बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारीमा प्राधिकरण

बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारीमा प्राधिकरण


नेपाल विद्युत प्राधिकरणले बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारी गरेको छ । नेपालमा सुख्खायाममा हुने विद्युत अभावलाई टार्नका लागि प्राधिकरणले ‘इनर्जी बैंकिङ’ को यो अवधारणा ल्याएको हो । तर यसप्रति भारतले भने महत्व दिएको छैन् ।

नेपालका जलविद्युत आयोजनाहरु पानीको बहावमा आधारित भएकोले बर्षायाममा विद्युत उत्पादन बढि हुने र हिउँदको समयमा लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले बर्षायामका विद्युतलाई खपत गराउनका लागि भारत पठाउने र नेपालमा अभाव भएको बेला भारतबाट ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।

आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लिएर जाने प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य लगभग सकिएको र उक्त आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।

प्राधिकरणले चारबर्ष अघि नै यो अवधारणा ल्याएर नेपाल–भारत सचिवस्तरीय बैठकमा समेत प्रस्ताव लगेको थियो । तर त्यो समयमा नेपालमा संचालनमा रहेका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत निकै कम भएको र बर्षायाममा पनि लोडसेडिङ गर्नुपर्ने बाध्यताका कारण उक्त ‘इनर्जी बैंकिङ’ को अवधारणा कार्यन्वयन हुन सकेको थिएन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि  नेपालबाट भारततर्फ विद्युत् पठाउन सम्भव भएकाले यो विषय उठान गर्न लागिएको प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार भारत जलविद्युत्मा पूर्ण निर्भर नभएको र जलविद्युतको क्षमता ५० हजार मेगावाट रहेकोले भारतमा थर्मल, सौर्य र हावाबाट उत्पादित बिजुलीले मुलुकको माग धान्दै आएको छ ।

तर विगत लामो समय अघिदेखि नेपालले छिमेकी मुलुक भारतको बजारलाई लक्षित गरी ‘इनर्जी बैंकिङ’ को अवधारणालाई महत्वका साथ हेरेपनि भारतले भने महत्व दिएको छैन् ।