब्लाटरले संयुक्त रुपमा प्रदान गरेकाथिए । ट्रफिसँगै स्पेनले ३१ मिलियन डलर अर्थात् दुई अर्ब २५ करोड ५८ लाख ७० हजार रुपैयाँ भन्दा बढी पनि हात पारेको छ । स्पेनले विश्वकपको ट्रफिसँगै फेयर प्लेको उपाधि पनि हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डियगो फोर्लान भए । सन्चारमाध्यमको भोटिङमार्फत् उत्कृष्ट खेलाडी छानिएका उनले गोल्डेन बल पुरुस्कार पाए । जर्मनीका थोमस मुलर उत्कृष्ट युवा खेलाडी घोषित भए । मुलरले सर्बाधिक गोल गर्ने खेलाडीलाई दिइने गोल्डेन बुट पुरुस्कार पाए । प्रतियोगिताभर पाँच गोल गरेका स्पेनी खेलाडी डेभिड भिल्लाले सिल्भर बुट पाए । यसअघि सन् १९७४ मा जर्मनीसँग र १९७८ मा अर्जेन्टिनासँग पराजित भएको नेदरल्याण्ड सन् २०१० मा पनि स्पेनसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझायो ।
इंग्ल्याण्का रेफरी वेबलाई स्पेनी टिमलातर्फ ज्यादा झुकाव राखेको भनेर नेदरल्याण्डबाट गम्भीर आरोप लगाइएको छ । तर ज्यादाजसो पर्यवेक्षकहरुले नेदरल्याण्डले अत्यन्तै ‘रफ’ खेल खेलेको मानेका छन् र तिनीहरुको खेलको अन्त्यसम्ममा नौजनाले ११जनाको विरुद्धमा खेल्नुपर्ने भनेका छन् ।
इतिहास रच्ने क्रममा रहेका यी दुर्इ देशहरुका सफलतालाई एक पक्षबाट उत्साहपूर्वक ह्रिएको छ भने अर्को थरीहरुले योपालि विश्वकप चाखलाग्दो नरहेको बताएका छन् । अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इंग्याण्ड, जर्मनी, पोर्चुगल आदि नराम्रो प्रस्तुति र शुरुमा अत्यन्तै खत्तम खेलको प्रदर्शन गरेका स्पेनजस्ता देशहरु अगाडि आउनुलाई मिश्रित किसिमले बुझिएको छ ।
अफ्रिकामा महिनाभरि चलेको मेला अब बन्द भएको छ, र जसले गर्दा हजारौं जागीरहरु, रोजगारीहरु सबै टुटेका छन् । तर कतिपय ‘रिमोट एरिया’हरुमा लाखौं नागरिकहरुले भ्ररमण गरेका छन् र ती स्थानहरुबारे अहिले सर्वत्र जानकारी भएको छ, आगामी दिनहरुमा ती क्षेत्रहरुका भ्रमण गर्ने पर्यटकहरुको आगमनमा निरन्तराता रहने आशा गरिएको छ ।
समस्त अफ्रिकाबाट घानाले उत्कृष्ट प्रदर्शन गरेको छ भने अन्य अफ्रिकाली देशहरुमका फुटबल जगतमा धेरै नै उथलपुथल हुने पक्का छ । -मेस, फोटो नेट