नक्सा विवादमा क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कूल

नक्सा विवादमा क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कूल


छविलाल बगाले
भूकम्प गएको पनि ३३ महिना बितिसक्यो । तर काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलको पुनर्निर्माणले गति पाउन सकेन् । विद्यालयको पुनर्निर्माणमा रानीपोखरी काण्ड दोहोरिने होकी की भन्ने शंका उत्पन्न हुन थालेको छ ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दरबार हाइस्कूलको पुननिर्माणको कार्य अझै शुरु हुन सकेको छैन् । विद्यालय निर्माणको नक्सा विवादका कारण विद्यालय पुननिर्माणले गति लिन नसकेको हो ।

भूकम्प गएलगत्तै शुरुमै दरबार हाइस्कूलको भवन निर्माण गर्ने भनिएपनि अहिलेसम्म निर्माण शुरु नहुँदा अध्ययनरत विद्यार्थी र शिक्षकहरु टहरामै अध्ययन अध्यापन गर्न बाध्य भएका छन् । नेपाल सरकार र चीन सरकारको लगानीमा निर्माण गरिने भनिएको यो विद्यालयको पुननिर्माणको कार्य यतिबेला नक्सा विवादमा तानिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दरबार हाइस्कुलको पुननिर्माण बाह्य स्वरुप परम्परागत ढाँचामा रहने गरी यथाशीघ्र पुननिर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिइरहेपनि नक्सा विवादका कारण निर्माणले गति लिन नसकेको हो । विद्यालयको मौलिकता नमासिने गरी नक्शांकन गर्न पुरातत्व विभागले पनि विद्यालयलाई निर्देशन दिदै आएको छ । तर विद्यालयको पहलमा निर्माण कम्पनीले तयार पारेको नक्सामा पुरातत्वले पटक पटक त्रुटि देखाउँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक अखिलेश आजादले जानकारी दिए । ‘पुरातत्वले नै हामीलाई विद्यालय निर्माणको नक्सा किन दिन सक्दैन् ?’ प्रश्न गर्दै आजादले भने, ‘मुलुकभरी भूकम्पद्धारा क्षतिग्रस्त विद्यालयको निर्माण कार्य धमाधम भइरहेको छ । तर हामीलाई किन यस्तो सास्ती ?’

विद्यालय निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीले तयार गरेको नक्सामा विद्यालयको मौलिकता हराएको भन्दै पुरातत्वले निर्माण रोकिरहेको छ । यता, काठमाडौं महानगरपालिकाले पुरातत्व विभागले नक्सा पास गरिदिएपछि निर्माण अघि बढाउन अनुमति दिने जनाउँदै आएको छ । नक्साका बारेमा प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र विद्यालय ब्यवस्थापन समितिबिच पटक पटक छलफल भएपनि विद्यालय कहिले निर्माण हुन्छ भन्नेमा अन्योल कायमै रहेको सहायक प्रधानाध्यापक आजादको भनाई छ । ‘जति पटक नक्सा बनाएपनि त्रुटि देखाउनेले नक्सा बनाउन किन सक्दैन् ?’ उनी भन्छन्, ‘टहरामै अध्यन अध्यापन गराएको तीन बर्ष वित्न लाग्यो । नक्सामा अल्झाएर विद्यार्थीको पढ्न पाउने अधिकार माथि खलबाड गर्न पाइदैन् ।’

पुरातत्वको क्षेत्रमा काम गर्दै आइरहेको पुरातत्व र पुननिर्माण प्राधिकरणले नै विद्यालयको परम्परागत मौलिकता रहने गरी नक्सा दिएको भए विद्यालय समयमा निर्माण भइसक्ने शिक्षकहरु बताउँछन् । विद्यालयको पुननिर्माण कार्य अविलम्व सम्पन्न गर्न शिक्षा मन्त्रालय, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले आवश्यक प्रक्रियाहरु पूरा गरिदिने र शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चिनियाँ पक्षसँग आवश्यक समन्वय र सहजीकरण गरी यथाशीघ्र पुननिर्माण कार्य अघि बढाउने सहमति भएपनि अहिलेसम्म निर्माणले गति लिनसकेको छैन् ।

मुलुकभरका क्षतिग्रस्त विद्यालयहरुको भवन निर्माण धमाधम भइरहँदा काठमाडौंको मुटुमै रहेको दरबार हाइस्कुल निर्माणमा शंका उब्जिन थालेको छ ।