नयाँवर्ष पश्चिमाको, मदिरा नेपालको

नयाँवर्ष पश्चिमाको, मदिरा नेपालको


अंग्रेजी नयाँवर्ष सन् २०१८ को अवसरमा आपसी शुभकामना आदानप्रदानका विभिन्न कार्यक्रम भइरहेका छन् । नयाँ वर्षको वहानामा पर्साको सीमासँग जोडिएका स्थानहरूमा घरेलु मदिराको बिक्रीवितरण बढेको छ । केही दिनयता भारतको विहारमा मदिरापान, बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि बिहारको सीमासँग जोडिएका पर्साको ग्रामीण भेगमा मदिरा पिउन आउने भारतीयका कारण असुरक्षा समेत बढेको छ ।

नेपालको सीमा क्षेत्रमा रहेका मदिरापसल समेत बिक्री बढेर भीडभाड चलेको छ । मदिरा पिउन आउने भारतीयले होहल्ला र झगडा गर्ने, सडक हिँड्ने युवती तथा महिलालाई जिस्क्याउने जस्ता अवाञ्छित गतिविधि गर्ने गरेका छन् ।

बिहारसँग सीमा जोडिएका पर्साको गाउँ र बजारमा दर्जनौँको संख्यामा अवैध रूपमा मदिरा तथा रक्सीभट्टीहरू सञ्चालनमा रहेका कारण महिलालाई बाटो हिँड्न र साँझ पर्नेवित्तिकै घरबाहिर निस्किनसमेत समस्या भइरहेको स्थानीयले बताएका छन् । नयाँवर्षको बहानामा ‘बोर्डर पार गरेर छिमेकी राष्ट्र बिहारका मान्छे रक्सी खान हाम्रो गाउँमा दुईदिन पहिलादेखि आइराछन्, रक्सी खाएर रातिसम्म होहल्ला गर्छन्’, विश्व गाविसकी कान्तिदेवीले भनिन्, ‘अचेल साँझ पर्ने बित्तिक्कै सडकमा हिँड्न त के घरबाट बाहिर निस्कन पनि डर लाग्छ ।’

बिहारमा त्यहाँको सरकारले मदिरा पिउन र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली गाउँ तथा बजारमा मदिरा पसल, रक्सी भट्टी र झुप्रे होटेलहरूको संख्या पनि बढेको छ । केही समय पहिला स्थानिय निर्वाचनको चहलपहल बढेसँगै पर्साको ग्रामीण भेगमा अबैध घरेलु मदिरा भट्टिहरू फस्टाएपछि पर्सा प्रहरीले ग्रामीण भेगमा रहेका घरेलु मदिरा भट्टी नष्ट गरेका थिए । तर अहिले सीमावर्ती क्षेत्रबाट भारततर्फ घरेलु र सिलबन्दी दुवै किसिमका मदिराको तस्करी पनि बढेको छ ।

बिहारसँग सीमा जोडिएका पर्साका विश्व, जानकीटोला, महादेवपट्टी, सुवर्णपुर, शंकरसरैयालगायत गाविसमा दर्जनौंको संख्यामा अवैध घरेलु रक्सी भट्टी सञ्चालनमा रहेको र त्यहाँबाट उत्पादित घरेलु मदिरा भारतका विभिन्न स्थानमा तस्करी हुँदै आएको स्थानीयले बताउँछन् । ‘बिहारमा प्रतिबन्ध लागेपछि यहाँ रक्सीको कारोबार बढेको छ’, उनले भने, ‘बिहारबाट रक्सी पिउनेहरू धेरै आउने गरेका छन्, तस्करी पनि भइरहेको छ ।’

रक्सी खान आउने भारतीयका कारण गाउँको वातावरण बिग्रिएको भन्दै स्थानीयले सीमावर्ती क्षेत्रका मदिरा पसल र भट्टी बन्द गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । स्थानीय स्तरमा गरीब तथा निमुखा विपन्न परिवरको आय आर्जनको श्रोतलाई नमारी विकल्प खोजेर मदिरा भट्टी तथा अवैध पसल बन्द गर्ने पर्साका सहायक जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्रतिबद्धता जनाएका छन् ।

– प्रणय साह