यू–१९ विश्वकप क्रिकेट
विगतको इतिहास पल्टाउँदा उमेर समूहमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रस्ट रूपमा देखिन्छ । यही प्रदर्शनकै कारण अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल उदीयमान राष्ट्रको रूपमा झुल्किएको थियो । छोटो समयमा गरेको उत्कृष्ट प्रदर्शनले दक्षिण एसियाली राष्ट्रमा बंगलादेशपछि नेपालको नाम अग्रपङ्क्तिमा आउँथ्यो । तसर्थ क्रिकेटका पण्डितहरू भन्ने गर्थे, ‘नेपालले छिट्टै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता पाउनेछ ।’ त्यो समयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई आधार मानेर भन्ने हो भने उक्त कथन स्वाभाविकै पनि थियो । त्यसबेला नेपालले क्रिकेटमा भर्खरै उदाउँदै गरेका राष्ट्रलाई मात्र नभई टेस्ट खेल्ने राष्ट्रलाई समेत पराजित गरेर सनसनी फैलाएको थियो । नेपालको यो सफलताले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो । जुन नेपाली क्रिकेटका लागि सकारात्मक पाटो बनेको थियो ।
तर, अहिले समयले कोल्टे फेरेकोे छ । वर्तमान अवस्थामा राष्ट्रिय क्रिकेट टिमले कुनै कमाल देखाउन सकेको छैन भने उमेर समूहमा पनि नेपालको प्रदर्शन निराशाजनक बन्दै गएको छ । आशा होइन, विश्वास गरेको उमेर समूहमा पनि नेपालले लज्जाजनक प्रदर्शन गरेपछि अहिले नेपाली क्रिकेटको भविष्यमा समेत प्रश्नचिह्न लागेको छ । उमेर समूहलाई हतियार बनाएर अन्तर्राष्ट्रिय क्रिकेटको सिँढी चढ्दै आएको नेपालले अब के नाकले उमेर समूहमा दाबी प्रस्तुत गर्ला, त्यो सोचनीय बनेको छ । विगतमा नेपालले उमेर समूहमा गरेको प्रदर्शन र पाएको सफलतालाई विश्लेषण गर्दा सत्यताको सतहमा पुग्नु अति आवश्यक हुन्छ । यहाँ सत्य तीतो हुने भए पनि वास्तविकतालाई भने कदापि बिर्सन सकिँदैन । अन्डर–१९ मा अन्डर–२५ का खेलाडीले खेल्नु नै नेपालको सफलताको राज थियो । अन्डर–१९ खेल्ने बेला नै २० वर्ष उमेर नाघिसकेका खेलाडीले त्यसपछि चार, पाँचपटक अन्डर–१९ समूहबाट क्रिकेट खेलेर नेपाललाई सफलता दिलाएका थिए । यसको उदाहरणका लागि सबैभन्दा बढी अन्डर– १९ का कप्तान बनेका विनोद दासलाई लिन सकिन्छ । स्मरणीय छ, दास अन्डर–१९ का चार–पाँच संस्करण खेलेपछि मात्र उनको उमेर यसका लागि अयोग्य भएको थियो ।
एसीसी यू– १९ इलिट कप र विश्व यू–१९ छनोट चरणका दुवै प्रतियोगितामा उपविजेता बनेर नेपालले आईसीसी यू–१९ विश्वकपमा आफ्नो स्थान सुरक्षित पारेको थियो । छनोट चरणमा गरेको उत्कृष्ट प्रदर्शन र विगतमा यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेकै कारणले यसपटक पनि त्यस्तै प्रदर्शनको विश्वास गरिएको थियो । तर, विडम्बना, यसपटक नेपाल पूर्णरूपमा असफल भएको छ । अस्ट्रेलियामा सञ्चालन भइरहेको विश्वकप क्रिकेटमा नेपालले फितलो, निराशाजनक प्रदर्शन मात्रै नभई सर्मनाक पराजय भोगेको छ । लिग चरणका तीनवटै खेलमा नेपाल नराम्रोसँग पछारिन पुगेको छ । नेपाल आयोजक अस्ट्रेलियासँग दुई सय १२, इंग्ल्यान्डसँग एक सय २७ र आयरल्यान्डसँग १४ रनले पराजित भएको थियो । लगातार तीन खेलमा सर्मनाक पराजय भोगेपछि क्रिकेटमा नेपालको छवि नराम्रोसँग धुमलिन पुगेको छ ।
जसले गर्दा आगामी विश्वकपमा छनोट हुने नेपालको विश्वासमा समेत तुषारापात भएको छ । समूह चरणका खेलमा नेपालले अस्ट्रेलियालाई कडा चुनौती दिने, आयरल्यान्ड र इंग्ल्यान्डमाथि विजय हासिल गर्ने अनुमान गरिएको थियो तर अहिले यो दिवास्वप्नमा परिणत भएको छ । नेपाल आयरल्यान्डबाहेक अस्ट्रेलिया र इंग्ल्यान्डका सामु मुसो सावित भएको छ । यसरी उमेर समूहमा पनि नेपालको चुनौती र दाबी भविष्यका लागि चिन्ताको विषय बनेको छ ।
अहिले उमेर समूहमा नेपालको दयनीय प्रदर्शनले नेपाली क्रिकेट कतातिर मोडिरहेको छ सोझै अनुमान लगाउन सकिन्छ । शिखर चुम्ने बेलामा अधोगतितर्फ उन्मुख हुनुले कस्तो खाले सन्देश दिन खोजेको हो त्यो सोचनीय बनेको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काका शब्दलाई नै सापटी लिने हो भने पनि नेपाली क्रिकेटले सोचेअनुरूप फड्को मार्न सकेको छैन । क्रिकेटको विकास र विस्तारका लागि सरकार र सम्बन्धित निकाय नेपाल क्रिकेट सङ्घले आधारभूत आवश्यकतासमेत पूर्ति गर्न सकेको छैन । जबसम्म सरकारले क्रिकेटको विकासका लागि लगानी गर्दैन र अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधारहरूको निर्माण हँुदैन तबसम्म नेपाली क्रिकेटको स्तरमा सुधार नआउने कप्तान खड्का दाबी छ । सीमित साधनस्रोतका बाबजुद पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको दाबी गर्दै खेलाडीले नियमित प्रशिक्षण र त्यीह किसिमको सुविधा पाए योभन्दा निकै राम्रो प्रदर्शन गर्ने बताएका छन् । पहिले र अहिलेको क्रिकेटको तुलना गर्न नमिल्ने र अहिलेको क्रिकेट निकै प्रतिस्पर्धात्मक भएकोले नेपालको तयारी पनि सोहीबमोजिम हुनुपर्ने कुरा जोड दिएका थिए ।
यू– १९ विश्वकपमा लगातारको पराजयपश्चात् नेपाल प्लेट च्याम्पियनसिपमा धकेलिएको छ । अब नेपालले आफ्नो समूहमा असफल भएका आठवटा टिमसँग प्रतिस्पर्धा गर्नेछ । कुनैबेला उत्कृष्ट प्रदर्शन गरेर प्लेट च्याम्पियनसिपको उपाधि जितिसकेको नेपालले यो प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ त्यो हेर्न लायक भएको छ । वर्तमान अवस्थामा नेपालको प्रदर्शनको चर्चा गर्दा कान खुम्च्याउने अवस्थामा छ । नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा निकै कमजोर सावित भएको छ । अझ कप्तान पृथु बास्कोटाले शून्यलाई पछ्याउन नछोडनु दुर्भाग्य बनेको छ । पृथु पछिल्ला चार खेलमा शून्यमा आउट भएर नेपाली टिमका लागि बोझ सावित भएका छन् । पृथुको आउट अफ फर्मको सोझो प्रभाव नेपाली टिममा पनि परेको छ । ओपनिङ ब्याट्सम्यानद्वय सागर पुन र नरेश बुढाऐर चल्न नसक्नुले पनि नेपालको पारी सस्तोमा नै सिमटिने गरेको छ । अस्टे«लियासँगको आफ्नो पहिलो खेलमा रन बटुल्न नसकेका सागर र नरेश इंग्ल्यान्डसँगको खेलमा शून्यमा आउट भएर नेपाली टोलीका लागि टाउकोदुखाइ बनेका छन् । यस्तो अवस्थामा प्लेट च्याम्पियनका खेल पनि नेपालका लागि सुखद रहलान् भन्न सकिँदैन ।
वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रदर्शन र मापडण्डलाई आत्मसात् गर्ने हो भने दुवैमा नेपाल ‘फेलियर’ सावित भएको छ । पहिलो कुरा नेपालले नामअनुसारको प्रदर्शन गर्न सकेको छैन भने दोस्रो नेपालको स्तरियता नेपाल सुहाउँदो मात्रै छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुहाउने नेपालसँग साधन र स्रोत नै छैन । यस्तो अवस्थामा नेपालले हाल अस्ट्रेलियामा सञ्चालन भइरहेको यू–१९ विश्वकपमा गरेको प्रदर्शनलाई त्यति खराब मान्न सकिँदैन । यसर्थमा कि कोदो रोपेपछि कोदो नै फल्छ । त्यहाँ धानको आशा गर्नु मूर्खताबाहेक केही हुँदैन । कोदोकोे फसल गर्ने क्यानले काट्ने बेलामा धान भित्याउन खोज्ने रणनीतिको परिणाम हो यो । यस्तो परिणाम आउनुमा खेलाडीहरूभन्दा क्यानका पदाधिकारी दोषी छन् । अझ क्रिकेटमा माओवादीको प्रवेशपछि चलेको राजनीति खेलले क्रिकेट संरचनालाई समेत ध्वस्त भएको छ । चाकरी, चाप्लुसी, गुण्डा र कमान्डरहरूले क्रिकेट चलाउन थालेपछि यो दुर्दशा हुनु स्वाभाविकै हो । हेर्दै जाऊँ, यो त सुरुवात मात्रै हो, भोलि नेपाल भुटानसँग पराजित भयो भने पनि कुनै आश्चर्य मान्नुपर्ने छैन । त्यसैले यहाँ रामराम भन्नु नै उचित होला ।
बौद्ध डोजोद्वारा खेलाडी सम्मानित
बौद्ध डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा छैटौँ राष्ट्रिय खेलकुदका पदक विजेता बौद्ध डोजोका खेलाडीलाई हालै नगदसहित सम्मान गरेको छ । नेपाल कराते डो महासङ्घका अध्यक्ष दाबा गुरुङले खेलाडी विजय लामा, सोनाम लामा, निर्मला तामाङ, शान्ति लामा तथा मनीषा मोक्तानलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए । सो अवसरमा महासङ्घका अध्यक्ष गुरुङ, उपाध्यक्ष देवकुमार लामा, सदस्य मजेन्द्रबहादुर सिंह तथा सल्लाहकार चन्द्रमान लामा पनि सम्मानित भएका थिए । अन्तर्राष्ट्रिय रेफ्रीमा उत्तीर्ण भएका राम लामा पनि सम्मानित भएका थिए । सम्मानित भएका पाँचै व्यक्ति बौद्ध डोजोका उत्पादन हुन् ।
एसियाली उसु च्याम्पियनसिपमा नेपाली खेलाडी
भियतनामको होचिमिन्हमा हुने आठौँ एसियाली उसु च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली हालै त्यसतर्फ प्रस्थान गरेको छ । उक्त च्याम्पियनसिपमा पुरुष खेलाडीमा सान्सौतर्फ राजुकमार राई ५२ केजी, युवराज गुरुङ ५६ केजी तथा थाउलोमा निराजन आलेमगरले छान् छ्वान अलराउन्ड र राजु महर्जनले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् । सान्सौको महिलातर्फ झरना गुरुङले ५६ केजीमा भाग लिनेछिन् । थाउलोको नान् छ्वान अलराउन्डमा विद्या महर्जन तथा ताइची छ्वान अलराउन्डमा विनिता महर्जनले खेल्नेछन् । राजको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । सातै खेलाडी सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी हुन् । सो टिमको व्यवस्थापकमा प्रताप थापा र प्रशिक्षकमा प्रणीलध्वज कार्की रहेका छन् ।
नेपालले उक्त प्रतियोगितामा भाग लिन लागेको यो दोस्रोपटक हो । यसअघि म्यानमारमा भएको छैटौँ संस्करणमा नेपालका दुई खेलाडीले सहभागिता जनाएका थिए । अहिलेको टोलीका राजु र युवराजले त्यसबेला नेपालको प्रतिनिधित्व गरेका थिए । भदौ पाँचदेखि नौ गतेसम्म हुने प्रतियोगितामा ५५ राष्ट्रको सहभागिता रहने व्यवस्थापक थापाले जानकारी गराएका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए ।
पाँचौँ हिम्स पौडी प्रतियोगिता हुने
नारायणटारस्थित हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स)को आयोजनामा पाँचौँ हिम्स अन्तरविद्यालय पौडी प्रतियोगिता यसै महिना हुने भएको छ । भदौ १६ र १७ मा हुने प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ यू–१०, ११–१२ वर्ष, १३–१४ वर्ष र १५–१७ वर्ष गरी विभिन्न चार उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका करिब चार सय खेलाडीको सहभागिता रहने हिम्सका प्रिन्सिपल आरसी खनालले जनाएका छन् । टिम रिलेसहित ३४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सुरुका दुई संस्करणको उपाधि लिङ्कनले जितेको थियो ।
विद्यालय खेलकुद विकास बोर्ड गठन हुने
राष्ट्रिय खेलकुद परिषद्ले विद्यालय खेलकुद विकास बोर्ड गठन गर्ने भएको छ । राखेप र प्याब्सनसँगका पदाधिकारी सम्मिलित बैठकले विकास बोर्ड गठन गर्ने निर्णय गरेको हो । राखेप सदस्यसचिव एवम् खेलकुद कलेज स्थापना कार्यदलका संयोजक युवराज लामाको अध्यक्षतामा बसेको बैठकमा कक्षा ११ र १२ मा उच्च माध्यमिक शिक्षा परिषद्ले स्वीकृत गरेको विज्ञान विषयको कक्षा सञ्चालन, नेपाल स्पोर्टस् कलेजको स्थापना र भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो ।
त्यस्तै जुनियर स्पोर्टस् च्याम्पियनसिप र राष्ट्रपति कप आयोजना, स्कुल खेलकुद शिक्षक तालिम तथा प्रत्येक वर्ष खेलकुद दिवस मनाउने सम्बन्धमा पनि छलफल भएको थियो । छलफलका क्रममा सदस्यसचिव लामाले खेलकुद विकास र विस्तारलाई हरेक विधाका खेललाई स्कुल तथा कलेजमा केन्द्रित गर्न जरुरी भएकोले विद्यालय खेलकुद विकास बोर्ड गर्न लागेको जानकारी गराउनुभयो । सदस्यसचिव लामाले ऐतिहासिक दिनको अवसर पारेर खेलकुद दिवसको घोषण गर्नुपर्ने विचार पनि राखेका थिए । उनले उच्च माध्यमिक तहमा खेलकुद विज्ञान प्रभावकारी ढङ्गले लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले खेलकुदको जग मानिएको विद्यालय क्षेत्रलाई विगतको नेतृत्वले बेवास्ता गरेको बताउँदै सम्पूर्ण सरोकारवालालाई समेटेर बोर्ड गठन सकेमा खेलकुदको विकासमा मेरुदण्ड साबित हुने धारणा व्यक्त गरेका थिए । प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिपमा बाघचाल, एथलेटिक्स, कराते (कन्ट्याक्ट इमेन्टबाहेक तल्लो तौल समूह), भलिबल, कबड्डी, तेक्वान्दो, फुटबल, उसु, बुद्धिचाल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, जुडो, बास्केटबल, जिम्न्यास्टिक र पौडी खेल समावेश हुनेछन् । यी खेलबाहेक नेपालको पहिचान भएकाले डन्डिबियोलाई पनि समावेश गर्नुपर्ने पोखरेलको सुझाव थियो ।
कार्यक्रममा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक हरिहर श्रेष्ठ, स्कुल तथा कलेज खेलकुद समन्वय शाखा प्रमुख कुलबहादुर थापा, प्याब्सनका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसी, महासचिव डीके ढुङ्गाना, सचिवद्वय राजेन्द्र बानियाँ र दीपिका थापा, कोषाध्यक्ष ईश्वर गुरुङ तथा सहकोषाध्यक्ष टंक भट्टराईले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
खेलकुद हाजिरीजवाफ असोजमा
प्रथम अन्तरकलेज खेलकुद हाजिरीजवाफ प्रतियोगिता असोज १ गते हुने भएको छ । विद्यार्थीमा खेलकुदप्रति अभिरुचि जगाउने उद्देश्यले नेपाल ओलम्पिक सङ्ग्रहालयले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । शीर्ष तीन स्थान हात पार्ने टिमले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अवसरमा विद्यार्थी वर्गलाई लक्षित गरी रोचक जानकारीमूलक कार्यक्रम तथा विभिन्न स्टलहरू पनि राखिनेछ ।
यू– १४ कराते भदौ अन्तिममा
लैनचौर डोजोको आयोजनामा यू–१४ सितोरियो कराते प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ५५ डोजो र ३५ विद्यालयका करिब पाँच सय ६० खेलाडीको सहभागिता रहने डोजो प्रमुख रामकुमार थारूले जनाएका छन् । पुरुषतर्फ नौ र महिलामा सात गरी कुल १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अनुमानित बजेट ६ लाख रुपैयाँ रहेको डोजो संरक्षक पेम्बा तामाङ (सानु) ले बताए । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।
वृहस्पति थ्री बाई थ्री बास्केटबल हुने
प्रथम वृहस्पति थ्री बाई थ्री मनसुन बास्केटबल प्रतियोगितम आगामी भदौ ९ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । वृहस्पति विद्या सदन कलेज, नक्सालको आयोजनामा हुने प्रतियोगितामा पुरुष १६ टिमको सहभागिता रहने कलेजका कोअर्डिनेटर मनित तिवारीले बताएका छन् । आयोजक क्याम्पसको कोर्टमा हुने प्रतियोगिताका विजयी टिमलाई नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
एलए जुनियर खुला टेनिस अर्को साता
जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को सहयोग तथा लिटिल एन्जल्स स्कुल
(एलएएस) को आयोजनामा छैटौँ एलए÷जेटीआई अन्तरस्कुल जुनियर खुला टेनिस प्रतियोगिता अर्को सातादेखि हुने भएको छ । भदौ ११ गतेदेखि सुरु हुने प्रतियोगितामा छात्र÷छात्राको यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेरसमूहअन्तर्गत सिंगल्स खेल हुनेछ । त्यस्तै यू–१४ मा छात्र÷छात्राको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन सयभन्दा बढी खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् । ६ दिने प्रतियोगिताका खेलहरू हात्तीवनस्थित आयोजकको कोर्टका साथै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन् ।
प्रतिक्रिया