राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारी पनि मानव तस्करीमा

राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारी पनि मानव तस्करीमा


– श्रीविक्रम भण्डारी

पटक–पटक मानव तस्करको अखडा बन्दै गएको राष्ट्रिय खेलकुद परिषद् यतिबेला पुनः विवादमा तानिएको छ । परिषद्मा दर्ता भएको ‘नेपाल पेनकेक सिलात मार्सल आर्टस्’का अध्यक्ष टीकाराम मोते बसाइ ठकुरीले विश्व च्याम्पियनसिपमा गैरखेलाडी लगेर मानव तस्करी गरेको पर्दाफास भएपछि राखेपको विवादमा परेको हो । राखेपमा दर्ता भएका राष्ट्रिय खेल सङ्घको धन्धा नै यतिबेला मानव तस्करी भइरहेको अवस्था र त्यसको सञ्चारमाध्यमले भण्डाफोर गर्दासमेत राखेपले त्यस्ता सङ्घ र व्यक्तिहरूमाथि कुनै कारबाही गर्न सकेको छैन । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको बद्नाम मात्रै नभई दिनप्रतिदिन साख पनि गिर्दै गएको छ । सङ्घको आडमा कुन–कुन सङ्घले मानव तस्करी गरेर लाखौँलाख असुली खेलकुदलाई बलिको बोका बनाइरहेका छन्, त्यसको जानकारी राखेपलाई छ । र पनि, अहिलेसम्म राखेपले कुनै किसिमको कारबाही गर्न नसक्नु खेलकुदको दुर्भाग्य बन्दै गएको छ । परिणाम, खेलकुदमा मानव तस्करी धन्धा मौलाउँदै गएको छ भने राखेप मूकदर्शक बनेको छ ।

गत साता खेलाडीको नाममा नक्कली खेलाडी तयार पारेर खेलकुदमा मानव तस्करी गर्दै आएको पर्दाफास भएको छ । उक्त कार्य राखेपमा दर्ता भएको नेपाल पेनकेक सिलात मार्सल आर्टस् सङ्घका अध्यक्ष ठकुरीले गरेका हुन् । प्राप्त जानकारीअनुसार यो मार्सल आर्टस् सङ्घ सन् २००२ मा राखेपमा दर्ता भएको थियो । जसको अहिलेसम्म निर्वाचन भएको छैन । अर्थात् यो सङ्घ तदर्थवादमा चल्दै आएको छ । अर्को कुरा, यो सङ्घ तदर्थवादमा चले पनि यसलाई मात्र एक व्यक्ति ठकुरीले आफ्नो इच्छाअनुसार चलाउँदै आएका थिए । ठकुरीले स्वदेशमा राखेपसँग समन्वय गरेर यो खेलको कुनै प्रतियोगिता गरेको रेकर्ड छैन । अहिलेसम्म यो खेलका कति खेलाडी छन् र कति जिल्लामा यो खेलको सङ्घ गठन भएका छन् त्यसको पनि राखेपलाई कुनै जानकारी छैन । तर, ठकुरीले आफूलाई राष्ट्रिय सङ्घ भएको दाबी गर्दै दक्षिण एसिया र इन्डोनेसियामा रहेको हेडक्वार्टरबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएका थिए । तदर्थवादमा रहेको सङ्घ र राष्ट्रिय गतिविधि केही नगरेको सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता कसरी प्राप्त भो त्यो अहिले खोजी र चर्चाको विषय बनेको छ ।

पेनकेक सिलात मार्सल आर्टस् इन्डोनेसियाले उत्पत्ति गरेको खेल हो । यो तेक्वान्दो, कराते र उसु खेलको फ्युजन हो । तेक्वान्दो दक्षिण कोरिया, कराते जापान र उसु चीनले उत्पत्ति गरेका खेल हुन् । यी खेलहरूलाई ओलम्पिक खेलको मान्यता प्राप्त छ । तर, पेनकेक सिलात नेपाली खेलकुद परिप्रेक्ष्यमा कुन चरीको नाम हो त्यो कसैलाई जानकारी छैन । यस्ता खेलहरू कसरी नेपाल भित्रिन्छन् र कसरी राष्ट्रिय खेलको रूपमा राखेपमा दर्ता हुन्छन् त्यसको खोजी हुन जरुरी भएको छ । सन् २००२ मा राखेपको सदस्यसचिव को थियो, त्यसको जवाफ अवश्य उनले दिनुपर्नेछ । नेपालमा उक्त खेलको सिलासमेत नभएको अवस्थामा कसरी राष्ट्रिय खेलको रूपमा राखेपमा दर्ता भयो त्यसमा आर्थिक गन्धको खुस्बु छ भन्दा अतिसयोक्ति नहोला । अन्यथा मानव तस्करी गर्ने उद्देश्यबाट प्रेरित भएको खेल राखेपमा कदापि दर्ता हुन सक्तैन । यसमा तत्कालीन खेलकुदका पदाधिकारी र कर्मचारीको मिलोमतो प्रस्ट रूपमा देखिन्छ ।
सन् २०१६ मा इन्डोनेसियाको बालीमा पेनकेक सिलात मार्सल आर्टस्को विश्वच्याम्पियनसिप भएको थियो । उक्त विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट ६ जनाले सहभागिता जनाएका थिए । जसमा तीनजना खेलाडी र तीनजना पदाधिकारी थिए । तीन खेलाडीमा दुईजना सक्कली थिए भने एकजना नक्कली । उनी सुरेन्द्र विष्ट भएको बुझिएको छ ।

त्यस्तै, नक्कली खेलाडी सुरेन्द्रको नक्कली प्रशिक्षक महेश सिंह बनेका थिए भने नक्कली म्यानेजरको रूपमा ललितकुमार बानियाँ प्रस्तुत भएका थिए । जसलाई नक्कली प्रमाणपत्र बनाएर अध्यक्ष ठकुरीले विश्वच्याम्पियनसिपमा लगेका थिए । तीमध्ये एकजना खेलाडीलाई थाइल्यान्ड छाडेका ठकुरीले अन्यलाई भने इन्डोनेसिया पु¥याएका थिए । जसले विश्वच्याम्पियनसिपमा नेपालको झन्डा बोक्दै मार्चपाससमेत गरेका थिए । तर, जब सुरेन्द्रको खेल्ने पालो आयो उनी रिङमा उत्रिएनन् । पटकपटक आयोजकले सुरेन्द्रको नाम सम्बोधन गरेर बोलाए पनि खेल्न गएनन् । प्राप्त जानकारीअनुसार सुरेन्द्र नक्कली खेलाडी भएका कारण खेल्न नगएको बुझिएको छ । यदि सुरेन्द्र खेल्न गएको भए रिङमा उत्रिएको केही सेकेन्डमै नकआउट हुने नक्कली खेलाडी, प्रशिक्षक र म्यानेजर बनेर बल्र्ड च्याम्पियसिपमा इन्डोनेसिया पुगेकाहरूले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । साथै सक्कली दुईजना खेलाडीले खेल्न नपाएको पनि जानकारी प्राप्त भएको छ ।

अध्यक्ष ठकुरीले विश्वच्याम्पियनसिपमा नेपालको सहभागिता गराउने बहानामा चारजना गैरखेलाडीबाट मोटो रकम असुलेका थिए । प्रत्येक नक्कली खेलाडीसँग जनही १५ लाखका दरले रकम उठाएका ठकुरीले उनीहरूलाई अमेरिका लाने भनेर उक्त रकम लिएको पीडितहरूले बताएका छन् । प्राप्त जानकारीअनुसार ठकुरीले ती नक्कली खेलाडीलाई इन्डोनेसिया हुँदै ब्राजिल र त्यसपछि अमेरिका छिराउने भनेका थिए । तर, तीन महिना इन्डोनेसियाको होटेल राखेपछि ठकुरी गायव भएका थिए । पीडितका अनुसार ठकुरीले होटेलको पैसासमेत नतिरेको बताएका छन् । यसरी ठकुरी भागेको चाल पाएपछि त्यहीँ सानोतिनो काम गरेर उनीहरू नेपाल फर्कन सफल भएका थिए । थाइल्यान्डमा छोडेकाचाहिँ अहिले पनि त्यहीँ काम गरेर बसेको थाहा भएको छ । ठकुरी अहिले कम्बोडियामा रहेका छन् ।

प्राप्त जानकारीअनुसार राखेपको सदस्यसचिव युवराज लामा रहेको समयमा पनि अध्यक्ष ठकुरीले नक्कली प्रमाणपत्र बनाएर हस्ताक्षर गर्न लगाएको खुलासा भएको छ । राखेपको कर्मचारीको सहयोगमा लामाले उक्त प्रमाणपत्रमा हस्ताक्षर गरे पनि पछि नक्कली भएको थाहा पाएपछि हस्ताक्षर गरिएका सबै प्रमाणपत्र च्यातिदिएको परिषद्कै एक कर्मचारीले बताएका छन् । ज्ञातव्य छ, ठकुरीले ती प्रमाणपत्र नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलेको भनी हस्ताक्षर गराउन लागेका थिए । उनको कोसिस यहाँ असफल भएपछि उनी विदेश भासिएका थिए । पछि वर्तमान राखेपका सदस्यसचिव केशवकुमार विष्टले नाम मात्रका राष्ट्रिय सङ्घहरूलाई विघटन गर्दा पेनकेक पनि परेको थियो । त्यसपछि यो सङ्घ अस्तित्वहीन बनेको थियो । तर, नेपालमा यो सङ्घको अस्तित्वहीन भए पनि अन्तर्राष्ट्रिय मान्यताका आधारमा ठकुरीले विदेशमा भने चलखेल गर्दै आएका थिए र छन् । जसलाई उनले अहिले पनि निरन्तरता दिँदै आएका छन् ।

ठकुरी अध्यक्ष रहेको पेनकेक सिलात मार्सल आर्टस् सङ्घ विघटनमा परेपछि २०७४ साल मङ्सिर १३ गते राखेपले सङ्घको तदर्थ समिति गठन गरेको छ । साथै राखेपले उक्त तदर्थ समितिलाई तीन महिनाभित्र अर्थात् माघ १३ गतेभित्र निर्वाचन गर्न पनि निर्देशन दिएको छ । पेनकेकको तदर्थ समिति गठन भएको दुई सातामै दक्षिण एसियाली पेनकेकले यो समितिलाई मान्यता प्रदान गरेको जानकारी प्राप्त भएको छ । पूर्वअध्यक्ष ठकुरीको गरेको गैरकानुनी हर्कतलाई मध्यनजर राख्दै कार्य सम्पादन सजिलो गराउन दक्षिण एसियाले मान्यता प्रदान गरेको बुझिनमा आएको छ । त्यस्तै सङ्घको निर्वाचनपश्चात् नयाँ कार्यसमितिले अन्तर्राष्ट्रिय मान्यताका लागि इन्डोनेसियामा रहेको हेडक्वार्टरमा पत्राचार गर्न जानकारी प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार यसै वर्ष इन्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा पेनकेक सिलात मार्सल आर्टस्लाई पनि राखिएको बुझिएको छ । आयोजकको नाताले एउटा खेल राख्न पाउने अन्तर्राष्ट्रिय नियमअनुसार इन्डोनेसियाले पेनकेकलाई छनोट गरेको हो । निर्वाचनपश्चात् एसियाडलाई मध्यनजर गरेर त्यसको तयारीका लागि जुट्ने सङ्घ जानकारी गराएको छ ।