भूपू हवाइपेशाकर्मीहरुको भेला सम्पन्न

भूपू हवाइपेशाकर्मीहरुको भेला सम्पन्न


काठमाण्डौ । नेपालका भूपू हवाइपेशाकर्मीहरुले एक बृहत भेला गरी आफ्नो एउटा छुट्टै संगठन निर्माण गरेका छन् । “एभियसन भेटरानस् एसोसियसन, नेपाल” नाम दिइएको उक्त संगठनको उद्देश्य हवाइ यातायातका विविध क्षेत्रमा काम गरी अवकाश प्राप्त हवाइ पेशाकर्मीहरुबीच सुमधूर सम्पर्क, सम्बन्ध, सदभाव र सहयोगको वातावरण विकास गरी निजहरुले आफ्नो कार्यकालमा हासिल गरेको वौद्धिक, प्राविधिक तथा व्यवस्थापकीय अनुभव, दक्षता र सिर्जनशीलतालाई उपयोग गरी नेपालको हवाइ यातायात क्षेत्रको विकासमा सक्दो योगदान पुर्‍याउने वातावरण सिर्जना गर्न र निजहरुलाई संगठित रुपले रचनात्मक एवं जनहितकारी समाज सेवा कार्यमा अग्रसर हुन अभिप्रेरित गर्ने भन्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन एसिया प्यासिफिक क्षेत्रीय कार्यालयका पूर्व निर्देशक ललितबिक्रम शाह, सोही कार्यालयका पूर्व कम्युनिकेशन, नेभिगेशन तथा सर्भिलेन्स (सीएनएस) अधिकृत (हाल परामर्शदाता) कमलप्रसाद रिमाल, भूपू हवाइपेशाकर्मी तथा हाल संचार उद्यमी रामकृष्ण मानन्धरको विशेष उपस्थितिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सम्पन्न उक्त भेलाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्व सहसचिव हरिभक्त श्रेष्ठको अध्यक्षतामा एक सात सदस्यीय तदर्थ कार्य समिति पनि गठन गरेको छ । अन्य पदाधिकारीहरुमा महेश्वर श्रेष्ठ-महासचिव, कमला देउजा-कोषाध्यक्ष र सदस्यहरुमा राजेशराज दली, मोहन अधिकारी, प्रदीपनाथ शर्मा र मुकुन्द ज्वालानन्द राजोपाध्याय रहेका छन् । -काठमाण्डौं, मेस