जनमतविरुद्ध षडयन्त्र भएको भन्दै एमाले आक्रामक

जनमतविरुद्ध षडयन्त्र भएको भन्दै एमाले आक्रामक


जनमतविरुद्ध षडयन्त्र भएको भन्दै एमाले आक्रामक बन्दै गएको छ । वर्तमान सरकारले केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा आयो आयु लम्ब्याई जनमतविरुद्ध षडयन्त्र गरेको भन्दै एमाले आक्रामक बनेको हो ।

अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्,‘निर्वाचनमार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ, देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ त्यो हामीलाई सह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं ।’

ओली थपेका छन्,‘जनताहरुले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन् तसर्थ अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुनेछ ।’

एमालेले सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ,‘खासगरी संविधान कार्यान्वयनको मुल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए । जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन् । यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौंदेखि प्रतिक्षा गरेको विकास र समृद्धि सपना अब प्राप्ती हुने मार्गतिर हामी डोरिएका छौं । सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्राउन असफल प्रयास पनि भए ।’

यता, रक्षमन्त्री रक्षामन्त्री भिमसेनदास प्रधानले वर्तमान सरकार राष्ट्रिय सभा निर्वाचन लगत्तै सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताएका छन् ।

आज राजधानीमा भएको एक कार्यक्रममा रक्षामन्त्री प्रधानले र राष्ट्रिय सभा निर्वाचनलगत्तै सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताए । ‘संविधानले गरेको व्यवस्थाअनुसार राष्ट्रिय सभा निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउने स्पष्ट व्यवस्था गरेको छ,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनपछि मात्रै सत्ता हस्तान्तरण गर्छौं ।’

रक्षामन्त्री प्रधानले राष्ट्रिय सभाको निर्वाचनका विषयमा निर्वाचन आयोगसँग सरकारले परामर्श गरिरहेको र छिट्टै बस्ने मन्त्रीपरिषद बैठकले मिति तय गर्ने समेत प्रस्ट पारेका छन् ।