पृथ्वीनारायण शाहलाई बद्नाम गराउने विदेशी

पृथ्वीनारायण शाहलाई बद्नाम गराउने विदेशी


■ स्वयम्भुनाथ कार्की

नेपालको एकीकरणलाई अवमूल्यन गर्ने जमातले चर्को रूपमा पृथ्वीनारायण शाहलाई आततायी सावित गर्न प्रयोग गर्ने गरेको कुरा कीर्तिपुरेमाथि गरिएको भनेको कथित अन्याय हो । कीर्तिपुरको विजयपछि रिसले चुर भएर पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको नाककान काटेको कुरा उनीहरू अगाडि सार्ने गर्दछन् । नेपालको एकीकरणको अभियानमा उनले कीर्तिपुर मात्र सर (विजय) गरेका थिएनन् न त कीर्तिपुर पहिलो र अन्तिम नै थियो । यत्रा लडाइँमा अन्य ठाउँको विजयपछि त्यहाँको धार्मिक, आर्थिक तथा सामाजिक प्रणालीमा कुनै उल्लेख्य परिवर्तन गरेका थिएनन् बरु विद्यमान शासन व्यवस्थालाई चुस्त-दुरुस्त मात्र बनाएर त्यस स्थानका जनतालाई सकारात्मक परिवर्तनको स्वाद चखाएका थिए । सानो सीमित स्रोत भएको गोरखाले विजयउन्माद देखाउँदै गएको भए विजय स्थायी हुने थिएन । विभिन्न राज्यले अर्काको राज्य जित्ने र केही समयपछि त्यो राज्य गुमाउने गरेका घटना त्यस कालखण्डमा सामान्य थिए ।

सन् १७५७ मा गोर्खालीले पहिलोपल्ट कीर्तिपुरमा चडाइ गरे । त्यसबेला काठमाडौं खाल्डोका तीनै राज्य र नगरकोटी सैनिकहरूसमेत गोर्खालीमाथि खनिए । कान्तिपुरे राजा जयप्रकाश मल्लको नेतृत्वमा गोर्खाली हारेपछि सीधा लडाइँबाट मात्र काठमाडौं उपत्यका सर नहुने देखेर वरिपरिका राज्य अधीन गरेर नाकाबन्दी गर्ने काम १७५९ देखि पृथ्वीनारायण शाहले सुरु गरे । तर, त्यो काम अधकल्चो हुँदै भाइ शुरप्रतापको जिद्दीले १७६४ मा उनैको नेतृत्वमा कीर्तिपुर हान्न अनुमति दिन कर लाग्यो । यसपटक कीर्तिपुरले अरू मल्लराजाको सहयोग पाएन तैपनि कीर्तिपुरेको सुरता र शुरप्रतापको अकुशलताले गोर्खाली फौजभित्रै मच्चिएको कलहले गोर्खालीले अर्कोपल्ट हार खाए ।

घेराबन्दी पूरा भएपछि काजी वंशराज पाण्डेको नेतृत्वमा कीर्तिपुरमा घेरा हालियो । मल्ल राजाहरूलगायत कलकत्ता कौन्सिलका गभर्नरसँग पनि सहयताको याचना पठाउँदा पनि कीर्तिपुरले सहायता पाउन सकेन । करिब छ महिनाको घेराबन्दीले कीर्तिपुरको मनोबल तोडिइसकेको थियो । काजी वंशराज पाण्डेले उचित अवसर देखेर नुवाकोट मुकाम गरेका पृथ्वीनारायण शाहको अनुमतिले र्समर्पण गरेमा अभयदान दिने सन्देश पठाए । यसलाई तत्कालीन कीर्तिपुरे जिम्मेवारले १७६६ मा बिनालडाइँ आत्मर्समर्पण गरे । यसरी दुईपटक क्षति व्यहोर्नुपरेको गोर्खालीले बिनालडाइँ कीर्तिपुरमाथि अधिकार गरे । यो दखलको सात महिनापछि मात्र पृथ्वीनारायण शाहले कीर्तिपुरमा प्रवेश गरे अनि त्यहाँको रीति-रिवाज पुनर्स्थापना गरे । यस्तो परिस्थितिमा कीर्तिपुरेको नाककान काट्ने आदेश दिने आवश्यकता नै किन पर्‍यो र ? के यो घटना साँच्चै भएको थियो ? यस्ता प्रश्नको उत्तर खोज्न यो कुरा कसले उठायो त्यो खोज्न जरुरी छ ।

नेपालमा पादरीहरूको उपस्थिति धर्मप्रचारको निमित्त मात्र नभएर बेलाइती साम्राज्य फैलाउने पनि थियो । यो कुरा कलकत्ता कौन्सिलसँग मत माग्ने प्रकरणमा उनीहरूको हस्तक्षेपकारीसम्मको भूमिकाले प्रस्ट भइसकेको थियो ।

पहिलोपल्ट यो कुराको उल्लेख कीर्तिपुर दखल भएको पच्चीस वर्षजति पछि पादरी जोसेप्पीले लण्डनमा प्रकाशित ‘एसियाटिक रिसर्सेज’मा कीर्तिपुर विजयपछि कीर्तिपुरेको नाक-ओठ काट्न लगाएको र बस्तीको नाम बदलेर नसकटापुर राखेको कुरा लेखेका छन् । (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी, दोस्रो संस्करण पृ. ५२९) घटनाको तेइस वर्षपछि नेपाल आएको कप्तान कर्क प्याटि्रकले नेपाल आएको अठार वर्षपछि लेखेको ‘नेपाल वर्णन’मा आफ्ना भरियाले भनेको भनेर लडाइँमा समातिएका सबै पुरुषको नाक काट्न लगाएको कुरा लेखेका छन् । कीर्तिपुर दखल लडाइँबाट नभई चातुर्यले दखल गरेकोले लडाइँमा कोही समातिन सम्भव नै छैन । यसै कुरालाई आधार बनाउँदै करिब एक शताब्दीपछि खरिदार बुद्धिमान सिंहले नाक काटेको र त्यसको तौल सत्र धार्नी एक सेर भएको कुरा लेखेका छन् ।

पादरी जोसेप्पीले उक्त कुरा किन लेखे त- यो झन् रोचक कुरा छ । मल्ल राजाको समयमा पादरीहरूलाई सुविधा दिएर इसाई धर्म प्रचारको निमित्त काठमाडौं उपत्यका भित्र्याइएको थियो । काठमाडौं उपत्यका सर गरिसकेपछि त्यहाँ रहेका पादरीहरूलाई, जसमा जोसेप्पी र माइकल एन्जिलो प्रमुख थिए आफ्नो राज्यबाट निकाले । यो काम युवराज प्रतापसिंह शाहबाट गराइयो । माइकेल एन्जिलो ओखती गर्न निपुण थिए र युवराजलाई आफ्नो यो गुणको कायल पनि गराएका थिए । तर, नेपालमा पादरीहरूको उपस्थिति धर्मप्रचारको निमित्त मात्र नभएर बेलाइती साम्राज्य फैलाउने पनि थियो । यो कुरा कलकत्ता कौन्सिलसँग मत माग्ने प्रकरणमा उनीहरूको हस्तक्षेपकारीसम्मको भूमिकाले प्रस्ट भइसकेको थियो । यसैले बाबुको आज्ञा मान्न प्रतापसिंहलाई गाह्रो भएन । राम्रो मुखले उनले इसाई बनेका बैसठ्ठीजना र धनमालसमेत लैजान उनले अनुमति दिए । नेपालबाट गएका इसाईहरू बेतियाको चुरी भन्ने स्थानमा बसे ।

अब नेपालबाट निर्वासित हुनुपरेको पीडाले पादरी जोसेप्पीलाई पृथ्वीनारायण शाहप्रति पूर्वाग्रही बनाएको भए त्यो स्वाभाविक प्रतिक्रिया हुने थियो । कीर्तिपुरको नाम नसकटापुर कहिल्यै नभएको कुरा प्रमाणित गर्न स्वयम् पृथ्वीनारायण शाहले कीर्तिपुर मुकाम गरेर लेखेका आदेश, रुक्काहरूमा नसकटापुर नलेखी कीर्तिपुर नै लेखेका छन् । विजय गरेको कुनै स्थानमा गोर्खालीको रीतिरिवाज र नाम थोपर्नुको साटो त्यहीँको परम्परागत रीतिरिवाज कायम राखेको पाइन्छ । कीर्तिपुरसँग मात्र रिस उठ्नुको कुनै कारण भेटिँदैन, बरु आफूलाई निकालेको रिसले चुर भएर जोसेप्पीले पृथ्वीनारायण शाहको बद्नाम गर्ने उद्देश्य प्रस्ट देखिन्छ ।