कम्युनिस्ट विचार आफैंमा विकास र गरिबविरोधी

कम्युनिस्ट विचार आफैंमा विकास र गरिबविरोधी


-शोभाकर पराजुली
कुनै पनि विचार आएपछि त्यसलाई औचित्यको कसीमा राख्नुपर्ने हुन्छ । सबै विचार औचित्यहीन नभए पनि त्यसका लागि उचित स्थान के हुन सक्दछ – वा यसमा कुनै परिष्कार आवश्यक छ कि ? भन्ने सोच चाहिन्छ नै । सोच आफैंमा परिस्थिति र विवेकको आधारमा निस्कने विषय हो । त्यसलाई भावना होइन वास्तविकतासँग तालमेल गर्न सकिएन भने त्यसले नकारात्मक परिणाम नै दिन्छ । विचारलाई परिष्कार गर्ने धेरै माध्यममा हामी परिवर्तनवादी हौँ भनेर नयाँ परिवर्तनलाई रोक्नेहरू समयका सबैभन्दा ठूला शत्रु हुन् । एकातिर आफूलाई परिवर्तनको नियमबाहेक सबै परिवर्तनशील छ भन्ने देखाउन चाहने अर्कोतर्फ समयअनुसार विचारलाई परिष्कार गर्दै जानुपर्छ भन्ने पक्षलाई संशोधनवाद आदिको संज्ञा दिने गरिन्छ । यो कम्युनिस्टहरूको साझा रोग भए पनि आफूलाई सच्चा कम्युनिस्टहरू हौँ भन्नेहरूमा यो रोग बढी देखिन्छ । उनीहरू समयको गतिसँग चल्न नसकेको कारणले जनविरोधी र विकासविरोधी हुँदै गएकोसमेत मूल्याङ्कन गर्ने फुर्सद उनीहरूलाई छैन ।
यसको कारणमा मानिसलाई डर, त्रास दिएर यो मात्र ठीक हो भन्ने पार्ने कार्य नेपालमा अहिले माओवादीबाट भएको छ । एकोहोरो शिक्षाबाट विवेक प्रयोग गर्न नसक्ने वा नचाहने बनाउने कार्य हुने गरेको छ । अविकसित देशमा गरिबी र अज्ञानताको कारण र लोकतन्त्रवादी नेताहरू या त भ्रष्ट भएको वा राम्रोसँग काम गर्न असफल भएको कारणले पनि जनतालाई विभिन्न्ा भ्रम बाँड्न सफल भएको पाइन्छ । गरिब, नपढेको तथा दुनियाँको अन्य पक्षका बारेमा जान्न नसकेको तप्कालाई उनीहरूले आफ्नो प्रभावको लक्ष्य बनाएका हुन्छन् । गरिब जनसमुदायलाई झुक्याउन सजिलो हुन्छ तथा झुटा आश्वासन दिन पनि सजिलो हुन्छ । उनीहरूका आवश्यकताहरू धेरै पूरा भएका हुँदैनन् ती पुरा हुनुपर्ने मान्यता राख्नु स्वाभाविक हो । यो पक्षलाई पक्रेर कम्युनिस्टहरू यो पनि गर्ने, ऊ पनि गर्ने तर त्यो कार्य आफ्नो सत्ता आएपछि गर्ने भन्दछन् । जव सत्ता आउँछ त्यसबखत जनतालाई भन्न्ा पाइने अधिकार नै दिइँदैन । जनताको आवाजलाई सत्ताले गल्ती गरेमा मुखरित गर्ने प्रतिपक्ष हुँदैन, विरोधी हुँदैनन् । जनता पीडित हुन पुग्छन् । यो पक्ष जनसमक्ष जाहेर गरेर लोकतन्त्र दलको होइन जनताको हो र विचारको विविधता सिद्धान्तको होइन जनहितका लागि हो र बहुलवाद जनताको हक सुरक्षित गर्ने प्रमुख माध्यम हो भन्ने जानकारी जनतामा जान आवश्यकताको आधारमा दिन सकिएको छैन । जानकारी दिएर पनि अत्याचारको भुमरीमा कोही पर्न चाहन्छ भने केही कम दुःख होला तर सत्य थाहा नपाएकोले गरिब जनताबाट गल्ती भएर तानाशाहीलाई समर्थन भयो भने त्यसको दोष हामीले उचित सञ्चार दिन नसकेकोले हामीले पनि लिनुपर्ने हुन्छ, लिनुपर्छ ।
त्यसैले मैले भन्ने गरेको छु कि- मैले अन्यायको विरोध नगरे कस्ले गर्दछ – मर्ने चोलामा दुई दिन छिटो मर्न म तयार नभए अरू को हुन्छ – अन्यायको संस्थागत विकास हुन नदिन लोकतन्त्र नै आवश्यक छ भनेर मैले नभने कसले भन्छ – भन्ने सोच हामीमा हुनैपर्छ । लोकतन्त्र उज्यालो हो । त्यहाँ अन्याय देख्न पाइन्छ । त्यसलाई रोक्न प्रयास गर्न र रोक्न सकिन्छ । साम्यवादी व्यवस्था गरिबको नाममा गरिबलाई दास बनाउने र पशुसरह व्यवहार गर्ने अँध्यारो हो । त्यहाँ अँध्यारोमा जस्तै कुनै पनि अक्षम्य अपराध साम्यवादीहरूले लुकाउँछन् । यो तथ्य जनतामा जान आवश्यक छ । लोकतन्त्रमा ऐना हेर्दा आफ्नो अनुहार नराम्रो देखियो भनेर ऐना फोर्ने होइन, मुखलाई सफा गर्नुपर्छ । ऐना फोर्नु भनेको तानाशाहीको पक्षमा जानु हो र यो सबैभन्दा घातक हो र यसको सबैभन्दा प्रतिकूल असर गरिबलाई हुन्छ । कम्युनिस्टहरूको घोषणापत्रमा लेखिएको छ कि सञ्चारमा कम्युनिस्टहरूको एकाधिपत्य हुनुपर्छ । सञ्चारको वा आवाजको स्वतन्त्रताको अन्त्य भनेको अँध्यारो हो र अँध्यारो अन्याय गर्ने पराकाष्ठाको प्रतीक हो ।
कम्युनिस्टहरू हामी ठीक छौँ र हौँ भन्छन् । यो सबैभन्दा झुट हो । ठीक भए किन अरूलाई बोल्न नदिने – ठीक भए नेपालमा नै भन्दा पनि माओवादीहरू आफ्ना नेताहरूले निजी सम्पत्ति नराख्ने भनेर निर्णय धेरैपटक गर्छन् । कार्यान्वयन कहिल्यै गर्दैनन्, किन – चप्पलवाल माओवादी र पजेरोवाला माओवादी भन्ने समाचार त बारम्बार आउने गरेको छ । अखिल क्रान्तिकारी भनिनेले नेताका छोराछोरीहरू निजी र महँगा विद्यालयमा पढाएकोमा विरोध त गर्दछन् तर त्यसको पालना हुँदैन । के माओवादीको विरोध गर्नै नपाउने सर्वसत्तावाद आएमा यो कार्य रोकिएला कि अझ बढ्ला – प्रस्ट छ, बेइमानी र भनेको कुरा लागू नगर्ने कार्य सयौं गुना बढ्ने हुन्छ ।
यसो भनिरहँदा हामी जनताका आवश्यकताहरू केही नितान्त प्रारम्भिक र नभइनहुने हुन्छन् भन्न्ो पनि भुल्न सक्दैनौँ । स्वास्थ्य, शिक्षा, खाना, सुरक्षित बासस्थान आदिको न्यूनतम ग्यारेन्टी लोकतन्त्रको प्राथमिक लक्ष्य हुनैपर्छ । त्यसैले नेपाली काङ्ग्रेसले समाजवादी पक्ष अँगालेको हो । यो नहुँदा जनता गलत प्रचारले बारम्बार गलत बाटोमा पुग्छन् । मैले दोहोर्‍याउने गरेको छु- चरालाई जालमा हाल्न मीठो खानामाथि जाल राखिएको हुन्छ । चरा जालमा पर्छ । यसमा दुईवटा तत्त्वले महत्त्वपूर्ण भूमिका निभाएका हुन्छन् । पहिलो त चरा भोकाएको हुन्छ, त्यसैले उसले खानेकुरा खान पाए अरू जेसुकै होला भन्ने सोच्न थाल्दछ । दोस्रो, मीठो खानाको लोभले उसले खाना खाने हो, जाबो जाल त फालिहालिन्छ नि भन्ने सोच पनि उसमा हुन सक्दछ । उसले यो सोच्दैन कि सिकारीले जाल पनि खाना पनि बाजी लगाउने कार्य गरेको हुँदैन । यसमा भोकको भूमिका प्रमुख हुन्छ ।
माओवादीले आफ्ना विभिन्न्ा जातीय राज्यहरूमा गैरजातीय नेताहरूलाई नेतृत्व गर्न पठाउँछ । अन्य जातमा पनि सुविधा हुने गरेर महिलाको थर कहिले जन्मको हिसाबले कहिले विवाहको हिसाबले राख्ने गरिन्छ । यो जनतालाई छलेकोबाहेक अरू केही होइन । जुन जात, भाषीको हित गर्ने भनिएको हो त्यसैको नेतृत्वले लक्ष्यलाई अझ पुष्टि गर्दछ । त्यसो नहुनु भनेको अरूलाई मूर्ख बनाउने कार्य मात्र हुन जान्छ । एक ठाउँको व्यक्तिलाई अर्को ठाउँमा पठाउने गरिन्छ । यो कार्यले पनि त्यो क्षेत्रका जनताको हित र नेतृत्वको सवाललाई पछाडि पारेको नै हुन्छ । जातीय राज्यको चर्को कुरा गर्ने माओवादीले त्यो जातको मानिसलाई उत्थानका लागि सुरुबाटै नेतृत्व र विभिन्न स्थानमा प्रोत्साहित गर्नुपर्नेमा किन गरिएन – यो पनि जनताले ध्यान दिन आवश्यक विषय हो ।
विकास नहुँदा मानिसका विभिन्न आवश्यकताहरू पूरा हुन नसकेको देखिन्छ । विकास नभएकोले मानिसको सोचाइको स्तर पनि समग्रमा अपेक्षाकृत उन्नत हुन सकेको हुँदैन । यातायात, विद्यालय, सञ्चारको विकासले मानिसको वैचारिक विकास अझ स्थायी रूपमा विकसित हुन सहयोग हुन्छ र यस्ता कार्यले मानिसकोे आम्दानीको स्रोत बढ्छ यसलाई राजनीतिले सहयोग गर्छ । सबै र सधैं राजनीतिले मानिसको क्षमताको विकास र निष्पक्ष चिन्तनको क्षमताको विकास भने गर्दैन । बिकासका गागि पुँजीको आवश्यकता छ यसबाट नै गरिबीको अन्त्य गर्न सकिन्छ । उद्योगहरू र उत्पादन वृद्धि हुनेमा लाग्नेहरू अर्थात् उद्योग गर्नेहरूलाई शोषक-सामन्त भन्ने, उनीहरूलाई हतोत्साहित गर्ने, मजदुरहरूलाई उनीहरूको सोझोपनको फाइदा लिएर हड्ताल गर्न उत्साहित गर्ने, आफ्नो दलको कार्यकर्ता बनाउने, उद्योगीहरूले चन्दा दिएमा उद्योग चलाउन दिने, नदिएमा बन्द गर्नुपर्ने वातावरण बनाउनेजस्ता कार्य गरेबाट कम्युनिस्टहरूको कारणले क्रमशः उद्योगहरू धराशायी भएका छन् । मजदुरहरूले काम पाएका छैनन् । उनीहरूलाई कम्युनिस्टहरूले आफ्नो दलका कार्यकर्ता बनाएका छन् । विकसित देशमा विकासलाई अवरुद्ध नगर्ने बरु प्रोत्साहित गर्ने, पुँजी निर्माण गर्ने, जनताको न्यूनतम आवश्यकता पूरा गर्ने, धनीसँग कर लिएर कमजोर वर्गलाई धनी बन्न सहयोग गर्ने गरेकोले नै उनीहरू धनी भएका हुन् । यसप्रकार समानता विकासको विरोधीको रूपमा र अझ गरिबी बढाउने माध्यमको रूपमा आएमा त्यो गरिबीको वितरणको समानता मात्र हुन जान्छ र अभिसाप वन्दछ । मजदुर र किसानको हित उत्पादन वृद्धिबाटै हुन्छ । उत्पादन वृद्धि उद्योगीहरूलाई प्रोत्साहन गरेर हुन्छ । उनीहरूले कानुनविपरीत मजदुरलाई व्यवहार गर्न नपाउने र उद्योगलाई हतोत्साहित गर्न नपाइने वातावरण आवश्यक हो भन्नेमा दुईमत छैन ।