राष्ट्रिय कुस्तीमा कन्चनपुर बाराको उत्कृष्ट प्रदर्शन

राष्ट्रिय कुस्तीमा कन्चनपुर बाराको उत्कृष्ट प्रदर्शन


राखेप च्याम्पियनसीप अन्तर्गत १३ औ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौडामा सम्पन्न भएको छ । १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३-३ स्वर्ण जितेका छन् ।

विजयी खेलाडीहरुलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोगबहादुर थापा र नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तराष्ट्रिय खेलाडीहरु नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको छ भने बारा जिल्लाले ५७, ७४ र ८६ केजी तौल समूूहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ । पर्साले ६५ र १२५ केजी तौल समूहमा स्वर्ण जितेको छ भने नेपाली सेनाले ६० र ६० केजी महिला तौल समूहमा स्वर्ण जितेको छ । डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले १-१ स्वर्ण पदक जितेका छन् ।

४५ केजी तौलमा महिलातर्फ आशा कुमारी खत्वेले स्वर्ण जितिन् । ४५ केजी तौल समूहमा आशाकुमारी खत्वे एक्लो सहभागी हुँदै स्वर्ण जितेकी हुन् । ४८ केजी तौल समूहमा डडेल्धुराकी शिवानी देवुले स्वर्ण जितिन् भने सुनसरीकी राजकुमारी खत्रीले रजत, झापाकी फुलमाया थाङसुहाङले काँस्य पदक जितिन् । ५३ केजी तौल समूहमा कञ्चनपुरकी माया लोहारले स्वर्ण, ललितपुरकी मेञ्जन तामाङले रजत र सुर्खेतकी अनु आमुराले काँस्य जितिन् ।

५७ केजी तौल समूहमा बाराका रामबाबु यादवले स्वर्ण, नेपाली सेनाका तिलक देउजाले रजत, सिराहाका रामदीक्षित यादव र पर्साका शिवमंगल यादवले कांस्य जिते । ५८ केजी तौल समूहमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण र नेपाली सेनाकी कल्पना बिकले रजत पदक जितिन् । ६० केजी तौल समूहमा नेपाली सेनाकी कविता पुनले स्वर्ण र कैलालीकी निला आहुजीले रजत पदक जितिन् ।

६१ केजी तौल समूहमा कैलालीका सन्तोष एसकेले स्वर्ण, सिराहाका अमरनाथ यादवले रजत, नेपाल प्रहरीका भगत साह र बाराका कुन्दन साहले काँस्य पदक जितेका छन् । ६३ केजी तौल समूहमा नेपाली सेनाकी सुशीला चन्दले स्वर्ण, बाँकेकी गंगा ओलीले रजत र मोरङकी प्रिजिता तामाङले काँश्य पदक जितिन् ।

६५ केजी तौल समूहमा पर्साका सरोज यादवले स्वर्ण, बाराका कृष्ण यादवले रजत र झापाका अनिष राईले काँस्य पदक जिते । ६९ केजी तौल समूहमा महिलातर्फ झापाकी सदीक्षा राईले स्वर्ण जितिन् । ६९ केजी तौल समूहमा महिला तर्फ सदीक्षा एक्ली सहभागी थिइन् ।

७० केजी तौल समूहमा कञ्चनपुरका सुरेश चुनाराले स्वर्ण, सिराहाका वीरेन्द्रकुमार यादवले रजत, पर्साका मनोज यादव र नेपाल प्रहरीका दिपेश राउतले काँश्य पदक जिते । ७४ केजी तौल समूहमा बाराका मुख्तार आलमले स्वर्ण, नेपाल प्रहरीका विनोद सहनीले रजत र सर्लाहीका अनिललाल सहनी र सिराहाका रामशंकर यादवले कास्य पदक जितेका छन् ।

८६ केजी तौल समूहमा बाराका बुन्नीलाल राउतले स्वर्ण, नेपाल प्रहरीका सागर कुमार यादवले रजत, सिराहाका मृत्युन्जय यादव र डडेल्धुराका राजु दुवेले कास्य पदक जितेका छन् । ९७ केजी तौल समूहमा बा“केका रमेश गोतामेले स्वर्ण, पर्साका सुमेर कुमार साहले रजत, धनुुषाका डोमी यादव र बाराका मुकेश ठाकुरले काँस्य पदक जितेका छन् । १२५ केजी तौल समूहमा पर्साका राज यादवले स्वर्ण, महोत्तरीका जितेन्द्र यादवले रजत र कञ्चनपुरका करण भट्टले काँस्य पदक जितेका छन् ।

समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती खेलका राष्ट्रिय मुख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेत, महासचिव विद्यासागर पोखरेलको उपस्थिति रहेको थियो ।