केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारमा जान उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम तयार भएको बुझिएको छ । सम्बद्ध सुत्रका अनुसार प्रदेश नं. २ को सत्तासाझेदार राजपाको असन्तुष्टिकै बीच सरकारमा सहभागी हुन फोरम तयार भएको हो । औपचारिक सहमति दिइनसकेको भए पनि फोरम ओली सरकारमा सहभागी हुने तय भइसकेको छ ।
सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरुको गृहकार्य जारी नै छ । बताइएअनुसार फोरमको चित्त बुझ्ने हिसाबले संविशान शंसोधन गर्न एमालेले तत्पराता जनाएको छ भने सरकारमा गएर वामगठबन्धनलाई सघाउन फोरमले पनि लचकता अपनाएको छ ।
ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी एवं अनौपचारिक छलफलमा लागेका एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । बुध या विहिबारसम्ममै सहमतिमा पुग्ने र दुई पक्षबीच लिखित सहमति गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले फोरम सरकारमा आउने अपेक्षा गरेर नै सोमबारको मन्त्रिमण्डल विस्तारलाई आंशिक रुपमा मात्र विस्तार गरेका थिए । फोरम सरकारमा आउने अवस्थामा एमाले र माओवादी केन्द्रबीच यसअघि मिलाइएको एघार र सात मन्त्रालयको बाँडफाँडमा फेरबदल गर्नुपर्ने छ । यसको तयारी समेत प्रधानमन्त्री ओलीले गरिसकेका छन् । प्रचण्डसँग छलफल गरेर फोरमलाई दिन सकिने मन्त्रालयबारे टुंगो लगाइने छ । उपेन्द्र यादवले परराष्ट्र मन्त्रालय पाउने करिव निश्चित जस्तै ठानिएको छ भने अर्को एक मन्त्रालयबारे नेताहरुले धारणा स्पष्ट पारिसकेका छैनन् ।
प्रतिक्रिया