पञ्चासे समाज, यूकेको वाषिर्क भेटघाट

पञ्चासे समाज, यूकेको वाषिर्क भेटघाट


बेगशट, क्याम्बरली / हिजो १७ जुलाई २०१०, शनिवारको दिनमा सफा मौसम, स्वच्छ वातारवरणमा पञ्चासे समाज परिवारले अत्यन्त रमाइलो कार्यक्रम गरेर २०१० सालको भेटघाट कार्यक्रम मनाएको थियो । पर्वत जिल्लाको उत्तरी भेग पञ्चासेको उत्तरी मोहडा काखमा अवस्थित चित्रे, राम्जा र राँपुगाउँहरुबाट यूके आएर यूकेका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका मानिसहरुको यो भेटघाट कार्यक्रमले एक पटक मातृभूमि नेपालको झझल्को, नेपालीपन्को छनक्, अन्नपूर्ण हिमश्रृंखलाको शीतल दृश्यहरु, पञ्चासे वरिपरिको सुवासले मगमग सुवासित वातावरणको आभाष दिएको थियो । सधै भेटघाट भएर कुराकानी गर्ने अवसर धेरै मानिसहरुको व्यस्त जीवनमा कमै हुन्छ, त्यसकारण वर्षमा एकपटक भेटघाट गर्ने, रमाइलो गर्ने र चेलीबेटीहरुलाई निमन्त्रणा गरेर स्वागत सत्कार गर्ने उद्धेश्य रहेको यो कार्यक्रम अत्यन्त सफल भएको थियो । सहभागीहरुको उत्साहपूर्ण सहभागिताले कार्यक्रम रोचक भएको थियो । बेगशट प्ले ग्राउण्डको कम्युनिटि सेन्टरमा सम्पन्न भएको यस कार्यक्रममा काउन्सिलर गम बहादुर गुरुङलाई विशेष अतिथिकोरुपमा निम्त्याइएको थियो भने समाजका सबैभन्दा वृद्धा महिला सुना गुरुङ समारोहको प्रमुख अतिथि थिए । समाजका अध्यक्ष ले.रिटायर्ड दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त भेटघाट कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन समाजका सचिव आर कुमार गुरुङले गरेका थिए ।
अतिथिहरुबाट पानस प्रज्वलन गरेर आपरन्ह २ बजे शुरु गरेको सो कार्यक्रममा समाजको उपाध्यक्ष सुमल कुमार गुरुङले आपनो स्वागत मन्तव्यमा समाजको उद्धेश्य, औचित्य र समाजप्रतिको ऐक्यबद्धतालाई प्रकाश पार्दै स्वागत गरेका थिए । निर्धारित तालिकाअनुसार शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेका समाजका बालबालिकाहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । विशेष अतिथि काउन्सिलर गम गुरुङ, चेलीबेटीको तर्फबाट क्या. रिटायर्ड कमल गुरुङ तथा, समाजका सल्लाहकार विष्णु गुरुङले आआफ्नो मन्तव्य प्रकट गरेपछि अध्यक्षले धन्यवाद गर्दै प्रथम चरणको अनौपचारिक कार्यक्रम समापन गरेका थिए । दोश्रो चरणको कार्यक्रम समाजको सदस्य जय गुरुङले सञ्चालन गरेका थिए । समाजको सचिव आरकुमार गुरुङको स्वर्गीय पिताको स्मरणमा दिवंगत आत्माको चीर शान्तिका लागि एक मिनट भाव श्राद्धञ्जलीस्वरुप मौन धारण गरी जय गुरुङले आफ्नो मोहक उद्घोष शैलीबाट प्रभावित पार्दै दोश्रो चरणको कार्यक्रम शुरु गरेका थिए । कार्यक्रममा समाजको अर्को सदस्य श्रीमती राम कुमारी गुरुङको पनि उल्लेखनीय सहयोगले ठूलो प्रभाव पारेको थियो र विविध मनोरन्जनात्मक खेल, नाचगान गरेर अबेर रातसम्मा झुमेका थिए । अन्तमा फेरि अर्को साल यस्तै रमाइलो भेटघाटको वाचा गर्दै विदा भएका थिए । सुमल, मे स ।