‘अब म ‘खेलकुद’ कार्यकर्ता भएँ’

‘अब म ‘खेलकुद’ कार्यकर्ता भएँ’


युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषदका सदस्य शैलेश कर्माचार्यलाई राखेपको कोषाध्यक्षमा मनोनयन गरेका छन् । मन्त्री केसीले माघ ११ गते नै कर्माचार्यलाई मनोनयन गरे पनि मन्त्रालयले आज (माघ १४) कर्माचार्यलाई मनोनयनको आधिकारिक पत्र दिएको हो ।

कर्माचार्यलाई खेलकुद विकास ऐन २०४८ को दफा ३ उपदफा ३ मा ब्यवस्था भएअनुसार रिक्त रहेको राखेपको कोषाध्यक्षमा मनोनयन गरिएको बुझिएको छ । प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएपछि सुरेन्द्र हमालले राखेपको कोषाध्यक्षबाट राजिनामा दिएपछि उक्त स्थान रिक्त थियो ।

कर्मचार्यलाई यसअघि नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयअनुसार खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम परिषदको सदस्य पदमा नियुक्ति गरिएको थियो ।

काङ्ग्रेसको कोटाबाट राखेप सदस्य बनेका कर्माचार्य राखेपमा स्वच्छ छवी भएका पदाधिकारीका रुपमा परिचित छन् । राखेपको कोषाध्यक्षमा नियुक्त भएपछि आफूले ठूलो जिम्मेवारी पाएको बताउँदै कार्यान्वयन पक्ष त्यत्तिकै चुनौतीपूर्ण भएको उनले बताए ।

आफ्नो दुईवर्षे अनुभवको आधारमा खेलकुदमा काम गर्न त्यति सजिलो नभएको भन्दै यस क्षेत्रका सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । कर्माचार्यले खेलकुदको समग्र विकासको लागि राजनीतिक दलको कार्यकर्ताका रुपले नभई खेलकुदको कार्यकर्ताको रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाए । परिषदको कोषाध्यक्ष भएको नाताले खेलकुदलाई आर्थिक रुपमा चुस्तदुरुस्त राख्न आफूले कुनै कसर नछोड्ने उनको भनाई छ ।