टरीगाउँमा हवाई उडान फेरि सञ्चालनमा आउने

टरीगाउँमा हवाई उडान फेरि सञ्चालनमा आउने


विभिन्न राजनीतिक दल, संघसंस्था एवम् उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको दाङको टरिगाउँ विमानस्थलमा फेरि सञ्चालनमा आउने भएको छ । हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा यही पुस २३ गतेदेखि हवाई उडान हुने भएको हो ।

विसं २०१६ मा निर्माण भएको विमानस्थल दाङका क्रियाशील राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौँ हवाई सेवा अनिश्चित भएको थियो । पहिले हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो ।

त्यसैबीच, लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको राससले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो ।

सहमतिअनुसार तत्कालका लागि सातामा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो । तुलसीपुरदेखि काठमाडौँसम्म सिधा उडान हुने सहमति भएको पनि पाण्डेले जानकारी दिएका छन् । अहिलेलाई काठमाडौंबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको बताइएको छ ।

हाल दाङ—काठमाडौका लागि भाडा रु ६ हजार ६०० र काठमाडौ—दाङका लागि सात हजार भाडा तोकिए पनि दैनिक उडान भएपछि केही घट्ने बताइएको छ । पाण्डेका अनुसार अहिले भाडा यही तय भएको छ, यात्रुको चाप र उडान थपपछि केही थपघट हुन सक्छ ।

ज्ञात रहोस्, तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हुँदा पनि नियमित हवाई सेवा नहुँदा स्थानीयवासी नेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए ।