महान् नेतृको महाप्रस्थान -बबिता बस्नेत

महान् नेतृको महाप्रस्थान -बबिता बस्नेत


नेपालको महिला आन्दोलनकी अग्रणी नेतृ प्रा.डा. शान्ता थपलिया अब यो संसारमा रहनुभएन । यही माघ २४ गते उहाँको निधन भएको छ । केही समयदेखि उहाँ पाठेघरको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । नेपाल कानुन क्याम्पसमा लामो समय प्राध्यापन गर्नुभएकी कानुनकी ज्ञाता उहाँले असमान कानुन र भेदभावविरुद्ध जीन्दगीभर लडाइँ लड्नुभएको थियो । छोरासरह छोरीलाई पैतृक सम्पत्तिमा अधिकारको सवालमा उहाँले निर्वाह गर्नुभएको भूमिका इतिहासमै सदा स्मरणीय रहनेछ । पैतृक सम्पत्तिमा अधिकारका लागि आवाज उठाउँदा उहाँले अनेक प्रकारका आरोपहरू खप्नुपर्‍यो तर आफूले देखेको सपनालाई उहाँले पन्छाउनुभएन, त्यतिबेला उहाँको भनाइ थियो, ‘मैले आफ्ना लागि आवाज उठाएकी होइन, भावी सन्ततीका लागि हो, आफ्नै बाबुआमाले भेदभावपूर्ण व्यवहार गरेर सन्तानको आत्मबल नघटाउन भन्ने मेरो चाहना हो । यो कुनै व्यक्तिगत स्वार्थबाट प्रेरित चाहना होइन समानताको लडाइँ हो । अहिले मैले नेतृत्व गरेँ यो संहाल्नका लागि भोलि अरू आउनेछन् ।’ कानुनी सहयोग तथा परामर्श केन्द्र -ल्याक) को स्थापना र त्यसबाट नेपाली महिलाका निम्ति पुगेको न्यायको पहल आफंैमा एउटा उदाहरण हो जसले निरन्तरता पाइरहोस् भन्ने उहाँको असिम चाहना अन्तिमसम्म पनि थियो ।
शान्ता म्याडम अस्वस्थ भएदेखि त्यति राम्ररी भेट्न पनि पाइएको थिएन, उहाँ कहिले भरतपुर त कहिले काठ्माडांैका अस्पतालहरूमा हुनुहुन्थ्यो । पछिल्लो चरणमा भरतपुर क्यान्सर अस्पतालमा उहाँको लामो समय बित्यो । म्याडमसँगै लामो समय काम गरेकी ल्याककी निर्देशक अधिवक्ता साथी शारदा सुब्बासँग बारम्बार म्याडमको स्वास्थ्यका बारेमा कुरा भइरहन्थ्यो । उनी भन्थिन्- तिमीलाई सम्भिmरहनुहुन्छ । गत माघ १७ गते सदाझैं शारदालाई फोन गरेँ र सोधेँ- कस्तो छ म्याडमलाई – ‘चाँडै आऊ’ शारदाले यसो भनेपछि मन एकतमासले ढक्क फुलेझैं भयो, लौ न म्याडमलाई केही भयो कि – किन शारदाले यसो भनिन् भनेर दौडिएर पुल्चोकस्थित उहाँको निवासमा पुग्दा म्याडम ओछ्यानमा हुनुहुन्थ्यो, उहाँका छोरा डा. विशारत आमालाई सास फेर्न सजिलो होस् भनेर अक्सिजन जोडिदिइरहेका थिए । म्याडम पूरै होसमा हुनुहुन्थो, म पुगेपछि छोराले ‘चिन्नु भो नि’ भने आमालाई, आँखाभरि आँसु पारेर म्याडमले बबिता भन्नुभो । उहाँलाई देखेपछि गला अवरुद्ध नहुने कुरै थिएन, प्रायः ८० केजीको हाराहारीमा डम्म शरीरकाबीच सधैं हँसिली शान्ता म्याडम सुकेर हाडछालामा सीमित हुनुहुन्थ्यो । बच्चाको जस्तै सानो भएको थियो उहाँको शरीर, आँसुले भरिएका आँखाले धेरै कुरा बोलिरहेका थिए । केहीछिनपछि बुहारी अनिता आइन् बच्चालाई झैं उहाँले तिमीले बबितालाई चिनिनौ भन्नु भो, मुवा किन नचिन्नु, अघि नै भेटिसकेँ भनेर अनिताले भनेपछि ए…शैलीमा अलिकति टाउको हल्लाउनुभयो । म नजिक गएपछि उहाँले तिमी आयौ, बन्दना -राणा) लाई कस्तो छ – भनेर सोध्नु भो । मैले बन्दनालाई फोन गरेँ, उनी तुरुन्तै आइन् । एकजनालाई भेटेपछि अर्कोलाई सम्भिmँदै जानुहुने रहेछ उहाँले । सङ्गीता थापा, सरू जोशी, चाँदनी जोशी सबैलाई सम्भिmनुभएको थियो, अनुराधा -कोइराला) हिजो आएकी थिइन् भन्नु भो मसँग । मैले कुरा गर्दा उहाँलाई दुःख हुने हो कि भन्ने ठानेर टाउको हल्लाएँ मात्र । बन्दनाले हजुर त हाम्रो प्रेरणा हो भन्दा उहाँ अलिकति हाँस्नुभयो । परिस्थितिअनुरूप मान्छेको अनुभव र सोच पनि अनेक हुँदोरहेछ । कुनै बेला शान्ता म्याडमको एकैछिनको अनुपस्थिति पनि खल्लो लाग्ने म त्यस दिन मनमनमा सोचिरहेकी थिएँ, हे भगवान् उहाँलाई धेरै दुःख नदिइकन चाँडै लैजाऊ ।
शान्ता म्याडमलाई मैले २०४७ सालदेखि नै चिनेकी हुँ, जतिबेला म भर्खरै पत्रकारितामा प्रवेश गरेकी थिएँ । संविधान सुझाव आयोगलाई सुझाव दिनका लागि उहाँहरू अहोरात्र खटिरहनुभएको थियो । मेरी आमाकी उमेरकी ती महिला फायल बोकेर यता र उता दौडिएको र तिनले मिलाएर सभा-सम्मेलनहरूमा बोलेको देखेर म खुबै प्रभावित भएकी थिएँ । उहाँलाई भेट्दा सुरुमै खै किन-किन मलाई आफ्नो अविभावकझैं लागेको थियो । पछि जतिजति नजिकबाट बुझ्दै गएँ उहाँप्रतिको श्रद्धा झन्झन् बढ्दै गयो । सानातिना कुरामा वास्ता नगर्ने, अरूको राम्रो हुँदा असाध्यै खुसी हुने, सकारात्मक सोच र फराकिलो छाती भएकी नेतृका रूपमा उहाँप्रतिको सम्मान मेरो मन र मस्तिष्कमा सुरुदेखि नै रह्यो र सधैं रहिरहनेछ । समयक्रममा उहाँसँगै रहेर पाँच महिनाजति काम गर्न पाएँ, धेरैसँग मिल्न सक्ने, विषय र प्रसङ्गहरूलाई सकारात्मक रूपले हेर्ने उहाँको सोच प्रेरणादायी रह्यो । उमेरले म धेरै सानी भए पनि हामीबीच व्यक्तिगतदेखि लिएर धेरै कुरा हुन्थे । जीवनमा उहाँले भोग्नुभएको वास्तविकता र अरूको बुझाइ निकै फरक थियो, मलाई लाग्छ म्याडमलाई मजत्तिकै नजिकबाट चिन्ने उहाँका पारिवारिक सदस्यहरूबाहेक कमै मानिस होलान् । झटि्ट हेर्दै धकलाग्दो व्यक्तित्व थियो उहाँको, कहिलेकाहीँ सामूहिक रूपमा खाजा खाँदै गर्दा म्याडम भन्नुहुन्थ्यो, ‘मलाई नथप है, धेरै खानुहुन्न, मोटाइन्छ ।’ त्यो शरीर कुनै दिन सुकेर हाडछालामा परिणत होला भनेर सोचिएको पनि थिएन ।
आफैंमा क्षमतावान् मानिसका लागि पद त्यति ठूलो कुरा त होइन तर पनि जब संवैधानिक अङ्गमा नियुक्तिका कुराहरू हुन्थे हामी उहाँलाई सम्भिmन्थ्यौँ । कानुनमा पीएचडी, प्राध्यापक भइसक्नुभएकी उहाँलाई कुनै स्थानमा लानु उहाँको होइन सो पदकै महत्त्व बढ्नु झैं हुन सक्थ्यो । तर, त्यसप्रकारको अवसर उहाँले कहिल्यै पाउनुभएन जसमा उहाँलाई अलिकति पनि दुःख थिएन । कानुनी सहयोग तथा परामर्श केन्द्रमार्फत उहाँले गरेको कामले महिलाहरूलाई पुर्‍याएको न्याय आफंैमा उदाहरणीय कार्य थियो । आफ्नै घरको सानो कोठाबाट सुरु भएको ल्याकको कार्य फैलँदै जाँदा धेरैभन्दा धेरै महिलाले न्याय पाउँदै गए । पछिल्लो चरणमा महिलाबाट पीडित केही पुरुष पनि म्याडमसमक्ष न्यायका लागि आउने गरेका थिए । ल्याकको आफ्नै भवन हुँदा उहाँले भन्नुभएको थियो, हेरन ल्याकको आफ्नै घर भयो, स्थापित भयो, म नभए पनि अब चल्छ । नेपाल कानुन क्याम्पसप्रति उहाँको अगाध माया थियो जहाँ जीवनका उर्वर वसन्तहरू बिताउनुभएको थियो । क्याम्पसमा पढाइरहेकै बेला ६५ वर्षको उमेरमा एक्कासि महिनावारी भएझैं गरेर रगत बगेपछि परीक्षण गर्दा पाठेघरको क्यान्सर चौथो स्तरमा पुगिसकेको रहेछ । त्यही निहुँमा उहाँ यो संसारलाई छोडेर जानुभयो, कुनै बेला उहाँले नै भनेको कुरा सम्भिmन्छु, कालले आफूलाई दोषबाट बचाउन रोगलाई अघि सार्छ रे क्या । उहाँ यो संसारमा नभए पनि योगदानको स्मरण सदा रहनेछ ।