विश्व नेपाली साहित्य महासंघको स्थापना

विश्व नेपाली साहित्य महासंघको स्थापना


लण्डन । यही १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतीक आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइरहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टासर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा गरेका छन् ।

नेपालको समय बेलुकि ६ बजे स्काइपीको टेलिकन्फेरेन्समार्फत साहित्यकारहरुले संयुक्त रुपबाट घोषणा गरेका थिए । उपस्थितिलाई सम्बोधन गर्दै मस्को रसियाबाट डा. मधु माधुर्यले आफ्नो मन्तब्य राखेका थिए । आपसमा पहिलो पटक नेटमार्फतको चिनजानले सबैलाई उत्साहित बनाएको थियो । विश्वभरका झण्डै डेढ दर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टा सर्जकहरुको सामुहिक संलग्नता रहेको यस महासंघको अन्तर्राष्ट्रिय केन्द्रीय समिति, केन्द्रीय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावलिसमेत घोषणा गरिएको थियो ।

संस्थापक भानु जयन्ती २०६७ राखिएको छ भने महासंघको अध्यक्ष डा. मधु माधुर्य (रसिया), वरिष्ठ उपाध्यक्ष गोविन्द गिरी प्रेरणा (अमेरिका), उपाध्यक्ष रमेश पौडेल (काठमाण्डौ), उपाध्यक्ष टंक सम्बाहाम्फे (हङकङ), उपाध्यक्ष वीरभद्र ढोली कार्की -सिक्किम भारत), महा-सचिव विश्वास दीप तिगेला (ब्रुनाई/वेलायत), सचिव इन्द्र नारथुङे (मलेशिया), साहित्य संचार संयोजक प्रदीप थापा मगर (अमेरिका), संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे -भुटान, अमेरिका), आर्थिक सचिव सुरेन्द्र इङनाम (वेलायत), आर्थिक सह-सचिव शर्मिला खड्का -काठमाण्डौ), सदस्यहरु शिब प्रकाश (बोष्टन अमेरिका), सुरेसजंग शाह (वेलायत), हरी शिवाकोटी (क्यानडा), जीवन देवान गाउंले -मलेशिया), गणेश खड्का प्रतीक्षा (सेसेल्स), उमा सुवेदी (इजरायल), सन्तोष नेउपाने (बेल्जियम), देवेन्द्र सुर्केली (काठमाण्डौ), साबित्री काफ्ले (अष्ट्रेलिया), केदार सुनुवार संकेत -अफगानिस्तान), भीम के.सी. कमल (पोर्चुगल), वसन्तमोहन अधिकारी (युर्एइ), जीतमान र्राई (पेनाङ, मलेशिया)गोवर्द्धन पूजा (अमेरिका), तीर्थसंगम र्राई (कतार), गोविन्द देवकोटा (मस्को रसिया) छन् भने १९ सदस्य केन्द्रीय पार्षद र ८ सदस्य सल्लाहकार समितिलगायत सम्बद्धता लिने निर्णय गरेका ३ साहित्यिक संस्थाहरु उदाउंदो तारा साहित्यिक समाज, पेनाङ मलेशिया, अनलाइन नेपाली साहित्य मंच, नेपाली साहित्य प्रतिष्ठान हङकङको नाम समेत घोषणा गरेका छन् ।

नेपाली साहित्यको क्षेत्रमा ब्यापकरुपमा समेटेर निर्माण गरिएको सम्भवत यो पहिलो महासंघ हो । सामूहिक हितको लागि सामूहिक सक्रियतामा साहित्यिक संस्थाको स्थापना भन्ने मान्यताले स्थापित यस महासंघले संचालनमा रहेका साहित्यिक संघसस्थाको अस्थित्वलाई स्वीकार गर्दै सम्बद्धता प्रदान गर्ने र जुनसुकै साहित्यिक संस्थामा संलग्न ब्यक्ति पनि यस संस्थामा सहभागी हुन सक्ने बताएको छ । विश्वभरका प्रत्येक देशमा शाखा र सम्बद्धता प्राप्त संस्था निर्माण गर्ने लक्ष्य राखेको यस महासंघको चाडै नै विश्वभर शाखाहरु निर्माण हुने पनि बताएका छन् । यस महासंघको साधारण, राष्ट्रिय र आजीवन सदस्य रहने ब्यवस्था रहेको छ ।

लामो छलफल र बहसपछि महासंघ नामकरण गरिएको र हाल लोगो र वेवसाइट ठेगानाको बारेमा छलफल भइरहेकोले आआफ्नो विचार दिन अनुरोध गरेको छ साथै विधान मस्यौदा संयोजक महासचिव विश्वास दीप तिगेलालाई तोकेको छ ।-तिगेला