‘डर्टी कार्गो’ सोझै सुख्खा बन्दरगाह पठाउनुपर्ने निर्देशनपछि गम्भीर बन्दै मामला

‘डर्टी कार्गो’ सोझै सुख्खा बन्दरगाह पठाउनुपर्ने निर्देशनपछि गम्भीर बन्दै मामला


– प्रणय साह

नेपाली सिमेन्ट उद्योगको याडबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन रोक लागेपछि समस्या चर्किंदै गएको छ । रक्सौलका स्थानीयले प्रदूषण भएको भन्दै विरोध गरेपछि पुस ७ गते (२२ डिसेम्बर)बाट भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँगको सहमतिमा क्लिङकरको कार्गो सीधै वीरगन्ज सुक्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको थियोे । यससँगै उत्पन्न समस्या समाधान गर्न हिजो मंगलबार नेपाली र भारतीय पक्षबीच वीरगन्जमा छलफल भए पनि विना निष्कर्षमा टुङ्गिएको छ ।

भारतीय पक्षले ‘डर्टी कार्गो’ रक्सौलमा लोड–अनलोड नगरी सिधै वीरगन्जस्थित सुख्खा बन्दरगाहमा पठाउने निर्देशन दिएपछि समस्या समाधान गर्न सम्बन्धित निकायका पदाधिकारीहरू बीच हिजो वीरगन्जमा छलफल भएको नेपाल उद्योग बाणिज्य महासंघका अशोक टेवानीले बताउनुभयो । दुवै पक्षका अधिकारीको उपस्थितिमा वीरगन्जको विश्व होटलमा सम्पन्न करिव ३ घण्टा चलेको छलफल विनानिश्कर्ष टुंगिएको हो ।

ड्राइपोर्ट आसपासका स्थानीय वासिन्दाले क्लिङकर ल्याउँदा प्रदूषण हुने भन्दै नल्याउन ज्ञापनपत्र बुझाएका छन् । सुक्खा बन्दरगाहमा क्लिङकरलगायत कच्चा पदार्थ अनलोड गर्न भारतीय कम्पनीले १५ दिनभित्र स्थान व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि नेपाली व्यवसायीहरू विश्वस्त छैनन् । हिमालयन टर्मिनलका कार्यकारी निर्देशक विष्णुकान्त चौधरीले बन्दरगाहबाट क्लिङकरलगायत औद्योगिक कच्चापदार्थ ल्याउन नेपाल सरकारबाट कुनै पनि पत्र नआएको बताए । ‘त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्छ,’ चौधरीले भने– ‘तत्काल बन्दरगाहबाट सिमेन्ट उद्योगको कच्चापदार्थ आयात गर्न सम्भव छैन ।’

समस्या समाधानका लागि बसेको बैठक निष्कर्षविहीन मंगलबार वीरगन्जमा समस्या समाधान गर्न बसेको दुवै देशका सरोकारवालाहरूको बैठक विनानिष्कर्ष टुंगिएको थियो । भारतीय पक्षले एकतर्फि रुपमा पूर्ववत कारोवारस्थल परिवर्तन गर्न भनेपछि सुख्खाबन्दरगाह आसपासका स्थानीयवासीले पनि त्यहाँ राख्न नहुने अडान राखेका थिए ।

भारतका इसीआर जनरल मेनेजर सलिलकुमार झा र कंकडका चेयरमेन तथा मेनेजिङ डाइरेक्टर भी. कल्याण रामासहितको टोलीले डर्टी कार्गो बन्दरगाहमा राख्नका लागि स्थलगत अवलोकन समेत गरेका थिए । नेपालका बाणिज्य मन्त्रालयका सचिव रविशंकर सैंजु र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतसहतिको टोली पनि वीरगन्ज आएपछि दुवै पक्षका बीचमा आवश्यक छलफल भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।

बताइएअनुसार छलफलमा दीर्घकालीन रुपमा नेपाली पक्षले विकल्प खोज्ने छलफल भएको तर तत्काललाई ड्राइपोर्टमा कन्कोरले भनेजसरी तत्काल स्थानको व्यवस्था हुन नसक्ने देखिएकाले पुरानै पक्रियाबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन पाउनुपर्ने माग उनीहरूको अघिसारेका छन् ।
सुक्खा बन्दरगाहमा अहिले छड उत्पादनका लागि आवश्यक कच्चापदार्थहरूको आयातमा नै समस्या देखिएकाले क्लिङकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या उत्पन्न हुने तर्क उनीहरूको छ । राजपालले ड्राइपोर्टमा क्लिङकरजस्ता कच्चापदार्थ आयात गर्नका लागि कुनै पनि ट्र्याक नभएको बताए ।
‘फलाम, कन्टेनर र बोराबन्दीको समान आयात गर्न तीनवटा ट्र्याक छ । क्लिङकरलगायत औद्योगिक कच्चापदार्थका लागि ट्र्याक नै छैन । अनलोड गर्ने लेबरको समस्या पनि आउन सक्छ,’ उनले भने, ‘तत्कालका लागि विकल्प मिलाउन सकिएला तर सरकारले राम्रो ठाउँको विकल्प दिएर दीर्घकालका लागि समस्या समाधान गरिदिनुपर्छ ।’ नेपाली उद्योगीहरुले पनि रक्सौलका स्थानीय वासिन्दाको स्वास्थ्यमा असर नपर्ने गरी त्यहाँ स्टक कम गर्दै उद्योग बन्द नहुने गरी कारोबार गर्न पाउनु पर्ने अडान राखेको बस्नेतले बताए ।

मननीय पक्ष यो छ कि, स्थानीय सचेतजनले एक्कासी खडा हुन पुगेको क्लिङ्कर व्यवस्थापनको मामला सतहमा देखिएजस्तो सामान्य नभई यसभित्र गम्भीर ‘राजनीतिक’ अभीष्ट लुकेको हुन सक्ने लख काटेका छन् ।