छिमेकीले नेपालमा क्षमतावान प्रधानमन्त्री खोज्नु अस्वाभाविक होइन-राम कार्की (नेता, एनेकपा माओवादी)

छिमेकीले नेपालमा क्षमतावान प्रधानमन्त्री खोज्नु अस्वाभाविक होइन-राम कार्की (नेता, एनेकपा माओवादी)


० एकीकृत नेकपा माओवादीभित्र प्रचण्ड र बाबुरामबीचको ध्रुवीकरण निकै चर्किएको देखिन्छ । यो आन्तरिक किचलोले पार्टी र देशलाई कहाँ पुर्‍याउला –
– कम्युनिस्ट पार्टीभित्र विवाद र वैचाररिक सङ्घर्ष भएन भने त्यसको गति अवरुद्ध हुन्छ । कोरियाको पार्टीमा मतभेद भएको कुरा कहिल्यै बाहिर आउँदैन । तर, त्यसलाई हामी क्रान्तिकारी पार्टी पनि मान्दैनौँ । त्यसैले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी जसले माक्र्सवादलाई राम्रो अध्ययन गरेको छ, त्यहाँ वैचारिक सङ्घर्ष हुन्छ । त्यो त्यतिबेला तीव्र हुन्छ जब त्यस पार्टी गतिमा हुन्छ । केही नगरी बस्ने हो भने क्लब खालको कचिङ्गल मात्र हुन्छ । वैचारिक रूपमा तीव्र गतिमा अघि बढ्दा समस्या र विवादहरू आउँछ, तर त्यसलाई नेतृत्वले सही ढङ्गले म्यानेज गर्न सक्यो भने कम्युनिस्ट पार्टीले गरिखान्छ र गर्न सकेन कम्युनिस्ट पार्टी टुटफुटको दिशामा जान्छ । यो निश्चित छ ।
० तपाईंले भनेजस्तै माओवादीभित्रको वैचारिक सङ्घर्ष पनि पार्टी टुट्ने सङ्केत त होइन –
– होइन, त्यस्तो हुँदैन । हामी त्यसरी कुनै पनि नेतालाई फुट्न दिँदैनौँ । जति पनि विवाद र वैचारिक मतभेद छन् त्यसलाई हामी मिलाउने कोसिस गर्छौं ।
० यहाँले भनेजस्तै गतिशील पार्टीमा बहस र छलफल हुनु स्वाभाविकै हो र हुन्छ पनि, तर यसपटकको विवादले त चर्को रूप लियो नि होइन –
– आँखा, कान, नाक सधैं बाहिर नै हुन्छ । यसलाई सबैले देख्न सक्छन् । त्यसको चर्चा त्यति हुँदैन । तर, हामीले ढाकेर हिँड्ने कुनै अङ्ग देखाएर हिँड्यो भने त्यसको बढी चर्चा हुन्छ । त्यस्तै नेपाली काङ्ग्रेस, एमालेलगायत अन्य पार्टीहरूमा वैचारिक बहस हुँदैन । उदारणका लागि एमाले महाधिवेशनलाई लिँदा हुन्छ, त्यहाँ विचारको लडाइँ नभई व्यक्तिको लडाइँ भएको थियो । तर, माओवादीमा वैचारिक सङ्घर्ष तीव्र रूपमा छ । हिजो हामी युद्धको समयमा हुँदा धेरै कुरा बाहिर आउँदैनथ्यो र सार्वजनिक पनि हुँदैनथ्यो । तर, अहिले हामी सार्वजनिक जीवनमा हुँदा पहिले बाहिर नआएका कुरा अहिले बाहिर आउँदा मानिसलाई अलि अस्वाभाविक लागेको मात्र हो । यस्तो बहस हुनु नराम्रो होइन भन्ने लाग्छ ।
० माओवादीको छैटौँ विस्तारित बैठकताका पार्टीभित्र कायम दुई लाइन एक्कासि तीन लाइन देखिएको थियो, फेरि दुई लाइनमा सीमित भएको छ, किन यसरी लाइन परिवर्तन भइरहन्छ माओवादीभित्र –
– हो, पार्टीभित्र दुई लाइन, तीन लाइनका कुरा आएको थियो र देखियो पनि । यथार्थमा पार्टीभित्र दुई लाइन हुन्छ । त्यो भनेको सही लाइन र गलत लाइन । तर, कहिलेकाहीँ आधा सही लाइन पनि देखापरेका छन् । यो त हामीले आफ्नो पार्टीपङ्क्तिमा छलफल गर्छौं । सार्वजनिक रूपमा चाहिँ भोलि इतिहासले प्रमाणित गर्ला कुन लाइन सही थियो कुन गलत भनेर ।
० माओवादीभित्र देखापरेका लाइनहरूमध्ये सही लाइन, गलत लाइन र आधा सही लाइन कुन-कुन हो, स्पष्ट पार्नुस् न –
– माक्र्सवादी लाइन सही क्रान्तिकारी लाइन हुन्छ, अर्को गैरमाक्र्सवादी लाइन वामखोल ओढेर आउँछ । वामखोल ओढेर दक्षिणपन्थी लाइन पनि माओवादी आन्दोलनमा देखापर्ने गरेको छ । तर, विश्वस्तरमा हेर्दा दक्षिणपन्थी लाइन नै प्रमुख खतराको लाइन रहेको छ । तर, क्रान्तिकारी लाइनविरुद्ध दक्षिणपन्थी लाइन आउँछ । त्यो कुन आवरणमा आउँछ भन्न सकिँदैन । आधा लाइन भनेको मध्यपन्थी लाइन हो । जो यता र उताको कुरा बटुलेर बीचको कुरा गर्छ । सही र गलत कुराको बीचमा समन्वय गराउन खोज्छ, सही र गलत दुवैलाई एकसाथ लिएर हिँड्न खोज्छ । त्यसलाई चाहिँ हामीले आधा लाइन भन्ने गरेका हौँ ।
० यसमा माओवादीभित्रको कुरा गर्नुपर्दा बाबुरामले लिएको लाइन सही लाइन, वैद्यले लिएको लाइन गलत लाइन र प्रचण्डले दिएको लाइन आधा लाइन हो भन्दा हुन्छ –
– त्यो त अब एउटा स्वतन्त्र सञ्चारकर्मीले जे बुझ्नुहुन्छ त्यसलाई स्वतन्त्र ढङ्गले नै अभिव्यक्त गर्न पाउनुहुन्छ । हामीले सार्वजनिक रूपमा भन्दा पनि पार्टीको फोरमभित्र आफ्ना मतहरू राख्छौँ, पार्टीभन्दा बाहिर अमुक व्यक्तिको लाइन सही र गलत भन्न मिल्दैन । अफिसियल जुन लाइन हुन्छ हामी त्यो लाइनलाई कार्यान्वयन गराउन अघि बढ्छौँ । र, त्यो अफिसियल बन्न सकेन भने त्यसको सुरक्षामा ध्यान दिन्छौँ ।
० अहिले माओवादी कसको लाइनमा चलेको छ –
– अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको लाइन नै अफिसियल लाइन बनेको छ । तर, हामीले बुद्धि पुर्‍याउनुपर्ने कुरा कहाँँ छ भने जुन लाइन अल्पमतमा परेको छ या अफिसियल बन्न सकेको छैन त्यसका बाहकहरूको मर्म बचाउन र उनीहरूलाई सुरक्षा दिन सकियो भने पार्टी बचाउन सकिन्छ । अल्पमतमा परेका लाइनलाई र तिनका पक्षधरहरूलाई महत्त्व नदिने, स्थान नदिने, भूमिका नदिने, अपमानित गर्ने काम गरियो भने पार्टी अघि बढ्न सक्दैन, बरु तहसनहस हुन्छ ।
० पार्टीभित्र फरक मत राख्नेको पोजिसन कस्तो छ –
– हामीले पालुङटारलगायत अन्य स्थानमा देखापरेका तीनमध्ये दुई लाइन एक हुनेबित्तिकै बहुमतको लाइन हुन्थ्यो । कुनै एक लाइनको मात्र बहुमत थिएन, सङ्ख्याको हिसाबमा हेरर््दा । तर, सत्यलाई सङ्ख्याले काउन्ट गर्दैन । कहिलेकाहीँ सत्य अल्पमतमा पर्छ । त्यसैले कम्युनिस्ट पार्टीहरूलाई सत्यको अन्वेषण गर्ने कुरा हो भन्ने र बुझ्ने हो भने सही हुन सक्छ । तर त्यसलाई व्यक्तिको रूपमा मात्र बुझेर गइयो भने समस्या सिर्जना गर्छ ।
० उपाध्यक्ष बाबुराम भट्टराईमाथि भएको पटके कारबाहीलाई चाहिँ कसरी लिनुहुन्छ ?
– बाबुराम भट्टराई कमरेड पहिले पनि कारबाहीमा पर्नुभएको हो तर, पछि पार्टीले नै उहाँलाई गरेको कारबाही गलत रहेको निष्कर्ष निकाल्दै फिर्ता लिएको हो । त्यसैले हामीले यो नजिरलाई पनि ध्यान दिनुपर्छ । फरक विचार राख्नेबितिकै कसैलाई कारबाही गरिहाल्ने, कुनै भूमिका नै नदिने हो भने त्यो पार्टी अघि बढ्न सक्दैन । त्यसैले पार्टी यस्ता अनावश्यक र औचित्यहीन कुरामा लाग्नु हुँदैन भन्ने हो । यी सबै कुराको छिनोफानो आमकार्यकर्ताले गर्ने कुरा हो । सहीलाई सही गलतलाई लगत भन्न सबैले पाउनुपर्छ । यति भन्दैमा कसैले कसैलाई कारबाही गर्न खोज्छ भने त्यो मूर्ख्याइँबाहेक अरू हुँदैन ।
० तपाईंका पार्टीअध्यक्ष प्रचण्डलाई अवसरवादी र ढुलमुले नेता हुन्, कहिले बाबुराम त कहिले वैद्यको काँध चढेर पार्टी नेतृत्वमा रहेका छन् भन्नेहरूलाई के जवाफ दिनुहुन्छ –
– अध्यक्षले वैद्य र बाबुरामको धारलाई सन्तुलन गर्छर्ुुमिलाएर लैजान्छु भन्नुभएको छ । उहँँसँग पनि क्षमता-योग्यता नभएको भए त यत्रो पार्टीको नेता हुन सक्नुहुन्थेन होला । म यसबारेमा यति मात्र भन्छु ।
० माओवादीलाई नजिकबाट बुझ्नेहरूले यो पार्टीभित्र चीनलाई समर्थन गर्ने र भारतप्रति उदार हुने गरी दुई लाइनको तीव्र विकास भएको छ पनि भन्छन्, यो यथार्थ हो –
– ४० फुटको बाटो र समाजवादको फराकिलो मार्गबीच साटासाट हुँदैन । समाजवादको क्षतिपूर्ति ४० फुटको बाटोले पूरा गर्न सक्दैन । हाम्रो अफिसियल धारणाअनुसार चीनमा प्रतिक्रान्ति भइसकेकोले त्यसलाई राजकीय एकाधिकारको पुँजीवाद भन्ने र त्यस्तै भारतलाई विस्तारवाद भन्छौँ । तर, यी दुवै हाम्रा छिमेकी हुन् । यी दुवैसँग मित्रता कायम गर्नु नै पर्छ । हामी मित्र परिवर्तन गर्न सक्छौँ तर छिमेकी परिवर्तन गर्न सक्दैनौँ । त्यसैले चीन र भारतसँग मित्रता र सहअस्तित्वको सिद्धान्तबमोजिम काम गर्नुपर्छ । त्यसो गर्नका लागि भारतलाई देखाएर चीनसँग बार्गेनिङ गर्ने अनि चीनलाई देखाएर भारतसँग बार्गेनिङ गरेर राजनीति गर्न खोजियो भने देशकै लागि घातक हुन्छ ।
० माओवादीको नेतृत्वमा सरकार भएको बेला एकताका माओवादीले त्यस्तै गर्न खोजेको थियो, होइन ?
– हाम्रो पार्टीको नेतृत्वलाई म त्यसो त भन्दिनँ । तर के हो भने, कूटनीतिको सञ्चालनमा हामी अपरिपक्व नै देखिएका हौँ । किनकि कहिलेकाहीँ हामी राजनीति र कूटनीतिलाई छ्यासमिस पारिदिन्छौँ । कूटनीतिलाई विशिष्ट ढङ्गले परिचालन गर्नुपर्ने हुन्छ । त्यसलाई विशिष्ट ढङ्गले परिचालन गर्न सकिएन भने देशले मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले त्यो अपरिपक्वता हाम्रो पार्टीमा रहेको छ । अब अरू पार्टी त ढाड नभएका पार्टी परे । खालि शक्तिराष्ट्रको आड लिएर नेतृत्व लिने खोज्ने । हामीले पनि अन्य पार्टीहरूलाई लिएर राष्ट्रिय नीति बनाउन पहल गर्नुपथ्र्यो, त्यो सकिएन । नेपालको राष्ट्रिय हितहरू के-के हुन् भनेर नेपालको मेजर पार्टीहरूलाई एक स्थानमा ल्याएर छलफल गरी साझा बिन्दु पत्ता लगाएर हामी अघिबढेको भए सफल हुने थियौँ । त्यसो गर्न सकिएको छैन । यस विषयमा हामीले महत्त्वपूर्ण मूल्य चुकाएका छौँ, यसबाट पाठ सिकेर अघि जानुपर्छ ।
० यतिबेला बाबुराम भट्टराईलाई चीनले त्यति पत्याएको देखिँदैन भने भारतले प्रचण्डलाई विश्वास गरेको देखिँदैन, यसले के जनाउँछ –
– त्यो सत्य होइन । तपाईंले जो-जो नेताका नाम लिनुभयो, ती दुवै नेताप्रति दुवै देशका नेतृत्वमा रहेका मानिसको समान धारणा रहेको पाउँछौँ हामी ।
० एमाओवादीभित्र प्रचण्ड र वैद्यका अनुयायीहरूले बाबुरामलाई भारतपरस्त नेताको रूपमा आरोप लगाउँदै आएकाचाहिँ किन होलान् नि ?
– प्रचण्ड र वैद्य कमरेडले त्यस्तो भन्नुभएको छजस्तो मलाई लाग्दैन । तर, प्रचण्डले एकपटक ‘भारतले कहिले मलाई प्रधानमन्त्री बनाउन चाहन्छ कहिले बाबुरामलाई’ भन्नुभएको थियो । त्यस विषयमा उहाँले खण्डन गर्दै थप स्पष्ट पनि पारिसक्नुभएको छ । तर, एउटा कुरा के हो भने, कुनै मानिसलाई भारतपरस्त भन्यो भने, उपद्रो रूपमा भारतको विरुद्धमा बलेर आफूलाई राष्ट्रवाद बनाउन खोजेर मात्र हुँदैन । यहाँ पनि प्रजातन्त्रको अपहरण गरेपछि मण्डलेहरूले प्रजातन्त्रको समर्थनमा जति पनि काम हुन्थ्यो त्यसलाई अराष्ट्रिय तत्त्व भन्थ्यो । कुनैबेला बीपीलाई अराष्ट्रिय तत्त्व भने, पुष्पलाललाई गद्धार भने, तर इतिहासले के सावित गर्‍यो ? यो हामीले कहिल्यै भुल्नु हुँदैन । यहाँ बाबुरामजीलाई पनि यस्ता धेरैखालका आरोप लाग्ने गरेका छन्, तर बाबुरामले निरन्तर रूपमा एउटै कुरा गरिरहनुभएको छ कि हामीभन्दा धेरै गुणा बलियो छिमेकीलाई उत्तेजित पार्नु हँुदैन । उहाँले आफूलाई राष्ट्रवादी देखाउनकै निम्ति कुनै ठूलो पत्रिकामार्फत उत्ताउलो कुरा गर्नुभएको छैन ।
० यसको मतलब उहाँले लिएको विचार ठीक छ, उहाँमाथि लगाइएको आरोप निराधार हो –
– आरोप कसले लगायो यो महत्त्वपूर्ण कुरा होइन । बाबुरामले लिएको विचार र गरेका कुरा सही हो कि होइन भन्ने हो । मैले भने नि पुष्पलाईलाई ३०औँ वर्षसम्म गद्धारको गद्धार भनियो, आरोप र गालीले नै सकिने भए पुष्पलाल उहिले नै सकिन्थे । तर, देखियो ०४६ सालमा त्यही पुष्पलालले अख्तियार गरेको बाटोबाट अघि बढ्दा क्रान्ति सफल भयो । र, ०६२/६३ मा पनि त्यही पुष्पलालले देखाएको नीतिअनुसार कम्युनिस्ट र काङ्ग्रेस एक हुँदा नै आन्दोलन सफल भएको हो । त्यसैले कसैले आरोप लगाएका छन् भने ती उसले आफ्नो मन बुझाउन आरोप लगाएको हुन सक्छ, हामी त्यता जानु हुँदैन ।
० भारतले नेपालमा हस्तक्षेपकारी देल खेलिरहेको रहेनछ भनेर भर्खर भारत भ्रमण सकेर नेपाल र्फकनुभएका माओवादी नेता बाबुरामले भन्नुभयो, यो पार्टीले देखाउँदै आएको लाइनविपरीत भएन –
– उहाँले यसो भन्नुभएको हो- ‘भारतीय नेताहरूले पनि रियलाइज गरेछन् कि कतै नेपालप्रति भारतले लिएको नीति हस्तक्षेपकारी नीति त थिएन ? कतै यो पछि भारतकै निमित्त प्रत्युत्पादक हुने त होइन ? भन्ने कुराको रियलाइज गरेछन्’ भन्नुभएको हो । उहाँसँग भारतका महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले भेटमा त्यस्ता कुरा गरेछन् । उहाँको अभिव्यक्ति त्यो हो, यसलाई अन्यथा नबुझौँ ।
० तपाईं इमान्दारीका साथ भन्नुस् त, भारत नेपालका लागि सहयोगी छिमेकी हो कि शङ्कास्पद –
– हाम्रोसामु दुईवटा भारत छ । भारतमा एकथरी नेपाल स्वाधीन र समृद्ध बनोस् भन्ने चाहना राख्ने व्यक्ति छन् । नेपालको विकास र प्रगतिलाई अघि बढाउनका निम्ति आफ्नो ज्यानै दिन या सबै र्समर्पण गर्न तयार भारतीयहरू पनि छन् । हामीले भर्खर जनयुद्ध सुरु गरेको बेलामा पनि भर्खरका कलिला भारतीय डाक्टरहरू आएर उपचार गरेका थिए । सहिद राजमार्ग खन्ने कार्यमा सहयोग गर्न आएका थिए । किनकि उनीहरू नेपालमा स्थायित्व र विकास चाहन्छन् । अब भारतको ब्युरोक्रेसीमा औपनिवेशिक विचार बोकेकाहरू पनि छन् । हामी त्यस्तो नीतिको विरोध गर्छौं । तर, त्यसको विरोध गर्दा पनि हामीले भारतीय जनताको समर्थन त लिनुपर्छ । किनकि नेपालप्रति प्रगतिशील विचार भएका भारतीय जनताको समर्थनबिना हामी स्वाधिन बन्न सक्दैनौँ ।
० प्रसङ्ग बदलौँ, संसद्को हिउँदे अधिवेशनले मुलुकलाई नयाँ प्रधानमन्त्री दिन सक्ला –
– राजनीतिक भविष्यवाणी गर्न त सकिँदैन, तर नेताहरूलाई जनदबाव दिनैपर्ने भएको छ । व्यापक जनदबाब भयो भने सम्भव छ । जनताले पार्टीलाई जिम्मा दिएर पन्छिन मिल्दैन । पार्टीका नेताहरू पुरानै खेलमा रुमलिइरहेका छन् । यहाँ पार्टीका नेताहरूको कुरा नमिलेर सहमति हुन सकेन भन्ने हामी सुन्छौँ । तर, मलाई के लाग्छ भने यहाँ कुरा नमिल्नुमा पार्टीका नेताहरूको जीवनशैली एउटै भयो । पार्टी वा सिद्धान्त फरक छ तर संस्कारले दिएको संस्कृति र जीवनशैली एकै छ । यसले अप्ठ्यारो पारेको छ । म अलिक त्याग गर्छर्ुुनेर कसैले भने सहमति हुन सक्छ । यसमा यो या ऊ भन्ने होइन ।
० माओवादीले सरकारको नेतृत्व गर्न पायो भने अध्यक्षबाहेकका नेताको सम्भावना कति छ –
– माओवादीबाट धेरैपटक निर्णय हुँदै परिवर्तन पनि हँुदै आएको छ । हामीले एकपटक अध्यक्षको नेतृत्वमा सरकारमा बनाउने पनि भन्यौँ, फेरि होइन अध्यक्षबाहेकका नेताको नेतृत्वमा सरकारमा जाने भन्यौँ, फेरि अध्यक्ष प्रचण्डको नेतृत्वमा नै सरकार बनाउनुपर्छ भनेर निर्णय गर्दै र फेर्दै आएका छौँ । तर, जसको नाममा सहमति हुन्छ उसैको नेतृत्वमा सरकार बनाउनुको विकल्प छैन ।
० सहमतिको आधार खोज्दा को फेलापर्ला त –
– यस विषयमा तपाईंले सामान्य मानिलाई सोध्नुभयो भने पनि जवाफ पाउनुहुन्छ, मैले बताइरहनु पर्लाजस्तो लाग्दैन ।
० दलहरूबीच आन्तरिक सहमति हुन सके माओवादीको नेतृत्व पनि भारतलाई मान्य हुने भन्ने नेता बाबुरामको भनाइले के सङ्केत गर्छ ? आफू भए भारतलाई पनि स्वीकार्य हुन्छ भन्न खोजेको हो –
– भारत होस् या चीन, उनीहरू शक्तिमा छन्, स्थायी विकास र प्रगतिमा छन् । त्यसैले आफ्नै स्वार्थका लागि नेपालमा पनि स्थायित्व चाहन्छन् । नेपाल अशान्तिको अन्त्यहीन चपेटामा पर्दा उनीहरूलाई पनि घाटा छ जो खपिरहन उनीहरू चाहन्नन् । यसका लागि उनीहरूले पनि नेपालमा क्षमतावान नेता खोज्न सक्छन् ।

भारतको टाउको नेपाल : अशोक मेहता
भारतीय सेनाका पूर्वजनरल अशोक मेहता नेपालसम्बन्धी विशेषज्ञ मानिनुहुन्छ । नेपाली भाषामा प्रस्ट रूपमा बोल्ने मेहता नेपालको राजनीति र सुरक्षाको बारेमा विशेष चाख राख्नुहुन्छ । नेपालका सबै नेतालाई व्यक्तिगत रूपमा चिन्ने र सञ्चारमाध्यममा प्रस्ट आफ्नो कुरा राख्ने मेहता तीन ठूला पार्टीहरू मिले नेपालको समस्या समाधान हुने विश्वास गर्नुहुन्छ । नयाँदिल्लीमा रहँदा ऋषिकुमार धमलाले घटना र विचार साप्ताहिकका लागि जनरल मेहतासँग गर्नुभएको कुराकानीको मुख्य अंशः
० दिल्ली सम्मेलनले के सन्देश दियो त ?
– यो सम्मेलनको उद्देश्य भनेको नेपालका राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरू जसले काठमाडौंमा सबै कुरा खुलेर आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । उनीहरूका लागि निर्भीक भएर कुरा राख्ने फोरम उपलब्ध गराउनु हो । सँगसँगै भारतले पनि नेपाली नेता र नागरिकको वास्तविक चाहना बुझ्न सक्छ भन्ने नै हो । यो फोरममा नेपालका नेताले नेपालमा बोल्न नसकेको कुरा यहाँ खुलेर राखेका छन् । बन्द कोठाभित्र नेताहरूले आफ्नो भावना पोखेर समाधानका उपायहरू पनि खोजे ।
० के पाउनुभयो त तपाईंले नेपाली नेताहरूको कुरा सुनेर ?
– खासै नयाँ कुरा छैन । मजस्तो मान्छे जसले नेपाललाई दिनहुँ सञ्चारमाध्यमबाट हेरिरहेको छु । नेपाललाई बुझिरहेको छु, त्यस्ताका लागि नयाँ कुराहरू केही भएनन् । कुरा पुरानै छ । तर, नेताहरूले दिल खोलेर बोले । योचाहिँ खुसीको कुरा हो ।
० नेपालको समस्या समाधान गर्न दिल्लीको मध्यस्थता आवश्यक ठान्नुहुन्छ ?
– दिल्लीले मात्रै केही सुझाव दिन सक्छ । दिल्लीको निर्देशन आवश्यक छैन । माओवादी र भारतको बीचमा अहिले विवाद छ, यस्तो अवस्थामा दिल्लीले सुझाव मात्रै दिनुपर्छ । बाह्र बुँदे समझदारीबाट सुरु भएको शान्तिप्रक्रिया भारतको सहयोगबाट मात्र निष्कर्षमा पुग्न सक्छ ।
० नेपालमा नयाँ सरकार कहिलेसम्म बन्ने अनुमान गर्नुभएको छ ?
– यो कुरा पशुपतिनाथलाई सोध्नुपर्छ वा र्स्वर्गद्वारी जानुपर्छ वा मनकामना माताकहाँ गयो भने थाहा हुन्छ ।
० भनेपछि अहिले पनि तपार्इंले सरकार बन्ने सम्भावना देख्नुभएको छैन ?
– मैले देखेको छुइनँ । जबसम्म एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेभन्दा बाहिर नेतृत्व खोजिँदैन तबसम्म नयाँ सरकार बन्ने सम्भावना म देख्दिनँ ।
० बाहिर कसलाई देख्नुहुन्छ, सरकारको नेतृत्व गर्न सक्ने व्यक्ति ?
– नाम लिन अप्ठ्यारो छ । तर, मधेसको नेतालाई प्रधानमन्त्री बनाउन सकिन्छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि बन्न सक्छन् । दलभित्रबाट भएन भने बाहिर पनि खोज्नुपर्छ ।
० ठूला पार्टी हुँदाहुँदै मधेसवादी दलबाट प्रधानमन्त्री सम्भव छ ?
– किन हुन सक्दैन । उपप्रधानमन्त्री त अहिले पनि मधेसकै हुनुहुन्छ । विजयजी प्रधानमन्त्री बन्न नसक्ने आधार के छ ?
० झलनाथ खनाल पनि प्रधानमन्त्री बन्ने तयारी गर्दै हुनुहुन्छ नि त ?
– प्रधानमन्त्री जो बन्दा पनि भारतलाई आपत्ति छैन । तर, शान्ति र संविधानको सुनिश्चित गर्ने व्यक्ति चाहियो । नेपालमा भारतसँग राम्रो सम्बन्ध भएको नेताले मात्रै प्रधानमन्त्री चलाउन सक्छ ।
० प्रधानमन्त्रीका लागि डा. बाबुराम भट्टराईको सम्भावना देख्नुहुन्छ ?
– यो त नेपालको संसद्मा रहेका दलहरूलाई नै थाहा होला । सबैको सम्भावना छ, जो पनि बन्न सक्छ । तर, सहमतिको प्रधानमन्त्री बनाउनु नेपालको हितमा हुन्छ ।
० जेठ १४ पछि संविधानसभाको म्याद फेरि थप्नुपर्छ वा विघटन गर्नुपर्छ, के हो तपाईंको धारणा ?
– भारतले र भारतीय सरकारले सोच्ने कुरा होइन । यो विषय नेपाली जनता, दल र सरकारले सोच्ने कुरा हो ।
० नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप छ भनिन्छ नि, तपाईंलाई के लाग्छ ?
– सन् १९५० देखि अहिलेसम्मको इतिहास हेर्ने हो भने नेपालको आन्तरिक मामिलामा भारतको चासो छ, त्यो स्वाभाविक हो । त्यसलाई हस्तक्षेप वा जेसुकै भनियोस् । एसियाको नक्सा हेर्नुस्, नेपाल भारतको टाउको हो । भारतको नक्सा हेर्नुस् शरीर हो नेपाल टाउको हो । सबै कुरा टाउकोबाट परिचालित हुन्छ । त्यसकारणले नेपालमा केही भयो भने भारतलाई असर पर्छ । त्यसैले पनि चासो स्वाभाविक हो । यस अर्थमा नेपालमा जुन सरकार बने पनि त्यसले भारतको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ ।
० राजनीतिक मामिलामा तपाईंहरू सीधै हस्तक्षेप गर्नुहुन्छ भन्ने आरोप छ नि ?
– राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप गरेको छैन । सुरक्षाको चासोले मात्रै हामीले नेपाललाई नजिकबाट नियालेका छौँ ।
० नेपालमा तपाईंहरूको पहिलो चासो के हो ?
– पहिलो हाम्रो चासोको विषय भनेको सुरक्षा हो । त्यसपछि आर्थिक स्थायित्व हाम्रो चासो हो । नेपालमा राजनीतिक क्रान्ति त पटक-पटक भयो तर आर्थिक क्रान्ति कहिले पनि भएन । नेपालमा चीन र भारतको सहयोगमा ठूलो आर्थिक क्रान्तिको सम्भावना छ तर किन त्यहाँका नेताहरूले कहिल्यै किन नसोचेको ? नेपालमा आर्थिक क्रान्ति नभएसम्म राजनीतिक स्थायित्व हुन सक्दैन । त्यसैले पनि यी विषयमा हाम्रो चासो सधैं रहिरहन्छ ।

मन्त्रीका पियन र प्रहरीका जवानले गरे त त्यो घोटाला ?-राजेन्द्रबहादुर सिंह, पूर्वएआईजीपी
उमेर र उत्साह छदै ँतीस वर्षो सेवावधि’को नियमका कारण अवकाश पाउनुभएका राजेन्द्रबहादुर सिंह पूर्व प्रहरी अतिरीक्त महानिरिक्षक हुनुहुन्छ । प्रहरी सेवामा रहँदा एक इमानदार प्रहरी अधिकारीको छवि बनाउनुहुने उहाँसँग युएनमिसनमा रही सेवा गर्ने क्रममा दर्जनौं राष्ट्रमा काम गरेको अनुभव छ । हाल नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा प्रमुख व्यवस्थापक -सिइओ)को जिम्मेवारी सम्हालिरहनुभएका सिंहसँग सुडान काण्डका रूपमा चिनिने एपीसी घोटालाबारे केन्दि्रत रही गरिएको कुराकानीको प्रमुख अंश प्रस्तुत गरिएको छ ः

० अवकाशपछिको जीवन कसरी गुजारिरहनुभएको छ ?
– ३० वर्ष अवधि मैले नेपाल प्रहरीमा रहेर देश र जनताको सेवामा बिताएँ । तर, उच्च अनुभव संगालेर थप केही गरौँला भन्ने सोच पलाइरहेकै बेला तत्कालीन सरकारको असान्दर्भिक, अनुचित र सुनियोजित प्रकृतिको निर्णयका कारण ‘३० वर्षो सेवाअवधि’का नाममा अवकाश पाएँ । एउटा सुदूरपश्चिममा जन्मेको व्यक्तिले प्रहरी सङ्गठनको माथिल्लो तहसम्म पुग्ने अवसर पाउनु आफैंमा गौरवको विषय हुँदाहुँदै पनि अवधि बाँकी हुँदै नियम नै संशोधन गरेर हटाएकोमा त्यतिखेर दुःख लागे पनि अहिले म नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड रिर्सच सेन्टरको प्रशासनिक प्रमुखका रूपमा काम गरिरहेको छु ।
० सुरक्षा निकायजस्तो संवेदनशील र चुनौतीपूर्ण निकायमा काम गर्नु र अन्य क्षेत्रमा संलग्न रहनुमा फरक के हुँदोरहेछ ?
– म कर्मलाई नै धर्म मान्ने मान्छे हुँ । व्यवस्थापन भन्नेबित्तिकै प्रहरीको होस् या अन्य क्षेत्रको, दिइएको जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र इमानदार भएर लाग्ने हो भने त्यो उस्तै हुन्छ । प्रहरी सङ्गठनभित्र बसेर मैले अनुशासन, लगनशीलता, जिम्मेवारीजस्ता गुणहरू जो हासिल गरेँ यहाँ हस्पिटलमा पनि त्यो काम आएको छ ।
० प्रसङ्ग बदलौँ, कुनैबेला नेपाल प्रहरीको उच्च जिम्मेदार अधिकारी रहेको नाताले बताइदिनुस् न यो एपीसी घोटाला भनेर प्रचारमा आएको कुरा के हो ?
– यो भ्रष्टाचारको घटनाबारे दुई वर्ष पहिले नै सार्वजनिक भइसकेको हो, तथापि यसबारे छानबिन र दोषीलाई आवश्यक कारबाही अहिलेसम्म पनि नभएको कारणले बेला-बेलामा ‘इस्यू’ बन्ने गर्दछ । एपीसी मात्र होइन सिङ्गो सुडान मिसनलाई प्याकेजमा राखेर हेर्ने हो भने अन्तर्राष्ट्रिय रूपमा नेपालको ठूलो बेइज्जती भएको छ । जुन रूपमा प्रहरीलाई त्यहाँ खटाइएको छ- म त के भन्छु भने ‘सुसाइड मिसन’मा खटाइएको हो त्यो । प्रहरीप्रति गरिएको यस लज्जाजनक व्यवहारले समस्त नेपालीको शिर झुक्ने अवस्था आएको छ । यतिखेर वहालवाला ५५ हजार र मजस्ता भूतपूर्व ५०-५५ हजार प्रहरी कर्मचारीको आत्मा धुरुधुरु रोएको छ ।
० ँसुसाइड मिसन’ भन्नुभयो, कसरी ? प्रस्ट पारिदिनुस् न ।
– द्वन्द्व र आन्तरिक कलह चरम रहेको सुडानजस्तो देशमा अत्यन्त निम्न गुणस्तरका सामग्रीहरू प्रहरीलाई उपलब्ध गराइएको छ । बुलेटप्रुफ आवश्यक पर्ने ठाउँमा भीड नियन्त्रण गर्दा लगाउने ज्याकेट र हेलमेट दिइएको छ, जसले ज्यान जोखिममा पारेको छ खटिएका प्रहरीहरूको । खाने सामग्री र अन्य बन्दोबस्तीका सामानको हालत त्यस्तै दयनीय छ । सुरक्षा दृष्टिले अत्यन्त जोखिममा रहेकोले मैले सुसाइड मिसन नाम दिएको हुँ । यो कुरा तत्कालै आएको थियो तर त्यतिखेरका गृहमन्त्री, आईजीपी कसैले पनि ध्यान दिएनन् । तर्सथ, यसलाई गहिराइमा पुगेर वास्तविकता निकाल्नुपर्छ र कुनै पनि हालतमा दोषीमाथि कारबाही हुनुपर्छ । तब मत्र सुसाइड मिसनमा खटिएका प्रहरीहरूको आँसु थामिन्छ । र, डार्फ मिसनमा जुन एपीसी खरिदमा ३० करोडको घोटाला भएको छ, यसलाई त्यत्तिकै दबाउने हो भने यो मुलुकबाट भ्रष्टाचार भन्ने कुरा कहिल्यै अन्त्य हुने छैन, देश रसातलमा पुग्नेछ ।
० यसमा दोषी को ? प्रहरी नेतृत्व कि राजनीतिक पार्टीका नेताहरू ?
– निश्चिय पनि यसमा पोलिटिकल डिसिजनले काम गरेको हो । राजनीतिक निर्णयबिना त यो मिल्दैमिल्दैन । जसले त्यतिखेर गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो त्यो व्यक्तिले यसमा ‘मलाई थाहा भएन’ भनेर उम्कन एक प्रतिशत पनि मिल्दैन । आफू मातहतमा के भइरहेको छ भन्ने सबै बुझने, राम्रोलाई प्रोत्साहन गर्ने र खराबलाई कारबाही गर्ने जिम्मेवारी उसैको हुन्छ ।
० प्रहरी कल्याण कोषको रकम दुरुपयोग हुनुमा प्रहरीको उच्च अधिकृतहरू पनि त दोषी हुनुपर्दैन र ?
– अवश्य † उम्कन र पन्छिन त कोही पनि मिल्दैन । सन् १९९३ देखि नेपाल प्रहरी यूएन मिसनमा खटिने गरेको हो । त्यसबेलादेखि नै भूतपूर्व र वहालवाला प्रहरीका लागि आवश्यक वृत्तिविकास तथा अन्य सहयोगका लागि मिसनमा खटिएका प्रहरीको रगतपसिनाको कमाइबाट काटेर जम्मा हुनेगरी यो कोष खडा गरिएको हो । यस्तो महत्त्वपूर्ण फण्डलाई निर्दयी ढङ्गले दुरुपयोग गरियो र पहुँचवाला या शक्तिवालाहरूले ‘कमिसन’मा रूपान्तरण गरेर आफू मोटाउने जघन्य अपराध गरे ।
० देशको इज्जत गयो भनेर यसरी दुःखमनाउ गर्नुपर्ने कारणबारे पनि प्रस्ट पारिदिनुस् न ?
– यसका लागि एउटा मेरै अनुभवलाई उदाहरण बनाऊँ । म १९९३ मा तत्कालीन युगोस्लाभिया शान्ति मिसनमा खटिएको थिएँ । त्यहाँ मेरो मिसनको अन्त्य हुनेबेला स्वीजरल्याण्डको पिस किपिङ मिसन त्यहाँ आएको थियो । म त्यहाँ कमाण्डर थिएँ । त्यो टोली आउनुअघि त्यहाँको सरकारी प्रतिनिधिमण्डल आयो र सर्वप्रथम त्यहाँ खटिएका आफ्ना प्रहरी कर्मचारीको सुरक्षा र सेवासुविधाको अवस्था के-कस्तो छ भनी गम्भीर चासो लियो । त्यहाँको सबै कुरा बुझेपछि त्यो आधारमा पछि उक्त देशले मान्छे पठायो । भन्न खोजेको के भने त्यसरी शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने भनेको कुनै अर्गनाइजेसनले पठाउने र जे-जे हुन्छ उसैको जिम्मेवारी भनेर राज्य उदास बन्नु होइन, त्यसमा त राष्ट्र नै जिम्मेवार हुन्छ, सरकार पूरै उत्तरदायी रहनुपर्छ । किनकि त्यसको राम्रो यो नराम्रो परिणामसँग राष्ट्रकै इज्जत-बेइज्जत गाँसिएको हुन्छ । तर, हामीकहाँ यो तथ्यबोध गरेर काम गर्ने प्रवृत्ति देखिएन । म जोड दिएर भन्छु कि सुडान मिसनमा जुन हालतमा प्रहरी खटाइएको थियो त्यसको जिम्मेवारी तत्कालीन राजनीतिक नेतृत्वले लिनैपर्छ । सुरक्षाको कुनै प्रत्याभूति नहुने र बवेइज्जतीपूर्ण ढङ्गले ड्युटीमा खटिन बाध्य हुनेगरी खटाउने अनि अहिले चोखिन खोज्नु अत्यन्त शर्मनाक र अनैतिक कार्य हो ।
० मिसनमा खटिने प्रहरीको सुरक्षामाथि त त्यसरी खेलवाड गरिएछ, एपीसी खरिदमा भएको भ्रष्टाचारलाई चाहिँ कसरी बुझनुपर्ला ?
– एक्काइसौं शताब्दीमा यस्तो आर्श्चर्यजनक रूपले कमिसन या भ्रष्टाचारको खेल सम्भवत: कतै खेलिएको छैन होला । संसारमा ठूला-ठूला भ्रष्टाचारका काण्ड भएका छन्, त्यो भ्रष्टाचार ‘एमाउन्ट’मा ठूलो हेला तर एपीसी खरिदमा भएको ३० करोडको भ्रष्टाचार यसकारण अनौठो या अलौकिक छ कि जम्मा ४० करोडको खरिदमा पूरै तीस करोड घोटाला गरिएको छ । राज्य व्यवस्था समितिको प्रतिवेदनले समेत बोलिसकेको यो विषय २१औँ शताब्दीको आठौँ/नवौँ आर्श्चर्य नै हो । तर, यस्तो प्रकरणलाई पनि सामान्य विषय बनाएर ओझेलमा पार्ने र पानीमाथिको ओभानो बन्ने कसरत गरिएको छ । यूएनबाट नेपाल प्रहरी मिसन नै हटाउने कुरा भइरहेको छ, यो भन्दा दुःखदायी विषय के हुन सक्छ ? यो सब त्यही घोटलाका कारण भएको यथार्थ आमनेपालीले बुझनुपर्छ । सन् १९९३ मा पहिलोपटक यूएन मिसनमा खटिएलगत्तैदेखि नेपाल प्रहरीले कमाएको इज्जत आज बर्बाद भएको छ । यो अत्यन्त गम्भीर विषय हो, सरकार या तथाकथित नेतृत्व वर्गले यो सुन्दैन या ढाकछोप गर्ने प्रयत्न गर्छ भने पनि नेपाली जनताले छोड्न मिल्दैन, छोड्ने छैनन् ।
० भनेपछि मूलत: तत्कालीन गृहमन्त्रीले नैतिकता देखाएर यस प्रकरणको जिम्मेवारी लिनुपर्‍यो, होइन ?
– हो, सिटौलाजी गृहमन्त्री हुनुहुन्थ्यो त्यतिबेला । तर, सिटौलाका ठाउँमा अर्का व्यक्ति भए पनि त्यतिबेलाको उक्त विकृतिको जिम्मेवारी त लिनैपर्छ त्यो ओहोदामा बस्नेले । नेपाल नै हाँक्छु, जनता कजाउँछु भनेर हिँड्ने मान्छेले आफू प्रत्यक्ष रूपमा जोडिएको विषयमा पन्छेर भाग्न कहाँ मिल्छ त ? त्यतिबेलै खबर आएको हो सुडान मिसनमा कमसल सामान आपूर्ति गरिएको, त्यसमा विभिन्न ल्याप्सेस मात्र होइन व्यापक करप्सन नै भएको भनेर, तर किन उहाँले सुन्न चाहनुभएन ? उहाँ त नेपाली काङ्ग्रेसको ठूलो नेता पनि हुनुहुन्छ । देश नै जिम्मा लिने पार्टीको ठूलो नेताको नैतिकता यही हो ? जिम्मेवारी निर्वाह गर्ने तरिका यस्तै हो ? यस्तै हो भने सिटौलाजी मात्र होइन, काङ्ग्रेसबाटै देश र जनताले के आशा गर्ने ? ‘जबसम्म यस आक्षेपबाट मैले सफाइ पाउँदिनँ तबसम्म म समग्र सामाजिक क्रियाकलाप र जिम्मेवारीबाट बाहिर बस्छु’ भन्ने आँट र नैतिकता दर्शाउन सक्नुपर्छ सिटौलाजस्ता नेताले । नेताहरूले यसरी नैतिकता देखाए मात्र मुलुक समृद्धितिर अघि बढ्छ होइन भने हामी नेपालीले समृद्ध मुलुकको सपना देख्नै छोडिदिए हुन्छ ।
० तत्कालीन प्रहरीप्रमुखचाहिँ दोषी हुँदैनन् यसमा ?
– जसरी राजनीतिक नेतृत्वले मुक्ति पाउँदैन त्यसरी नै सङ्गठनप्रमुखले पनि पूरापूर जिम्मेवारी लिनुपर्छ । माथिका जति सबै पन्छिने हो भने त्यत्रो काण्ड कसको आडमा भयो त ? के मन्त्रीका पियन र प्रहरीका जवानले चाहेर त्यो भयो ? अनुशासन र वफादारिताका लागि संसारभर कहलिएको नेपाल प्रहरीको साख आज लगातार गुम्दै छ । यो कहिलेदेखि सुरु भयो, किन यस्तो भयो, अब प्रत्येक सचेत नेपालीले बुझनु र नबुझेकालाई बुझाउनुपर्ने समय आएको छ । यस्ता कुरामा आँखा चिम्लने हो भने हामी जनतालाई पनि नेपाल आमाको आँसुले पिर्नेछ, मातृभूमिको भार लाग्नेछ ।