खेलकुदमन्त्रीले मागे सदस्यसचिवसँग स्पष्टिकरण

खेलकुदमन्त्रीले मागे सदस्यसचिवसँग स्पष्टिकरण


– श्रीविक्रम भण्डारी

पूर्वसंयोजक लामा टेन्डी शेर्पाले पूर्वाद्धार निर्माण तथा तयारी समितिको संयोजक भएर २०७४ साल पुष २० गते खेलकुदका राष्ट्रिय संघलाई गैरकानुनी तरिकाले पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टसँग स्पष्टिकरण मागेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव अर्णप्रसाद न्योपाने हस्तारक्षर गरेको उक्त स्पष्टिकरण माग सहितको पत्र २०७४ पुष २५ गते मन्त्रालयले लेखेको हो । मन्त्रालयको उक्त पत्र आज पुष २६ गते बुधवार राखेपमा दर्ता भएको छ ।

मन्त्रीस्तरको निर्णयवाट राखेपका सदस्यसचिव विष्टलाई सम्वोधन गरिएको उक्त पत्रमा नेपालमा आउँदो वर्ष आयोजना हुन गैरहेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता लाई सफल बनाउन गठित उपसमितिहरुको खारेजी र गठनको वारेमा सदस्यसचिव विष्टलाई जानकारी गराउँदै त्यसको स्पष्ट जानकारी तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।

पत्रमा १३ औं साग तयारी तथा व्यवस्थापन समितिको २०७४ साल भदौ २४ गतेको निर्णय नं. २ मा १३ औं साग छिटो छरितो र भव्यताका साथ सम्पन्न गर्न २०७३ साल साउन १५ गते बसेको साग तयारी तथा व्यवस्थापन समितिको पहिलो वैठकबाट गठन भएका केहि उपसमितिहरु पुनर्गठित गर्नुपर्ने र केहि समितिहरु थप गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै उक्त पत्रमा पूर्वाद्धार तयारी उपसमितिको पुनर्गठन र केहि उपसमितिहरु गठन गर्ने निर्णयका साथै यसअघि १३ औं साग सम्वन्धि गठित सबै उपसमितिहरु खारेजगरि विजयकुमार बस्नेतको अध्यक्षतामा भौतिक पूर्वाद्धार तयारी निर्माण उपसमिति गठन भएको जनाएको छ । तर पूर्व संयोजक लामाले समितिको संयोजक बनेर राष्ट्रिय खेलकुद परिषदको लेटरप्याड, छाप प्रयोगगरि २०७४ साल पुष २० गते च. नं. ९३–०७४–७५ पत्रबाट राष्ट्रिय संघहरुलाई आफ्नो हस्ताक्षर गरेर पत्राचार गरेको देखियो । उक्त सम्बन्धमा के भएको हो ? प्राप्त मितिको तीन दिनभित्र स्पष्ट जानकारी गराउन भनेर मन्त्रालयले निर्देशन दिएको छ ।