तमू प्येल्हु संघको समर बीबीक्यू

तमू प्येल्हु संघको समर बीबीक्यू


फार्नबोरो, यूके । हिजो, दिउँसो ओकफाम स्कूलमा तमू प्येल्हु संघ यूकेले वार्षिक भेटघाटको एक ठूलो भेटघाटको कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । लगभग ८०० जना तमूहरुको सहभागिता रहेको सो समर भेटघाट निक्कै नै उत्साहपूर्व रुपमा बितेको छ । मौसम परिवर्तन तथा सुस्वास्थ्यको लागि परम्परागत धार्मिक पूजा गरेर शुरु गरिएको सो कार्यक्रममा यस्ता पूजाका रीतहरुलाई आगामी पाँच वर्षभित्रमा लिखित रुपमा राख्ने बताइएको थियो ।
कार्यक्रमको एक औपचारिक चरण, जसलाई सचिव भेगलाल गुरुङले सचालन गरेका थिए, मा ग्राउडिङ नलेज, वाकिङ ल्याण्ड शीर्षकको पुस्तकका रचनाकाहरु क्रिस इभेन्ट, डा. मार्क तोरिज, डा. जोडिथ र यार्जन गुरुङलाई खादा ओढाएर सम्मान गरिएको थियो । सो पुस्तक गुरुङ जातिहरुको उत्पत्तिको बारेमा लेखिएको र जसलाई अनुमति लिन तीन वर्ष अनि लेखेर पूरा गर्न १७ वर्ष लागेको लेखकहरुमध्ये यार्जन र जोडिथले आफ्नो मन्तव्य दिने क्रममा बताएका थिए । लेखकहरुबाट लेखिएको सो पुस्तक र गुरुङ जाति, समर भेटघाटको बारेमा संक्षिप्तमा अध्यक्ष जगत गुरुङ मन्तव्य राखेपछि उक्त औपचारिक कार्यक्रम सकिएको थियो ।
तमूहरुको एकता हुनु पर्नेमा काउन्सिलर गम बहादुर गुरुङ जस्तै आफू पनि सकारात्मक भएको अध्यक्ष जगत गुरुङले एक वार्तालापको क्रममा बताएका थिए ।
कार्यक्रम अबेरसम्म निक्कै रमाइलोका साथ चलेको थियो, जसमा विभिन्न रमाइला खेलहरु खेलाइएको थियो भने, नाचगान पनि गरिएको थियो ।
-याम, तस्वीरसहित,
वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।
माथिको घटनामा आधारित रहेर सो कार्यक्रमका सञ्चालकहरुबाट तयार गरिएको समाचारको जस्ताको त्यस्तै रुप निम्न प्रकारको छ –

धार्मिक पूजा सहित तमु प्ये ल्हु संघ युकेको समर भेटघाट सम्पन्न
ओक फार्म कम्युनिटी हल फार्नबरोको खुल्ला प्राङ्गणमा तमु प्ये ल्हु संघ युकेले यस बर्षको “समर बि.बि.क्यु. तथा भेटघाट कार्यक्रम २०१०” भव्य रुपमा सम्पन्न गरेको छ । विभिन्न संघ-संस्था तथा व्यक्तित्वहरुलाई आमन्त्रित गरिएको उक्त कार्यक्रममा तमु परम्परागत धार्मिक पूजा लगायत विभिन्न रमाईलो कार्यक्रमहरु समेत समावेश गरिएको थियो ।
कार्यक्रममा आमन्त्रित गरिएको पाहुनाहरुमध्ये क्याम्ब्रिज युनिभर्सिटीका पुरातत्वविद क्रिस ईभान् , प्रोफेसर अलान म्याकफर्लेन र श्रीमती सारह ह्यारिसन अक्स्फोर्ड युनिभर्सिटीका प्रोफेसर डा. सान्द्र हाउस्नर र डा। फ्लोरेन्स् गुरुङ लगायत गोर्खा जिल्ला तमु समाज युकेका अध्यक्ष पन्च तमु, बि.एफ.बि.एस. गोर्खा रेडियोका जेनेरल म्यानेजर खेम तमु र योगराज राई, गोर्खा समाज सेवा समिति युकेका अध्यक्ष खुशीमान कोन तमु, एन.आर.एन. युकेका अध्यक्ष सूर्य तमु, मगर संघ युकेका अध्यक्ष मे. कुल बहादुर थापा मगर र लण्डन बरो अफ मेर्टोनका काउन्सिलर गम बहादुर तमु र तमु धीँ युकेका अध्यक्ष सुवासिङ लेम तमु उपस्थित हुनुहुन्थ्यो भने आमान्त्रित अन्य केही पाहुनाहरुले उपस्थित हुन असमर्थ रहेको कारण सहित कार्यक्रम सफलताको लागि सन्देश पठाउनु भएको थियो ।
तमु प्ये ल्हु संघ युकेले हरेक बर्ष गृष्मकालिन समयको अवसर पारेर विभिन्न किसिमका धार्मिक पूजाहरु पनि गर्दै आएकोमा यस पटक क्होइडुलुमरा/प्ह्याडुलु तर्क्य पूजा (साउने सक्रान्ति पूजा) गरेको थियो । संघले साउने सक्रान्ति पूजा गरेको यो दोस्रो पटक हो । तमु जातिले परम्परागत रुपमा मान्दै आएको प्रकृतीसँग सम्बन्धित यो क्होइडुलुमरा/प्ह्याडुलु तर्क्य पूजा साउने सक्रान्तिको दिनमा गरिने हुनाले यसलाई साउने सक्रान्ति पूजा पनि भन्ने गर्दछन् । पूजामा तमु धर्मगुरुहरु पच्यु पैंडी चिवा यारजङ क्रोम्छे तमु, पच्यु चिवा ईन्द्र बहादुर ल्हेँगे तमु, पच्यु चिवा देव गरब्ज तमु, पच्यु चिवा जीत क्रोम्छे तमु, पच्यु मन प्रसाद क्रोम्छे तमु, पच्यु बुद्धीमान कुप्छे तमु, क्ल्हेप्री चिवा मीन टु तमु, क्ल्हेप्री चिवा दान म्होब्छे तमु र क्ल्हेप्री हिरा म्होब्छे तमु सरिक हुनुहुन्थ्यो भने भक्तालु आमा, दिदी-बहिनीहरुले फूल तथा फलफुलहरु चढाएर धर्मगुरुहरुको धार्मिक प्रवचन सुन्नको लागि पूजा हल टनाटन भरिएको थियो । पूजाको सम्पूर्ण विधि सकिएपछि अन्तमा मुलीले चारै दिशातीर अगुल्ठो फालेर दुषित वातावरण तथा नराम्रो रोगव्याधीबाट रोकथाम गर्ने गर्दछन् जुन यस कार्यक्रममा संघको अध्यक्षबाट गरिएको थियो । यी कुराहरुलाई गहिरिएर नियाल्दा तमु जातिको प्येमा एउटा यस्तो अद्भूत शक्ति छ भन्ने विश्वास गर्न सकिन्छ ।
तमु प्ये ल्हु संघ युकेले हरेक बर्षमा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने तमु व्यक्तित्व तथा तमु समाजमा उल्लेखनिय योगदान पुर् याउने महानुभावहरुलाई तमु संस्कार अनुसार सम्मान तथा अभिनन्दन गर्दै आएकोछ भने यस पालीको समर भेटघाट कार्यक्रममा तमु जातिको पैतृक स्थल क्होलाको स्थलगत भ्रमण, उत्खनन् तथा अनुसन्धान गरी करिब सत्र बर्ष लामो अध्ययन पछि तमु जातिको ऐतिहासिक तथ्य तथा अनुसन्धानका रिपोर्टहरु समेटेर तयार पारिएको ग्राउण्डिङ क्नलॆज/वाल्किङ ल्याण्डका प्रकाशक समूह क्याम्ब्रिज युनिभर्सिटीका पुरातत्वविद क्रिस ईभान्, प्रोफेर अलान म्याकफर्लेन र पच्यु पैडी चिवा यारजङ क्रोम्छे तमुलाई क्रेँगी ओढाई सम्मान गरेको थियो भने सो समूहको डा. मार्क तुरिन र डा. जुडिथ पिटिग्र्युको अनुपस्थिति रहेको थियो । त्यसैगरी सम्मान गर्ने क्रममा लण्डन बरो अफ मेर्टोनका नव चिर्वाचित काउन्सिलर गम बहादुर तमु, गोर्खा जिल्ला तमु समाज युकेका नव नियुक्त अध्यक्ष पन्च तमु र गोर्खा जिल्ला सेवा समाज युकेका नव नियुक्त अध्यक्ष खुशीमान कोन तमुलाई पनि क्रेँगी ओढाई अभिनन्दन गरिएको थियो । वहाँहरुलाई संघको अध्यक्ष जगत प्हच्यु तमु, उपाध्यक्ष सोम त्होर्जे तमु र प्रमुख सल्लाहकार ले. याम बहादुर तेल तमुले क्रमशः क्रेँगी ओढाई दिएको थियो भने पच्यु चिवा ईन्द्र बहादुर ल्हेँगे तमु र क्ल्हेप्री चिवा मिन टु तमुले सफलताको शुभाआषिश दिनु भएको थियो । कार्यक्रममा बोल्दै पुरातत्वबिद क्रिस ईभान्ले क्होलामा पुगेर स्थलगत उत्खनन् गर्दाको कठिन क्षणको सम्झना गराउदै क्याम्ब्रिज युनिभर्सिटीबाट प्रकाशन गरिएको उक्त किताबको प्रकाशन समूहलाई यति ठुलो कार्यक्रममा सम्मान गरेकोमा अति खुशी रहेको कुरा बताउनु भयो भने पच्यु पैँडी चिवा यारजङ क्रोम्छे तमुले क्होलाको भ्रमण उत्खनन् तथा अनुसन्धानको क्रममा सहयोग पुर् याउनु हुने सबैको पसिनाको फल हो यो किताब भन्दै संघले दिएको भव्य सम्मानप्रति आफु अति नै खुशी रहेको जानकारी गराउदै आफ्नो समूहको तर्फबाट संघप्रति आभार व्यक्त गर्नु भयो । यस्तैगरी व्यक्तव्य दिने क्रममा काउन्सिलर गम बहादुर तमुले असम्भव भन्ने कुरा केही छैन भन्दै मेहेनत गरे सबै कुरा सम्भव छ भन्ने आफु स्वयंको उदाहरण दिँदै नव पिँढीहरुलाई लगनशिल हुन आग्रह गर्दै तमु प्ये ल्हु संघले गरेको सम्मानको लागि धन्यवाद तथा आभार सहित आफु खुशी रहेको बताउदै एक बोत्तल स्याम्पियन संघको अध्यक्षलाई प्रदान गर्नु भएको थियो । संघले गर्दै आएको अभिनन्दन कार्यक्रम तथा संघको विभिन्न उद्धेश्यहरुको संक्षिप्त जानकारी गराउदै अध्यक्ष जगत प्हच्यु तमुले सम्मानित हुनु भएका सबै व्यक्तित्वहरुलाई सफल कार्यकाल तथा अझ प्रज्वल प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा तमु प्ये ल्हु संघको तत्वावधानमा शुरु भएको “प्ये संकलन लेखन तथा प्रकाशन योजना २०१०” को सहयोगार्थ आर्थिक संकलन पनि गरिएको थियो जसमा संघको सल्लाहकार नर बहादुर टु तमुले रु १,११,१११/- अध्यक्ष जगत प्हच्यु तमुले रु १,००,१०१/- सदस्य धर्म कुप्छे तमुले रु ५०,००१/- उपाध्यक्ष सोम त्होर्जे तमुले रु १,५०,१११/- सदस्य अमर त्होर्जे तमुले रु ५१,०००/- सदस्य रामकाजी त्होर्जे तमुले ५०,१०१/- र सल्लाहकार क्या. देवराज ङोप्छे तमुले १,००० पाउण्ड आर्थिक सहयोग प्रदान गर्नु भएकोछ । रमाईलो कार्यक्रममा संघको युवा समितिको सक्रियतामा राफल ड्र पनि खेलाईएको थियो जसको पुरस्कार संघ र सल्लाहकार क्या. बुद्धी कुमार पर्जु तमुले स्पोन्सर गरेको थियो भने प्रथम, द्धितिय, तृतिय र सान्तवना पुरस्कार क्रमशः भाग्यशाली टिकट नं. १०, २७१, ८५ र ३९ लाई परेको थियो ।
व्यवस्थित रुपमा कार्यक्रम सम्पन्न गराउने अभिप्रायले टिकट बिक्रीतर्फ सदस्य गीर बहादुर लइ तमुको समूह, धार्मिक पूजातर्फ सदस्य डम्बर टु तमुको समूह, मनोरन्जनतर्फ सल्लाहकार नर बहादुर टु तमुको समूह, पाहुना सत्कारतर्फ सल्लाहकार क्या. डेम बहादुर योज तमुको समूह, खाना तथा विविध व्यवस्थातर्फ उपाध्यक्ष सोम त्होर्जे तमुको समूह बनाई कार्य विभाजन गरिएको थियो । कार्यक्रममा विभिन्न मनोरन्जनका खेलहरु सवमावेश गरिएको थियो । मनोरन्जनात्मक खेलहरुले खेलमा भाग लिने सहभागीहरुलाई निक्कै रमाईलो गराएको थियो भने दर्शकहरुलाई असाध्यै हँसाएको थियो जसको सन्चालन सदस्य बिकास ल्हेँगे तमुले गरेको थियो भने खेलको पुरस्कार योगेन्द्र क्षेत्रीले स्पोन्सर गर्नु भएको थियो । अभिनन्दन कार्यक्रमपछि रमाईलो खेल शुरु हुनुभन्दा अगाडी सुश्री सिता तमु र सम्पूर्ण थापाको आकर्षक नृत्यले कार्यक्रमलाई थप रोचक बनाउनुका साथै दर्शकहरुलाई हेराहेर बनाएको थियो भने नन्स्टप म्यूजिकको नन्स्टप खुल्ला नृत्यले सबैलाई छमछम नचाएको थियो ।