तुलसीपुर ‘स्पोर्ट्स सिटी’ निर्माण गर्न अन्तरक्रिया

तुलसीपुर ‘स्पोर्ट्स सिटी’ निर्माण गर्न अन्तरक्रिया


राष्ट्रिय खेलकुद परिषद्ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया गरेको छ ।

तुलसीपुरमा माघ २२ गते सोमबार आयोजित अन्तरक्रियामा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलकुद संरचना निर्माणमा गरिएको लगानीलाई खर्चका रुपमा हेर्न नहुने धारणा व्यक्त गरेका थिए ।

स्वस्थ नागरिक र अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी उत्पादनका लगानी हो भन्ने बुझ्नु पर्नेमा विष्टले जोड दिएका थिए । विष्टले स्पोर्ट्स सिटी निर्माण गर्न परिषद् प्रतिबद्ध रहेको बताउदै यो कार्यमा सम्बन्धित सबैको साथ पनि उत्तिकै आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्पोर्ट्स सिटी निर्माण गर्न राखेपसंग साझेदारी गर्न तयार रहेको बताउदै स्पोर्ट्स एकेडेमी बनाउन उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको सो अवसरमा जानकारी गराएका थिए । पाण्डेले १ वडा १ खेल मैदान बनाउने उपमहानगरपालिकाको योजना रहेको समेत प्रस्ट पारेका थिए ।

तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्न राखेपले राखेपका सदस्य विनोद मैनालीको संयोजकत्वमा ५ सदस्यीय तुलसीपुर स्पोर्ट्स सिटी सम्भाब्यता अध्ययन कार्यदल निर्माण गरेको छ । कुन स्थानमा स्पोर्ट्स सिटी निर्माण गर्न उपयुक्त हुन्छ भनि तुलसीपुरका विभिन्न १९ वडामा जग्गाको अवलोकन समेत गरेको कार्यदलका सदस्य शिवराज भट्टले जानकारी दिएका थिए ।