काभ्रेले दोश्रो राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ ।
काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं व्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् ।
सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा काभ्रेका अच्यूत अधिकारी,, ५५ केजीमा काभ्रेका सुवास लिम्बू, ४५ केजीमा सिन्धुपाल्चोकका विशाल लामा, ४० केजीमा ललितपुरका विकास महर्जन, ३० केजीमा काभ्रेका समिर बुढाथोकी र २५ केजीमा खोटाङका स्वस्तिक लम्सालले स्वर्ण जिते ।
महिला खुला तौलसमूहमा ललितपुरकी शिवानी श्रेष्ठ, ५० केजीमा काभ्रेकी आरती तामाङ, ४५ केजीमा काठमाडौंकी नविना लामा र ४० केजीमा काभ्रेकी प्रतिक्षा भुजेलले पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा काभ्रेका तुलसीराम श्रेष्ठ तथा काठमाडौंका राजकृष्ण श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय १५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा
नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको १९ औं बार्षिकोत्सवको अवसरमा हुने चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा हुने छ ।
प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र भुटानका करिव दुई हजार खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक गजेन्द्र बहादुर खपाङ्गी (इश्वर) ले जनाएका छन् ।
पुरुष तर्फ जुनियर तथा क्याडेट ईभेन्टमा २३, २५, २७, ३०, ३३, ३५ र ४०, सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी तथा एकल काता गरि १४ स्वर्णका लागि प्रतिस्पर्धा गराईने छ । यस्तै महिला तर्फ जुनियर तथा क्याडेटमा २३, २५, २७, ३०, ३३, ३५, ४० तथा सिनियर तर्फ ४५, ५०, ५५, ६१, ६७ मुनि र ६८ माथी तथा एकल काता गरि १४ स्वर्णका लागि खेलाडीहरुको प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया