(अध्यक्ष, राखेप कर्मचारी सङ्घ)
विश्वव्यापी रूपमा बढ्दै गएको खेलकुदको लोकप्रियताले अहिले विशुद्ध ‘राजनीति’ मात्र गर्ने राजनीतिक दलको ध्यानाकर्षक गर्न सफल भएको छ । अहिले राजनीतिक दलहरू खेलकुदलाई राजनीतिको अभिन्न पाटोको रूपमा समेत व्याख्या गर्न थालेका छन् । हिजोसम्म खेलकुद भनेपछि सौताको छोरोको जस्तो व्यवहार गर्ने राजनीतिक दलहरू अहिले खेलकुदबिनाको राजनीतिलाई अपूरो देख्न थालेका छन् । तसर्थ खेलकुदको विकास सरकारी निकायबाट मात्र असम्भव भएको ठहर गर्दै दलगत रूपमा पनि ‘खेलकुद सङ्गठन’ गठन र विस्तार गरिरहेका छन् । यो दौडमा एमाओवादी सबैभन्दा अग्रपङ्क्तिमा देखिएको छ भने त्यसपछि नेकपा एमाले । विगतमा समग्र खेलकुदको विकासका लागि राखेपप्रति औंला उठाउँदै आएको नेपाली काङ्ग्रेसले पनि ‘खेलकुद विभाग’को गठन गरेर आफूलाई पनि यो दौडमा सामेल गरेको छ । राखेपजस्तै सशक्त र समानान्तर सङ्घ ‘लोकतान्त्रिक खेलकुद महासङ्घ’ गठन गरेर खेलकुदमा झुल्किनेमा नेका प्रयासरत देखिएको छ । खेलकुदमा अहिले निकै चासोको विषय बन्दै गएको नेकाको यो कदम अब भविष्य कति प्रभावशाली बन्छ त्यो मुद्दामा केन्द्रित रहेर राखेप कर्मचारी सङ्घका अध्यक्ष तथा नेकाका उदीयमान युवा नेता नारायणदेव राणासँग घटना र विचारले गरेको कुराकानी
० निकट भविष्यमै लोकतान्त्रिक खेलकुद महासङ्घ गठन हुन गइरहेको छ, कस्तो छ चहलपहल ?
– अहिलेसम्म दुई ठूला राजनीतिक पार्टी एमाओवादी र एमालेको खेलकुद महासङ्घ गठन भइसकेको छ । नेपाली काङ्ग्रेसले पनि खेलकुद विभाग गठन गरिसकेको अवस्थामा खेलकुद महासङ्घको गठनको चर्चा चल्नु र चहलपहल बढनु स्वाभाविकै हो । हो, नेकाले निकट भविष्यमै समग्र खेलकुदको विकास र विस्तारलाई आत्मसात् गर्दै छुट्टै लोकतान्त्रिक खेलकुद महासङ्घको गठन लागेको हो ।
० काङ्ग्रेसले खेलकुद नबुझेर हो या बुझ पचाएर हो अन्य पार्टीले जसरी खेलकुदलाई त्यति महत्व दिएको देखिँदैन नि ?
– काङ्ग्रेसले खेलकुद नबुझेको पनि होइन, बुझ पचाएको पनि होइन । साँचो अर्थमा भन्दाखेरि खेलकुदको जग बसाउने पार्टी नै नेका हो । तसर्र्थ यस्तो गलत आरोप नेकालाई लगाउन कदापि मिल्दैन । यस्तो आरोप लगाउनुअघि एकपटक इतिहास पल्टाउनु बेस होला, खेलकुदसँग काङ्ग्रेसको कस्तो नाता थियो भनेर । नेकालाई खेलकुदको माध्यमबाट देशव्यापी रूपमा सङ्गठन बलियो बनाउन सकिन्छ भन्ने राम्ररी थाहा छ । नेकामा विगतमा विभागहरू गठन नभएका कारणले गर्दा ढिलाइ हुन गएको जस्तो मलाई लाग्छ । वास्तविक रूपमा भन्ने हो भने अन्य राजनीतिक दलहरूभन्दा नेकाले खेलकुदलाई निकै सूक्ष्म र नजिकबाट बुझेको छ, जुन अहिले भएका सङ्गठनले गरेका कार्यकुशलताबाट नै थाहा पाउन सकिन्छ ।
० त्यसो भए अब नेकाले लोकतान्त्रिक खेलकुद महासङ्घ गठन गर्ने पक्का हो त ?
– अवश्य हो, जसका लागि अहिले व्यापक गृहकार्य पनि भइरहेको छ । त्यसको अलावा खेलकुद विभाग पनि पूर्णरूपमा गठन हुँदै छ । नेकाले खेलकुदमा सङ्गठनका लागि लागिरहेका साथीहरू कुनै पनि नछुट्नेगरी क्षेत्र, जिल्ला हुँदै इकाइसम्म अटाउने गरी कार्य अगाडि बढाइरहेको छ । जसलाई अहिले निकै सकारात्मक रूपमा हेरिएको छ ।
० लोकतान्त्रिक खेलकुद महासङ्घ गठन हुने त भन्नुभयो, त्यसको उम्मेवार चयनको प्रक्रियाचाहिँ के हो त ?
– मेरो विचारमा नेकामा क्रियाशील र खेलकुदमा निरन्तर लागिरहेका व्यक्तिहरूबाट छनोट गर्दा उचित हुन्छ । मैले पाएको जानकारीअनुसार पार्टीले पनि यही कुरालाई विशेष महत्व दिएको छ । राष्ट्रको पहिचान र युवाशक्तिको उत्पादनमा खेलकुदको विशेष महत्व रहने भएकोले पार्टीले उम्मेरवारको चयन गर्दा दूरदर्शी भएर गर्नुपर्ने देखिन्छ । वर्तमान अवस्थामा अन्य दलले खेलकुदमा पकड कायम गर्न विभिन्न रणनीतिहरूको अख्तियार गरिरहेको अवस्थामा नेका अझ सशक्त ढङ्गबाट खेलकुदमा आउने पक्का छ ।
० कस्तो व्यक्तिको छनोट गर्दा पार्टी र खेलकुदलाई फाइदा पुग्छ जस्तो लाग्छ ? राजनीतिक चलखेल हुने सम्भावना कत्तिको देख्नुभएको छ ?
– मेरो विचारमा त्यस्तो व्यक्ति होस् जसले खेलकुदमा सङ्गठन गरिरहेको होस् । जसमा अधिराज्यभरि खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्षमता र खेलकुदका सम्पूर्ण युवालाई परिचालन गर्ने आँट र साहस होस् । अझ खेलकुदमा भिजेको र आमखेलकर्मीसँग परिचित व्यक्ति भयो भने सुनमा सुगन्ध हुनेछ । जहाँसम्म राजनीतिक चलखेलको कुरा छ यो महासङ्घको गठन एक राजनीतिक पार्टीले गर्ने भएकोले थोरबहुत राजनीति हुनुलाई अन्यथा मान्नुहुँदैन । पद प्राप्तिका लागि राजनीतिक कार्यकर्ताले दौडधुप र दाबी प्रस्तुत गर्नु स्वाभाविकै हो । त्यो लागे–पुगेसम्म जसले पनि गर्छ ।
० त्यसो भए खेलकुद महासङ्घमा राजनीतिक व्यक्तित्वको नियुक्ति भए पनि केही फरक पर्दैन भन्न खोज्नुभएको हो ?
– होइन–होइन, मैले त्यस्तो कदापि भन्न खोजेको होइन । मेरो आशय के हो भने राजनीतिक पार्टीको खेलकुद सङ्गठन भएकाले राजनीतिक कार्यकर्ताले आफ्नो हकअधिकार प्रस्तुत गर्न सक्छन् मात्र भन्न खोजेको हुँ । कसलाई नेतृत्वमा ल्याउने–नल्याउने भन्ने कुराको निर्णय त पार्टीले गर्ने कुरा हो ।
० लोकतान्त्रिक खेलकुद महासङ्घको नेतृत्वको दौडमा तपाईं पनि सामेल हुनुहुन्छ रे, आखिर सत्य के हो ?
– तपाईंले सही कुरा सुन्नुभएको हो, म पनि यो दौडमा सामेल छु । मैले विगत तीन दशकदेखि खेलकुदमा रगत–पसिना बगाएको हुनाले मैले उक्त दौडमा सामेल हुन आफूलाई योग्य र स्वाभाविकै ठानेको छु । खेलाडी, प्रशिक्षक र पदाधिकारीसम्म हुँदा मैले समग्र खेलकुदको विकासका लागि अहम् भूमिका निभाएको छु । अर्को कुरा, खेलकुदमा नेका सुस्ताएको अवस्थामा मैले नेकाको तर्फबाट मोर्चाबन्दी गरेर अगाडि बढेको कसैबाट छिपेको छैन ।
० तपाईं अहिले पनि राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घको अध्यक्ष हुनुहुन्छ, अनि कसरी दोहोरो जिम्मेवारी सम्हाल्नुहुन्छ त ?
– यो सबै समय र परिस्थितिले आफैँ सुल्झाउने कुरा हो । त्यो जिम्मेवारी पाएपछि मिलाउने तालमेल हो ।
जहाँसम्म कर्मचारी सङ्घको अध्यक्षको कुरा छ, अब त्यसको कार्यकाल सकिन केही महिना मात्र बाँकी छ । मेरो दोस्रो कार्यकाल सकिन लागिरहेको अवस्थामा अर्को सङ्गठनको जिम्मेवारी समाल्न मलाई कठिन छैन । तसर्थ पार्टीले मलाई खेलकुद महासङ्घको नेतृत्वको जिम्मेवारी दिएको खण्डमा पछि हट्ने कुरै आउँदैन ।
० अहिलेसम्म नेकाले तपाईंलाई खेलकुदको कुनै महत्वपूर्ण जिम्मेवारी दिएको छैन, यो जिम्मेवारी पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– हो, म राखेप कर्मचारी सङ्घको अध्यक्ष साथीहरूको सहयोग र आफ्नै बलबुताले भएको हुँ । त्यो मेरो कुनै राजनीतिक नियुक्ति थिएन । यसपटक राजनीतिक नियुक्ति पाएर खेलकुद हाँक्न पाएमा अवश्य गौवरान्वित हुने थिएँ । राजनीतिक होस् या खेलकुद हरेक क्षेत्रमा युवाहरूको काँधमा जिम्मेवारी दिँदै आएको नेकाले यसपटक योग्य व्यक्तिलाई खेलकुदको नेतृत्व सुम्पने कुरामा म ढुक्क छु ।
० योभन्दाअघि दुईवटा लोकतान्त्रिक खेलकुद महासङ्घ गठन भएका थिए ? अब तिनीहरूको अस्तित्व के हुन्छ त ?
– नेकाको खेलकुद विभाग गठन नभएको समयमा ती महासङ्घ गठन भएको हुँदा विभागको गठनसँगै तिनीहरूको अस्तित्व समाप्त भइसकेको छ । विगतमा ती महासङ्घहरू आवरणमा देखिए पनि पार्टीले आधिकारिकता नदिएको अवस्था थियो । तसर्थ अब गठन हुने महासङ्घ नेकाले गठन गरेको वैधानिक खेलकुद महासङ्घ हुनेछ । जुन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा समग्र खेलकुदको विकासमा लाग्नेछ । जसले पार्टी पनि आफ्नो एक विशेष अङ्गको रूपमा सञ्चालन गर्नेछ ।
० महासङ्घको गठन निर्वाचनबाट हुन्छ कि सहमतिबाट ?
– हालको अवस्थामा देशव्यापी रूपमा समेटेर तदर्थ समिति गठन गर्ने मात्रै हो । तदर्थ समिति गठन भएपछि निश्चित समय अर्थात् तोकिएको समयमा निर्वाचनमा जानुपर्छ । जहाँसम्म निर्वाचन र सहमतिको कुरा छ, नेका भनेको प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकोले जुन ढङ्गले गए पनि त्यो प्रजातान्त्रिक हुने कुरामा सायदै दुईमत होला ।
नेपाल आईसीसी विश्व क्रिकेट डिभिजन तीनमा
मलेसियामा आयोजित आईसीसी विश्व क्रिकेट डिभिजन चारमा लगातार पाँच खेल जितेर नेपाल डिभिजन तीनमा उक्लिएको छ । आफ्नो पाँचौँ खेलमा डेनमार्कलाई पराजित गरेर नेपालले यो उपलब्धि हासिल गरेको हो । प्रतियोगितामा लगातार पाँच खेल जितेर फाइनलमा प्रवेश गरेपछि नेपाल डिभिजन तीनमा उक्लिएको हो । स्मरणीय छ, प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टिम अर्को चरणमा प्रवेश गर्छन् । यसअघि नेपालले अमेरिकालाई ३२ रन, सिंगापुरलाई पाँच, तान्जिनियालाई आठ र मलेसियालाई १० विकेटले पराजित गरेको थियो । डिभिजन तीनमा प्रवेश गर्न औपचारिता मात्रै बाँकी रहेको डेनमार्कविरुद्धको खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले डिभिजन तीनमा फड्को मारेको हो । यो प्रतियोगितामा नेपाली खेलाडीले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । चर्चित खेलाडी शक्ति गौचनले विश्वकीर्तिमान कायम गर्ने क्रममा १० ओभरमा आठ मेडनसहित मात्र दुई रन दिएर तीन विकेट लिएका थिए । त्यस्तै यो प्रतियोगितामा सुवास खकुरेलले शतकीय पारी खेलेका थिए । त्यस्तै संयुक्त राज्य अमेरिका आफ्नो अन्तिम खेलमा सिंगापुरलाई पराजित गरेर डिभिजन तीनमा उक्लिने दोस्रो टोली बनेको छ । उक्त महत्वपूर्ण खेलमा अमेरिकाले सिंगापुरलाई ३७ रनले पराजित गरेको थियो ।
कृष्णमानलाई आर्थिक सहयोग
नसासम्बन्धी रोगबाट पीडित बक्सिङ सहायक प्रशिक्षक कृष्णमान श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लन्डनमा बस्दै आएका नेपाली एमेच्योर बक्सिङ खेलाडी सिद्धार्थविक्रम भण्डारीको विशेष पहलमा महर्जनको स्वास्थ्य उपचारका लागि रकम सङ्कलन गर्न कमेडी शो आयोजना गरिएको थियो । त्यसबाट सङ्कलित एक हजार ४१ पाउन्ड ललितपुर जिल्ला बक्सिङ सङ्घका सचिव एवम् आठौं दक्षिण एसियाली महासङ्घीय खेलकुदअन्तर्गत बक्सिङका स्वर्ण पदक विजेता प्रकाश थापामगरले कृष्णलाई हस्तान्तरण गरेका छन् । त्यस्तै राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पनि कृष्णलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कोषका सदस्यसचिव एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए । पाँचौँ साफका रजत, सातौँ साफका कास्य जितेका तथा चारपटकका पूर्वराष्ट्रिय च्याम्पियन कृष्णलाई डाक्टरले दिल्लीमा उपचार गर्न सल्लाह दिएका छन् । उनको उपचारका लागि आठदेखि १० लाख खर्च हुने बताइएको छ । यसअघि कृष्णलाई नेपाल बक्सिङ सङ्घ, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत करार कर्मचारी, मकाउमा बसोबास गर्ने नेपालीलगायतले आर्थिक सहयोग प्रदान गरेका थिए ।
महर्जनले सिड्नी म्याराथन दौडने
नेपाली भेट्रान धावक रामकृष्ण महर्जनले अस्ट्रेलियाको सिड्नीमा हुने सिड्नी म्याराथनमा भाग लिने भएका छन् । म्याराथन भदौ ३१ मा हुँदै छ । उक्त म्याराथनअन्तर्गत महर्जनले ५०–५५ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । महर्जनलाई दक्षिण एसियाली कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र एथलेटिक्स प्रमुख प्रशिक्षक सुशीलनरसिंह राणाले प्रशिक्षण दिइरहेका छन् । ५३ वर्षीय महर्जनले ६ महिनादेखि दिनको दुई समय प्रशिक्षण गरिरहेका छन् ।
इलाममा अन्तर्राष्ट्रिय बुद्धिचाल हुने
नेपाली बुद्धिचालकै इतिहासमा सर्वाधिक नगद पुरस्कार राशिको रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता इलाममा हुने भएको छ । इलाम जिल्ला बुद्धिचाल सङ्घ र गजुरमुखी चेस क्लबको
संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता असोज ८ देखि १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा करिब १० राष्ट्रका दुई सय खेलाडीको सहभागिता रहने कुरा आयोजकले जानकारी गराएको छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: ६० हजार, ४० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, २०औँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार दिइने बताइएको छ । यसबाहेक अन्य विभिन्न २० विधामा पनि नगद पुरस्कार प्रदान गरिनेछ । फिडे स्विस लिग प्रणालीअनुसार १० राउन्डसम्म खेल सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गजुरमुखी निर्माण कम्पनी प्रा.लि. तथा सहप्रायोजकमा निर्माण व्यवसायी महासङ्घ, काठमाडौं रहेको छ । प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया