आईटीएफ टेनिसमा मायाङ्का, माहिका र प्रेरणा विजयी

आईटीएफ टेनिसमा मायाङ्का, माहिका र प्रेरणा विजयी


नेपालका मायाङ्का राणा, माहिका राणा र प्रेरणा कोइरालाले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत महिला डबल्समा जित हात पारेका छन् ।

मायाङ्काले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर ताइपेईंकी स्किया कुङ र जापानकी मानामी उकिताको जोडीलाई ६–७, ६–० र १०–८ को सेटमा पराजित गरे । प्रेरणाले विदेशी खेलाडी अमेरिकाकी रुतुजा छप्हल्करसंग मिलेर नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरेका थिए । विजेता दुवै जोडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महिला डबल्समै नेपालीकी प्रकृति श्रेष्ठ र भारतकी श्रीनिधि श्रृधर, भारतका स्मृति भासिन र रुदया शाह, जापानका आयुमी हामा र कनोन यासुमोतो, चीनका यिमिङ दाङ र क्विनयु लिउ, भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहापात्रा, हङकङकी छुइ केइ लियुङ र भारतकी सान्या सिंहको जोडीले सफलता हात पार्दै क्वाटरफाइनलमा पुगे ।

पुरुष डबल्समा भारतका वंश भग्तानी र जैशविन सिडाना, जापानका दाइसुके इनागावा र ताइसेई कागेयामा, लाओसका फथिकोने कन्याफन र थाइल्यान्डका तानापात निरुनडोर्न, भारतका तरुस बगाई र रोहन श्रीवास्तव, चीनका वेन्माओ लि र याङझुवान लि, भारतका अनुराग अग्रवाल र प्रशन्न प्रवीण बगाडे, भारतका भूपेन्द्र दहिया र कृषन हुडा तथा जापनका ताइयो हिरानो र ताईपेईका चिया फान साउको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरे ।

पुरुष सिंगल्समा पाकिस्तानका मुहम्मद नौमन अफ्ताब, चीनका ग्वाङलिन वेन, ताइपेइंका चिया फन साउ र ताईपेईकै काइ सियाङ याङले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

महिला सिंगल्समा भारतकी साना खन्ना, नेपालकी एनी माथेमा, भारतकी अर्चिता महलवाल, जापानकी कानोन यासुमोतो र अमेरिकाकी रुतुजा छप्हल्कर प्रिक्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रहे ।