विप्लव र बैद्यका नेताहरूबीच सहकार्य

विप्लव र बैद्यका नेताहरूबीच सहकार्य


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन बैद्य नेतृत्वको नेकपा .क्रान्तिकारी माओवादी)का चितवन जिल्ला नेतृत्वबीचमा भएको वार्ताले चारबुँदे सहमति गरेको छ । दुई पार्टीबीच एकता गर्नेबारे छलफल चलिरहेको बेला क्रान्तिकारी माओवादीकी केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज अम्बिका मुडभरी र नेकपा चितवनका इन्चार्ज लालबहादुर बीसीबीच सहमति भएको हो ।

सहमतिपछि जारी विज्ञप्तिका अनुसार क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरणको आवश्यकतालाई मध्यनजर गर्दै दुवै पार्टीका जिल्ला नेतृत्वले राष्ट्रियता, जनतन्त्र र जनजीवीकालगायतका मुद्दामा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । दुवै पार्टीको केन्द्रिय स्तरमा जारी सहकार्यलाई जिल्लास्तरमा निरन्तरता दिन दुवै पार्टी सक्रियतापूर्वक सहभागी हुने विज्ञप्तिमा उल्लेख छ । यस्तै, देशव्यापी रूपमा राजनैतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपकडप्रति खेद प्रकट गर्दै आगामी दिनमा संयुक्त रूपमा भण्डाफोर गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।