जुनियर एकेडेमीको विन्टर क्याम्प फुटबल सम्पन्न

जुनियर एकेडेमीको विन्टर क्याम्प फुटबल सम्पन्न


जुनियर फुटबल एकेडेमीले बालुवाटारमा सञ्चालन गरेको विन्टर क्याम्प फुटबल प्रशिक्षण सम्पन्न भएको छ ।

गत पुस १८ गतेदेखि सुरु भएको प्रशिक्षणमा विभिन्न विद्यालयका ४० भन्दा बढी छात्र छात्राको सहभागिता रहेको प्रशिक्षण पुष्प विष्टले जानकारी गराएका छन् ।

विन्टर क्याम्पमा सहभागीलाई जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षत्री, थ्रीस्टार क्लबका प्रशिक्षक रवीन्द्र सिलाकार र प्रशिक्षकहरु गोरख केसी, पुष्प विष्ट र कमलराज गुरुङले प्रशिक्षण दिएका थिए । एकेडेमीले सन् २०१० देखि हरेक वर्ष विन्टर र समर ट्रेनिङ क्याम्प सञ्चालन गर्दै आएको छ ।

एकेडेमीमा चार सय छात्र छात्राले प्रशिक्षण लिँदै आएका छन् । एकेडेमीमा यू ४–८, यू–१०, यू–१२, यू–१६ उमेर समूह र गोलकिपरको ट्रेनिङ सञ्चालन हुँदै आएको छ । एकेडेमीका खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाइसकेको छन । जुनियर फुटबल एकेडेमीका खेलाडीले चीन, थाइल्यान्ड, नर्वे र अमेरिकामा गएर फुटबल खेलिसकेका छन् ।

अहिले पनि फुटबल एकेडेमीका ६ खेलाडीले नेदरल्यान्डको हल्यान्ड फुटबल युनिभर्सिटीमा प्रशिक्षण लिइरहेका छन् । एकेडेमीकै पहिलो ब्याचका दुई खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट यू–१८ फुटबल खेलिसकेका छन् । यस्तै एक खेलाडीले सशस्त्र प्रहरीको एपीएफ क्लबको बी टोलीबाट फुटबल खेलिरहेका छन् । एकेडेमीले खेलाडीलाई फुटबल कला सिकाउनुका साथै विभिन्न क्लबमा आवद्धताका लागि पनि पहल गर्दै आएको छ ।