काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले भने, ‘सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ ।’
निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक र व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण कांग्रेस पराजित हुनुपरेको सन्दर्भ कोट्याउँदै नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कांग्रेस पार्टीले परिवर्तन खोजेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले शुक्रबार नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा मन्तव्य दिँदै उनले परिवर्तित समयसँगै कांग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने दाबी गरे ।
कांग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक रहेको तर्क गर्दै उनले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोप लगाए ।
सो अवसरमा कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच कांग्रेसप्रति हीनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे कांग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए । सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ भन्ने धारणा समेत उनले अघिसारे ।
प्रतिक्रिया