एमालेभित्रै ‘केपीआतङ्क’

एमालेभित्रै ‘केपीआतङ्क’


जनताबीच लोकप्रियताको उत्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, सोच र व्यवहारले स्वयम् ओलीकै राजनीतिक दल नेकपा एमालेभित्र भने तनाव र आतङ्कको स्थिति पैदा गरेको छ । ओलीको चाहनाबाहेकको कुनै निर्णय हुन नसक्ने, आफूलाई पूर्ण विश्वास भएकालाई मात्र भूमिका दिने, कुनै विषयमा कुनै समय असहमति जनाउने या असहयोगी रहेकाहरूप्रति असहिष्णु व्यवहार गर्ने भएकोले उहाँका प्रति चरम असन्तुष्टि भए पनि अहिलेसम्म कसैले त्यसको प्रतिवाद गर्न खोजेका छैनन् । भुसको आगोझैँ यतिबेला एमालेभित्र केपी ओलीप्रतिको आक्रोश भित्रभित्रै सल्किँदै गएको छ । एक समय तात्कालिक अख्तियारप्रमुख लोकमानसिंह कार्कीबाट पार्टी नेता र प्रशासकहरू जसरी आतङ्कित बनेका थिए, त्यसरी नै अहिले एमालेभित्र एमालेकै नेताहरू ओलीबाट आतङ्कित बन्न पुगेका छन् । उहाँको कार्यशैली र व्यवहारलाई ‘तानाशाही’का रूपमा लिन थालिएको छ ।

माओवादी र आफूहरूबीच पार्टी एकता र सहकार्यका निम्ति भएको गोप्य बैठक र बैठकमा भएका छलफलबारे केपी ओलीले आफ्नो पार्टीका नेताहरूलाई जानकारी गराउने या छलफल गर्ने गर्नुभएको थिएन । माओवादीसँग चुनावी तालमेल गर्दै अन्ततः पार्टी एकतासमेत गर्ने कुराको टुङ्गो लगाइसकेपछि मात्र उहाँले आफ्ना समकालिक नेताहरूसमक्ष अनुमोदनका लागि प्रस्तुत गर्नुभएको थियो । ओलीले जानकारी नदिए पनि प्रचण्डबाट गुप्त बैठकबारे निरन्तर विस्तृत जानकारी पाउँदै आएको र, एकतापछि ओलीलाई ‘ट्र्याक’मा राख्न सजिलो हुने ठानेकोले एमालेका नेताहरू ‘एकता’प्रति सकारात्मक र सहयोगी बनेका थिए । दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर सबै कम्युनिष्ट वामपन्थीहरूमा उत्साह पैदा गर्न अग्रसर केपी ओलीले एमालेभित्रको एकतालाई भने महत्व नदिएको सम्बद्ध पार्टीका नेताहरूले ठानेका छन् । एमालेको भागमा परेको चारवटै प्रदेशका मुख्यमन्त्रीहरू आफूअनुकूल चयन गर्ने ओलीबाट मन्त्रिमण्डल गठनका क्रममा पनि पार्टीको अर्को पक्षले आफूहरू उपेक्षित भएको ठानेको छ । राष्ट्रपतिलगायत अन्य महत्वपूर्ण जिम्मेवारीमा पनि केपी ओलीको इच्छाविपरीत कुनै निर्णय हुन सक्ने देखिएको छैन ।

ओलीले चाहेको र खोजेकोबाहेक अन्यथा निर्णय हुन नसक्ने अवस्था बनेपछि एमालेका नेताहरू आतङ्कित र क्रूद्ध भएका हुन् । नेताहरूमा उत्पन्न क्रोध र असन्तुष्टिले निकास पाउन नसक्दा ओलीप्रति असहमतहरू ‘भूमिगत शैली’मा एकजुट हुने कसरतमा लागेका छन् ।

यसरी ओलीले चाहेको र खोजेकोबाहेक अन्यथा निर्णय हुन नसक्ने अवस्था बनेपछि एमालेका नेताहरू आतङ्कित र क्रूद्ध भएका हुन् । नेताहरूमा उत्पन्न क्रोध र असन्तुष्टिले निकास पाउन नसक्दा ओलीप्रति असहमतहरू ‘भूमिगत शैली’मा एकजुट हुने कसरतमा लागेका छन् । प्रचण्डसँगको पार्टी एकतापछि बल मिल्ने र केपीलाई तह लगाउन सकिने विश्वास र विश्लेषणका आधारमा एमाले नेताहरू धैर्यपूर्वक कदम चाल्दै छन् ।

राजनीतिक चलखेल र छलकपटमा ‘अब्बल’ मानिएका प्रचण्ड एमालेभित्र उत्पन्न तनाव र दरारबाट उत्साही बनेको र एकीकरणपछि उक्त पार्टीको सर्वोच्च हैसियतमा स्थायी रूपले नै रहन सक्ने विश्वासमा रहेको बुझिन्छ । त्यसैले पार्टी एकीकरण कार्य सम्पन्न नभइन्जेल जसरी माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूले केपीविरुद्ध जाइलाग्न धैर्य गरेका छन्, त्यसैगरी प्रचण्ड पनि पार्टी एकता कार्यान्वयनको प्रतीक्षामा रहेको बुझिन्छ ।

एकीकरणपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा र भीम रावललगायतलाई एकत्रित गरेर केपी ओलीलाई ‘सिध्याउन’ सकिने सपना प्रचण्डले देखेको निकटवर्तीहको भनाइ छ । यस पृष्ठभूमिमा पुनर्गठन हुने भनिएको एकीकृत ‘नेपाल कम्युनिष्ट पार्टी’ र ओली नेतृत्वको सरकारको भविष्य–मार्ग सहज र सरल देखिएको छैन । केपी ओलीले आफ्नै सहयोगी रहँदै आएका विष्णु पौडेल र ईश्वर पोखरेललगायतका नेताहरूको समेत मन दुखाउनुभएको बताइन्छ । त्यसैले पार्टी एकीकरणपश्चात् ओली सङ्कटको भुमरीमा पर्ने सम्भावना बढेको छ ।

विश्वासको मत लिइसकेपछि ओलीबाट ‘धोखा’ हुन सक्ने ठानेर नै प्रचण्डले पनि त्यसअघि नै लिन सकिनेजति लिइसक्ने चाल चलेको बुझिन्छ । केही दिनअघि चितवन पुगेर ‘हामी देश र जनताको लागि कुनै पनि प्रकारको फड्को मार्न सक्छौँ’ भनी प्रचण्डले दिएको अभिव्यक्तिलाई ओलीले ‘धम्की’ र ‘ब्ल्याकमेलिङ’को रूपमा बुझ्नुभएको बताइन्छ ।

यसरी आफ्नाविरुद्ध पार्टीभित्र मोर्चाबन्दी हुन सक्छ भन्ने जान्दाजान्दै पनि ओली पार्टी एकीकरणबाट सजिलै पछि हट्न सक्ने स्थितिमा हुनुहुन्न । उहाँ भविष्यमा आइपर्न सक्ने सङ्कटप्रति सचेत हुनुहुन्छ भन्ने सङ्केतचाहिँ एकीकरणमा भएको ढिलाइ र उपेन्द्र यादव नेतृत्वको समूहसँग सत्तासाझेदारी गर्ने निर्णयले गरेको छ । प्रचण्डप्रति विश्वस्त हुन सकेको भए ओलीले उपेन्द्र यादवलाई महत्व दिने सम्भावना थिएन । कुनै पनि बेला प्रचण्डले धोखा दिन सक्ने शङ्का भएकैले यादवलाई ‘जगेडा’ शक्तिका रूपमा राख्न ओलीले विशेष कसरत गर्नुभएको बुझिन्छ । बाहिरबाट हेर्नेहरूले यादवलाई जोडेर दुईतिहाइ बहुमतको सरकार निर्माण गर्न ओलीले तत्परता लिनुभएको देखिए पनि वास्तवमा उहाँले बहुमत कायम राख्न मात्र यादवलाई मिलाउनुभएको हो । संविधानबमोजिम संसद्बाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री केपी ओलीको व्यवहार पनि बदलिन सक्ने सम्भावना छ ।

विश्वासको मत लिइसकेपछि ओलीबाट ‘धोखा’ हुन सक्ने ठानेर नै प्रचण्डले पनि त्यसअघि नै लिन सकिनेजति लिइसक्ने चाल चलेको बुझिन्छ । केही दिनअघि चितवन पुगेर ‘हामी देश र जनताको लागि कुनै पनि प्रकारको फड्को मार्न सक्छौँ’ भनी प्रचण्डले दिएको अभिव्यक्तिलाई ओलीले ‘धम्की’ र ‘ब्ल्याकमेलिङ’को रूपमा बुझ्नुभएको बताइन्छ ।

यस्तै शङ्का र अविश्वासको स्थिति कायम रह्यो भने कुनै निश्चित बिन्दुमा पुगेपछि एकता भाँडिन सक्ने सम्भावना छ । पार्टी एकता नभए पनि यादवको साथ रहेमा केपी नेतृत्वको सरकारले निरन्तरता पाइरहने स्थिति छ । तर, आफ्नै पार्टीभित्र ‘केपीआतङ्क’ जुन पैदा भएको छ, समयमै यसको व्यवस्थापन हुन सकेन भन्ने पार्टी एकीकरण भए पनि नभए पनि केपी ओली सङ्कटको भुमरीमा पर्नुहुने ‘दृश्य’ टड्कारो हुँदै गएको छ ।