जरायोटारका स्थानिय सुविधा सम्पन्न एकीकृत बस्ती पुनर्निर्माणमा

जरायोटारका स्थानिय सुविधा सम्पन्न एकीकृत बस्ती पुनर्निर्माणमा


सिन्धुपाल्चोकस्थित जरायोटारका बासिन्दाहरु एकीकृत बस्ती पुनर्निर्माणमा लागि परेका छन् । भूकम्प पीडित नागरिकहरु आय आर्जनसहितको एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका वडा नम्बर ११ जरायोटारका स्थानीयबासिन्दा आय आर्जनसहितको एकीकृत बस्ती पुनर्निर्माण गर्ने अभियानमा जुटेका छन् । पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माणका लागि स्वीकृति प्रदान गरेसँगै आम्दानीको स्रोतसहित पर्यटकीय बस्ती निर्माणमा उनीहरु जुटेका हुन् ।

क्षेत्री, ब्राह्मण, भुजेल लगायतका ६५ परिवार एकीकृत बस्ती बनाउने अभियानमा लागेका छन् । सरकारी स्वीकृतिसँगै एकीकृत बस्तीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले शिलान्यास गरेका हुन् । बस्तीको शिलन्यास गर्दै उहाँले नागरिकको आयआर्जनसँग जोडिएको विषय भएकोले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । भूकम्प पीडित नागरिकहरुलाई प्राधिकरणले उपलब्ध गराउने सेवा सुविधामा कुनै कमी हुन नदिने डा. युवराज भुसालको भनाई छ ।

जरायोटारबासीले भूकम्पपीडित ६५ घरपरिवारको स्थायी पुनर्निर्माण तथा पुर्नवास समिति गठन गरी बस्ती निर्माणको कार्य आरम्भ गरेका छन् । गाउँमा कुल ६५ वटा सुविधासम्पन्न घरहरु निर्माण हुनेछन् । प्रत्येक घर परम्परागत शैलीमा निर्माण हुनेछ भने आधुनिक शौचालय, बायोग्याँस, बगैंचा पनि निर्माण गरिनेछ । एकिकृत बस्ती निर्माण सकिएपछि होमस्टे पनि शुरु गर्ने योजना रहेको समितिका सचिव रामकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार प्रति घर १३ लाखको लागतमा तयार हुनेछ ।