शान्ति समाजसँग जोडिँदा कानुमन्त्री गर्वित

शान्ति समाजसँग जोडिँदा कानुमन्त्री गर्वित


मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका पक्षमा मानव अधिकार तथा शान्ति समाजले अनवरत रुपमा गरेको योगदान महत्वपूर्ण रहेकोले शान्ति समाजसँग जोडिदाँ आफूलाई गर्वको अनुभूति हुने धारणा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले बताएका छन् ।

रौतहटको चन्द्रपुरमा आयोजित मानव अधिकार तथा शान्ति समाजको बीसौँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) को उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले शान्ति समाजले अवलम्बन गरेको नीति र सञ्चालन गरेको अभियान दुरदृष्टिसहित विश्व शान्तिका लागि समेत योगदान भएको बताए ।

उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २१ वर्ष अगाडीदेखि शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि र हिंसा, युद्ध विरुद्ध अभियान थालेको स्मरण गर्दै हालै सञ्चालित “युद्ध निषेध ः शान्ति विशेष” अभियान झनै महत्वपूर्ण भएको बताए । “मानव सभ्यताका लागि आणविक अस्त्ररहित विश्व” भन्ने मूल नारासहित शुरु भएको वार्षिक साधारणसभाको उद्घाटन सत्रमा सभापतित्व समाजका सभापति डा. गंगाधर अधिकारी, स्वागत रौतहट शाखाका सभापति तथा मूल तयारी समितिका संयोजक रविनचन्द्र कोइराला र सञ्चालन महासचिव उत्तम पुडासैनीले गरेका थिए।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका तर्फबाट रौतहट क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, चन्द्रपुर नगरपालिकाका मेयर प्रमुख) रामचन्द्र चौधरी, वृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादव, नेकपा एमालेका जिल्ला सचिव लक्ष्मण रेग्मी, एनेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एकराज थापा, राष्ट्रिय जनता पार्टीका महासचिव श्रीमन नारायण मिश्र, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य रेवन्त झा, समाजसेवी देवकी नेपाल र पत्रकार सञ्जय कार्की लगायतले शान्ति समाजले विगतमा गरेको योगदानको स्मरण एवं प्रशंसा गर्दै राष्ट्रिय परिषद् बैठकको सफलताको कामना गरेका थिए ।

उद्घाटन सत्रमा समाजका सल्लाहकार एवं पूर्वसभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति रेनुका पौडेल, अधिकारकर्मी प्रताप पौडेल लगायत वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए भने युवा कवि सुदेश सत्यालले बन्दको अपसंस्कृतिलाई ब्यङ्ग्य गर्दै कविता वाचन गरेका थिए ।

स्थानीय जनज्योति माविको खुल्ला मैदानमा भएको उद्घाटन सत्रमा स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरु, राजनीतिक समाज, नागरिक समाज, पेशाकर्मीहरु, युवाहरुसहित ५०० भन्दा बढी नागरिकहरुको सहभागिता रहेको थियो ।