श्री ५ पृथ्वीनारायण शाहका अन्तिम दिन

श्री ५ पृथ्वीनारायण शाहका अन्तिम दिन


पृथ्वीनारायण शाहको उमेर ४८ वर्षको हुँदा (इ. सं.१७७२ तिर) युवराज प्रतापसिंह शाहकी विवाहिता महारानी राजेन्द्रलक्ष्मीका गर्भबाट पहिले नवराज पैदा नभई इ.सं. १७७४ को आरम्भतिर युवराजकी भित्र्यानीपट्टिबाट विदुर शाहनामक एक नाति पैदा भए । हुन ता श्री ५ पृथ्वीनारायण शाहका पनि भित्र्यानीपट्टिबाट रणसिंह शाहनामक एक छोरा जन्मेका थिए । तर, सिंहासनको उत्तराधिकारी नातिको मुख देख्न श्री ५ पृथ्वीनारायण शाह व्यग्र भएका थिए । संयोगवश चाँडै नै युवराजकी विवाहिता महारानी राजेन्द्रलक्ष्मीपट्टि नवराज नागेन्द्र शाह जन्मेका हुनाले श्री ५ पृथ्वीनारायण शाहको चिन्ता हटेको थियो र उनी अत्यन्त हर्षित भएका थिए । तर, अन्नप्रासन हुँदानहुँदै इ. १७७४ का शरद्ऋतुमा नागेन्द्र शाहको देहान्त भएको हुनाले श्री ५ पृथ्वीनारायण शाहको त्यो हर्ष फेरि शोकमा परिणत भएको थियो । यसैबीच महारानी राजेन्द्रलक्ष्मीले गर्भधारण गरेको समाचार पाएपछि अर्काे नातिकी मुख हेर्न पाउने आशाले श्री ५ पृथ्वीनारायण शाहको मन केही हलुका भएको थियो ।

यस समयमा श्री ५ पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको उमेर सत्र वर्षको भइसकेको थियो । महारानी नरेन्द्रलक्ष्मीले कान्छा छोराको निमित्त डोलामैयाँको बन्दोबस्त पनि गरिसकेकी थिइन् र डोलामैयाँलाई आफ्नी गुरुमा गौरी पौड्यालनीका जिम्मा राखिदिएकी थिइन् । महारानीलाई कान्छा छोराको विवाह गर्न हतपत लागेको थियो तापनि सुब्बा दीनानाथ उपाध्यायलाई कलकत्तातिर नहिँडाई श्री ५ पृथ्वीनारायण शाहलाई फुर्सद मिलेको थिएन ।
यसकारण सुब्बा दीनानाथ कलकत्तातिर लाग्नेबित्तिकै श्री ५ पृथ्वीनारायण शाह नुवाकोटतिर जाने तरखर गर्नतिर लागे । यस समयमा श्री ५ पृथ्वीनारायण शाहका नुवाकोट यात्राका तीन मुख्य उद्देश्य थिए । पहिलो, तिब्बतसँग बिग्रेको वाणिज्य सम्बन्धलाई सुधार्नु, दोस्रो, पश्चिमतिरका अभियानको योजना बनाउनु र तेस्रो, कान्छा छोराको विवाह गर्नु । काठमाडौंमा राजदरबार र राजसिंहासन युवराज प्रतापसिंह शाह र उनकी महारानी राजेन्द्रलक्ष्मीको जिम्मा लगाई सम्भवतः ३० नोभेम्बर बुधबारका दिन महारानी नरेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहलाई लिएर श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटका लागि काठमाडौंबाट प्रस्थान गरे । यो काठमाडौंबाट नुवाकोटका लागि भएको श्री ५ पृथ्वीनारायण शाहको अन्तिम यात्रा थियो ।

काठमाडौंबाट श्री ५ पृथ्वीनारायण शाह नुवाकोटतिर लाग्दा सौरमार्गको मध्य भइरहेको थियो । विवाहका निमित्त पुस महिना ग्राह्य नहुनाले बहादुर शाहको विवाहलाई डेढ महिना अझै पर्खनुपरेको थियो । यसबीचमा चौबीसी ठकुराईपट्टि भएको हारको बदला लिनलाई तलहट्टीपट्टिबाट तनहुँमा आक्रमण गर्ने र तनहुँ दखल भएपछि लमजुङ दखल गर्ने योजना बनाई यस कामका लागि आवश्यक तयारी श्री ५ पृथ्वीनारायण शाह गर्दै थिए । अर्कातिर तिब्बतसँगको बिग्रेको वाणिज्य सम्बन्ध सुल्झाउनका निमित्त वाराणसीमा कोठी भएका र काठमाडौंमा कोठी र घर–खेत भएका राज गिरीलाई अध्यक्ष बनाई ल्हासामा पठाउन उनले ठीकठाक गरेका थिए ।

यस समयमा श्री ५ पृथ्वीनारायण शाहको दाहिने र बायाँ हात भएर रहेका विश्वासी पाँडे र बस्न्यात भारादारहरू उनका साथमा थिएनन् । उता काठमाडौंमा गौरीका छोरा ब्रजनाथ पौड्याल, सर्दार स्वरूपसिंह कार्की र विदुर शाहकी आमा (युवराजकी भित्र्यानी) तीनजनाको अगोर्खाली गुट बलियो हुँदै गइरहेको थियो ।

यसको प्रभाव, आफ्ना चौँतीस वर्षभन्दा बढीको निरन्तर परिश्रमले निर्माण गरेको नेपाल अधिराज्यको सङ्गठन र स्थायित्वमा समेत नराम्रो पर्ने देखेर श्री ५ पृथ्वीनारायण शाह साह्रै चिन्तित भए । भोक, तिर्खा, चिसो, तातो, दिन, रात केही नभनी अठार वर्षको कलिलो उमेरदेखिको निरन्तरको परिश्रमले श्री ५ पृथ्वीनारायण शाहको अन्नपानीको शरीर पनि जर्जर भएको थियो र उनी थकावट अनुभव गर्दै थिए । यस अवस्थामा आफूले कुन उद्देश्य लिएर यस एकीकरणको अभियान प्रारम्भ गरिएको थियो र यस एकीकृत नेपाल अधिराज्यको समृद्धि र स्थायित्वको निमित्त कुन उद्देश्य लिनुपर्दछ त्यो सबैलाई अवगत गराउनु आवश्यक देखेर श्री ५ पृथ्वीनारायण शाहले डिसेम्बरका अन्तिम सप्ताहतिर नुवाकोटका राजदरबारमा आफ्ना साथमा रहेका दुई भाइ र भारदारहरूलाई बोलाई एक बडो भारादारी गराए । त्यसमा आफू युवराज भएको अवस्थादेखि लिएर किराँत दखल गरेसम्मको आफ्नो सारा परिश्रम एकएक गरी बताएर उनले बडा दुःखसँग जोरेका अधिराज्यलाई अधिराज्यभरका छोटा–बडा सबैले आफ्नै फूलबारी सम्झेर रक्षा गर्नु, भोगविलासतिर कसैले नलाग्नू र आपसमा मेलजोल गरिरहनू भन्ने आफ्ना र जनताका समेत उत्तराधिकारीहरूलाई उपयोगी हुने एक लामो भाषण दुई–तीन दिन लगाएर श्री ५ पृथ्वीनारायण शाहले दिए । यस प्रवचनमा श्री ५ पृथ्वीनारायण शाहले ‘पूर्व–पश्चिमका षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु । क्यान भनौला वाहिडा मान्छयाले दरबारमा विथिति गराउँछन्’ भनेर पूर्वीया खस स्वरूपसिंह कार्कीलाई र पश्चिमा ब्राह्मण ब्रजनाथ पण्डितलाई सङ्केत गरेको स्पष्ट देखिन्छ ।

यो दिव्य प्रवचन सकिएपछि श्री ५ पृथ्वीनारायण शाहलाई निकै थकावटको अनुभव भयो र दुई–तीन दिनजति उनले विश्राम गरे । यसैबीचमा डिसेम्बरका अन्तिम दिनतिर उनलाई ज्वरोले आक्रमण ग¥यो । साथमा रहेका गोर्खाली र काठमाडौं उपत्यकाका वैद्यहरूले आफ्ना बुद्धिले देखेसम्म उपचार गर्दा पनि ज्वरोले विषमज्वरोको रूप लियो । दुर्भाग्यवश सम्भव उपचार हुँदा पनि श्री ५ पृथ्वीनारायण शाहलाई रोग असाध्य हुँदै गयो । यस अवस्थामा श्री ५ पृथ्वीनारायण शाह बच्ने सम्भावना दिनप्रतिदिन कम हुँदै गयो र महारानी नरेन्द्रलक्ष्मी, बहादुर शाह र दलजित शाह आदि अरू भैयाद भारदार सबै मिलेर ३ जनवरी, १७७५ का दिन श्री ५ पृथ्वीनारायण शाहलाई घाट चलाए । श्री ५ पृथ्वीनारायण शाहलाई नुवाकोट दरबारदेखि थोरै फरकमा रहेको सूर्यमती (तादी) र त्रिशूलगण्डकीका दोभानमा परेको देवीघाटमा लगिएको थियो र त्यहाँ उनी नौ दिनसम्म रहे । अन्त्यमा ११ जनवरीका दिन बिहान ७ बजेको समयमा श्री ५ पृथ्वीनारायण शाह सदासर्वदाका लागि यस संसारलाई छाडी परमधाम भए । एक कर्मयोगीले कर्तव्य पूरा गर्दै चिरसमाधि लियो र नेपालको देदीप्यमान भाष्कर सदाका लागि अस्त भयो ।

श्री ५ प्रतापसिंह शाहले पहिरनू भनेर महारानी नरेन्द्रलक्ष्मीले भारदारहरूका साथ राजमुकुट काठमाडौंतिर पठाइदिइन् । यसपछि महारानी नरेन्द्रलक्ष्मी सहगामिनी भइन् र साथै उपरानी दुई र ६ जना केटी–सुसारे पनि सती गए । बहादुर शाह अन्त्येष्टिक्रिया गर्न नुवाकोट बसे । श्री ५ पृथ्वीनारायण शाहका अन्तिम इच्छाअनुसार उनका र महारानी नरेन्द्रलक्ष्मीका अस्तुहरू वाराणसीका मणिकर्णिकाघाटमा क्षेपण गर्न पठाइए ।

साँझतिर राजमुकुट काठमाडौंका राजदरबारमा आइपुग्यो र श्री ५ प्रतापसिंह शाहले पहिरेर विधिवत् नेपाल अधिराज्यका राजसिंहासनमा बसी नेपालका श्री ५ महाराजाधिराजको गुरुत्तर भार वहन गर्ने अभिभारा लिए ।

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)