उमेर-बन्धन चुँडालेकी छात्रा लिला सुनार

उमेर-बन्धन चुँडालेकी छात्रा लिला सुनार


– मुक्तिनाथ भुसाल

चाहना अगाध र दृढ प्रयत्न हुन्छ भने मनका सपना पूरा गर्न उमेरले रोक्दैन भन्ने एउटा उदाहरण अर्घाखाँचीमा फेला परेको छ । जिल्लाको शितगंगा नगरपालिका-९ पाकुरी निवासी ५८ वर्षीया लिला सुनार कक्षा चारमा अध्ययन गर्दछिन् । गाउँकै पाकुरी आधारभुत विद्यालयमा कक्षा १ मा भर्ना भई वार्षिक परीक्षा क्रमशः उत्तीर्ण गर्दै हाल कक्षा ४ मा अध्ययनरत उनी अत्यन्तै अनुशासित छात्राको रुपमा कहलिएकी छिन् ।

विद्यालय समयमा स्कुल-युनिफर्म पहिरिने लिला विद्यालय समयपश्चात साडी-चोलोमा सजिन्छिन् । उक्त विद्यालयकी शिक्षिका सुशीला आचार्यका अनुसार अबको दुई वर्षपश्चात सामाजिक सुरक्षा भत्ताको दावेदार हुने लिला सुनार पाँच छोरा र एक छोरीकी आमा हुन् । अझ रोचक के छ भने लिलाका एक छोरा अर्जुन बिक उनले अध्ययन गर्ने विद्यालयकै पूर्वशिक्षक हुन् भने उनकी साइँली बुहारी हुमी बिक पनि सोही विद्यालयकी पूर्व प्रअ रहिसकेकी छिन् । विद्यालयको व्यवस्थापन र अवलम्वन गरिएका नीति-नियमअनुसार हाल हुमी सो विद्यालयमा शिक्षिकाको रुपमा क्रियाशील छिन् ।

यस उमेरमा स्कुले छात्र बन्नुको कारण बारे जिज्ञासा राख्दा लिलाले सानै उमेरदेखि पढ्ने मन भए पनि पारिवारिक कारणले अवसर नमिलेको तर यतिबेला छोराछोरीको आवश्यक बन्दोबस्त भइसकेकोले पढ्नका लागि समय अनुकुल ठानेर स्कुल भर्ना भएको जवाफ दिइन् ।

अध्ययनका अलावा सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय उनी गाउँलेहरुको सुख-दुःखमा साथ दिन हरदम तत्पर रहने महिलाको रुपमा पनि प्रशंसित रहेको उक्त वडाका वडाध्यक्ष भीमबहादुर केसीले जानकारी दिए ।