नेताप्रतिको वितृष्णा -बबिता बस्नेत

नेताप्रतिको वितृष्णा -बबिता बस्नेत


गत पुस ४ गते कामविशेषले नेपालगञ्ज पुग्दा त्यस दिन सो क्षेत्र पूरै बन्द रहेछ । के कारणले बन्द भएको हो भनेर सोध्दा ‘खै नेताहरू मरे होलान् नि’ भन्ने जवाफ पाइयो । राजधानीबाट नेपालगञ्ज हुँदै दाङ, सर्ुर्खेतलगायत विभिन्न ठाउँमा पुग्नुपर्ने यात्रुको अनुहार मलिन थियो, एयरपोर्टबाहिर केही मानिसहरू नेतालाई गाली गरिरहेका थिए । यो, ऊ भन्ने केही थिएन, यो सब फटाहा नेताहरूको कारणले भएको हो भन्दै ठूलो स्वरमा उनीहरू प्याकेजमै सबै नेताहरूलाई गाली गरिरहेका थिए । कुरा सुन्दा कुनै नेताले ठूलै बद्मासी गरेको सहज अनुमान गर्न सकिन्थ्यो । त्यहाँ बस्दाबस्दै थाहा भो- बन्द थरूहटले गरेको रहेछ, थरूहटले गरेको बन्दमा नेतालाई यति धेरै गाली किन होला – रिक्सामा चढेको बेला एक-अर्काबीच कुरा गर्दै रहँदा एक्कासि रिक्साचालक बोल, ‘नेताहरूले राम्रो गरिदिएका भए अहिले मुलुक अर्कै हुन्थ्यो, बन्द, अभावजस्ता कुराहरू भोग्नु त पर्ने थिएन ।’ बन्द हुँदा त रिक्सालाई फाइदै हुन्छ नि, अरू गाडी चल्दैनन्, ग्राहक धेरै पाइन्छ… कुरा नसकिँदै जवाफ आयो, हामी नेताजस्तो हो र आफ्नो मात्रै कुरा -स्वार्थ भन्न खोजिएको) हेर्ने – बन्दले गर्दा कतिले दुःख पाए त्यो पो हेर्नुपर्छ । सोही साँझ आफू बसेको होटेलको रेस्टुरेन्टमा खाना खाँदै गर्दा टेलिभिजनमा समाचार आइरहेको थियो । रामचन्द्र पौडेल, प्रचण्ड, झलनाथ खनाललगायतका नेताहरू टेलिभिजनमा देखिएका मात्र के थिए अर्को टेबुलमा रहेका केही मानिसहरूमध्ये एकले रेस्टुरेन्टवालालाई भने- अर्को कुनै च्यानल लगाउनुस् न कति हेर्नु यिनीहरूलाई – देशमाराहरू, यिनीहरूलाई देख्यो कि कस्तो भएर आउँछ, टेलिभिजनले पनि कति देखाउनुपर्ने यिनीहरूलाई – भन्दै तिनले टेलिभिजन च्यानलहरूलाई पनि खुबै गाली गरे । सँगै रहेका अर्का व्यक्तिले थपे- एउटाले मात्रै हो र – सबैले यिनीहरूलाई नै देखाउँछन्, किन देखाएका यिनीहरूले – तिनले पनि खुबै आक्रोश पोखे । ‘न कुनै काम गर्छन् न केही टेलिभिजनमा देखिन लाज पनि छैन’ यस्तै भन्दै आक्रोशित मुद्रामै तिनीहरूले खाना खाए । नेताहरूप्रतिको करिब यस्तै आक्रोश त्यसको ठीक एक हप्ताअगाडि जनकपुरमा पनि देखिएको थियो । महन्त ठाकुरलगायतका नेताले चढेका गाडीहरूको लहरले हिन्दी सिनेमाको शैलीमा धुलो उडाउँदै हिँडेपछि एक स्थानीयले भनेका थिए, ‘कुछ शर्म होता तो ऐसा नही करता ।’ तिनको आक्रोश पनि संविधान बनाउनमा तदारुकता अपनाउनु छैन अनावश्यक… भन्ने अर्थमा थियो ।
राजधानीमा होस् या जिल्लामा, गाउँगाउँमा र गल्लीगल्लीमा हिजोआज मानिसहरू नेतालाई गाली गरिरहेका भेटिन्छन् । अब त मुलुकमा केही होला भन्ने आशा गर्दागर्दै एउटा प्रधानमन्त्री पदमा सहमति जुटाउनसमेत महिनौँ लगाएपछि सर्वसाधारणको मनमा नेताहरूप्रति वितृष्णा मात्रै होइन घृणा नै पलाएको देखिन्छ । ‘हामीले त यिनीहरूलाई संविधान लेख्न पठाएका थियौँ तर यिनीहरू के गर्दै छन् – नेताहरू जे गरिरहेका छन् त्यसका लागि त हामीले पठाएका थिएनौँ’ भन्नेहरूको सङ्ख्या धेरै ठूलो छ । म्यान्डेटअनुसारको काम नगरेमा नेतालाई दिएको भोट जनताले फिर्ता लिन पाउने अधिकार संविधानमै सुरक्षित गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । यदि त्यस्तो भयो भने नेताहरूलाई भविष्यमा राजनीति गर्न धेरै गाह्रो हुनेछ । केही समयअघि मिरेष्ट नेपालको सार्वजनिक सुनुवाइ शैलीको टेलिभिजन कार्यक्रममा एक सर्वसाधारणले ‘नेताहरूले देश र जनतालाई धोखा दिए, त्यस्ता नेतालाई भोट हालेकोमा मलाई ग्लानि छ, म मेरो भोट फिर्ता लिन चाहन्छु’ भन्दा त्यहाँ उपस्थित सबैले जोडदारले ताली बजाएर उनलाई समर्थन गरेका थिए । भोलि सबै मतदाता नेपालीले यसो भन्न थाले भने के होला – विभिन्न अधिकारका लागि लड्दै आएकी सामाजिक कार्यकर्ता मोहिनी महर्जनले मतदाताको चाहनाको दुरुपयोग नहोस् भनेर यसप्रकारको अभियान नै सुरु गरेकी छिन् । राजधानीको नेवारी समुदायमा काम गर्दै आएकी उनको यो अभियानलाई महिला अधिकारवादीहरूले पनि साथ दिने भएका छन् । मोहिनीका अनुसार यसको नाम नै ‘भोट फिर्ता अभियान’ हुनेछ । जनचाहनाअनुरूप काम नगर्ने नेतालाई जनताले फिर्ता बोलाउन पाउने अधिकार संविधानमै सुरक्षित हुनुपर्ने धारणा उनको छ । मोहिनी अधिवक्ता पनि हुन् । संविधानसभाको पहिलो दुईवर्षो म्याद सकिँदासम्म नउठेका यस्ता सवालहरू अहिले किन उठिरहेका छन् – त्यसको एक मात्र कारण नेताहरूमाथि जनताको घट्दो विश्वास नै हो । राजनीतिक दल र तिनका नेताहरूप्रति वितृष्णा जाग्ने अवस्थाको सिर्जना अरूले गरिदिएका भने होइनन्, नेता आफैंले गरेका हुन् । एमाले अध्यक्ष झलनाथ खनालमाथि देवीप्रसादको प्रहार यही घृणाको चरम रूप हो ।
कसैमाथि शारीरिक आक्रमण हुनु निश्चय नै सभ्यताको प्रतीक होइन । तर, झलनाथमाथि भएको व्यवहारलाई लिएर जे-जस्ता प्रतिक्रियाहरू जनमानसमा छाएका छन् त्यसबाट भने अब नेताहरूले आफूहरूलाई हेर्ने सर्वसाधारणको दृष्टिकोणमाथि एकपल्ट सोचविचार गर्नैपर्छ । साधारण घटनाको रूपमा हेर्ने हो भने यो प्रकरणमा झलनाथ पीडित र देवीप्रसाद पीडक हुन् । साधारणतया पीडितको पक्षमा जनमत बन्ने गर्छ तर यहाँ त नेता झलनाथ खनालमाथि सहानुभूति राख्नेमा दलका नेताहरू र उहाँका आफ्नै केही कार्यकर्ताहरू मात्रै देखिए । यता उहाँलाई गालामा झापड हान्ने देवीप्रसाद रेग्मीका पक्षमा भने देश-विदेशबाट नैतिक एवम् आर्थिक सहयोग जुट्ने क्रम जारी छ । पीडित भए पनि नेता खनालप्रति सर्वसाधारणले सहानुभूति राखेको पाइएन, त्यसको प्रमुख कारण यसबीचमा हाम्रा नेताहरूले देखाएको पद लोलुपता नै हो । पिटाइ उहाँ एक्लैले खानु भो अलग कुरा हो तर गल्ती भने सबै नेताहरूको उस्तै प्रकारको छ, मात्रा पनि धेरै तलमाथि छैन । मानिसहरूले हेर्ने दृष्टिकोणमा पनि खासै फरक छैन । हामीकहाँ ‘हेट स्पिच’ -घृणास्पद शब्द प्रहार) को सुरुवात पनि गणतन्त्रपछि यिनै नेताहरूबाट सुरु भएको हो । शब्दले प्रहार गरे पनि शारीरिक आक्रमणकै सुरुवात हुनुलाई चाहिँ राम्रो सङ्केत मान्न सकिन्न । यसमा पनि मानिसहरूले नेतृत्वकै दोष देखिरहेका छन्, हिजो सीडीओ कुट्ने मन्त्रीलाई कारबाही भएको भए, मन्त्रीमाथि हातपात गर्ने माओवादी सभासद्हरूलाई कारबाही भएको भए… भन्ने प्रतिक्रियाहरू यत्रतत्र आएका छन् । विदेशमा बस्ने नेपालीहरूबाट देवीप्रसादले पाएको साथको पनि अर्थ छ, ‘तिमीहरूको देशमा त प्रधानमन्त्रीका लागि नै सबैको हारालुछ हुँदो रहेछ, त्यस्तो तरिकाले देश कहिले बन्छ – संविधान कहिले बन्छ -‘ भनेर तिनका साथीहरूले सोध्दा शिर निहुर्‍याउनुपरेको पीडा उनीहरूसँग छ । त्यसैले स्वदेशमा या विदेशमा जो जहाँ बसेर गरेको भए पनि देवीप्रसाद रेग्मीले पाएको सहानुभूति र सम्मानलाई नेताहरूप्रतिको वितृष्णाको प्रदर्शनका रूपमा लिनुपर्छ ।