प्रदेशको नाम राख्न ताते मुख्यमन्त्री राई

प्रदेशको नाम राख्न ताते मुख्यमन्त्री राई


अरु प्रदेशलाई उछिन्दै प्रदेश नम्बर ७ ले आफूलाई कर्णाली प्रदेशमा रुपान्तरण गरेपछि प्रदेशको नाम राख्न बाँकी प्रदेश पनि तातेका छन् । यसरी नामाकरणका लागि आतुरता देखाउनेमा प्रदेश नं १ परेको छ । सो प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उनले भने, ुभ्रष्टाचारमुक्त समाजको निर्माण, दण्डहीनताको अन्त्य र अपराधजन्य घटना रोक्नका लागि शून्य सहनशीलता अपनाउने निर्णय गरिनेछ ।ु

नागरिकको सम्मान र सुशासनका लागि नागरिकसँग प्रहरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राईले एक महिनाभित्रमा प्रहरीको टोलीले प्रत्येक घरको मूलद्वारमा स्टिकर टाँस्ने र सो स्टिकरमा स्थानीय, इलाका र जिल्ला प्रहरीका महत्वपूर्ण टेलिफोन वा मोबाइल नम्बर समेत समावेश गरिने बताए ।

सरकारको नीति तथा कार्यक्रमअन्तर्गत ‘आफ्नो बाटोमा आफैँ हिँड्ने नीतिअनुरुप’ सय दिनको कार्यलाई प्राथमिकतामा राखेर आ–आफ्ना जिल्ला र क्षेत्रको महत्वपूर्ण कार्यमा केन्द्रित हुन प्रदेशसभा सदस्यलाई आह्वान गर्दै उनले प्रदेश नं १लाई नमूना प्रदेश बनाउनका लागि आगामी पाँच वर्षको कार्ययोजना तयार गरी कार्य गरिने जानकारी गराए ।