राष्ट्रपति पदप्रति विभिन्न नेताले प्रत्यक्ष तथा परोक्ष रुपमा लालसा दर्शाएका भए पनि सो पदमा वर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने प्रवल सम्भावना रहेको विश्लेषण घटना र विचारले गर्दै आएको सन्दर्भबीच प्रमुख दलका नेताहरुले समेत यस्तै संकेत गर्न थालेका छन् । एमाले र माओवादी केन्द्रका शीर्ष तहका नेताहरुले विद्या भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिँदा विविध दृष्टिले मुलुकको हित हुने तर्क अघिसारेका हुन् ।
आगामी २९ गते राष्ट्रपति निर्वाचन गरिने भनी निर्वाचन आयोगले तिथि निर्धारण गरिसकेको छ । यससँगै सो पदका आकांक्षीहरुको चर्चा पनि बढेको छ । खासगरी एमालेका झलनाथ खनाल, सुवास नेम्वाङ, माओवादी केन्द्रका अमिक शेरचनलगायतको नाम राष्ट्रपतिको आकांक्षीको रुपमा चर्चामा छ । यीवाहेक कांग्रेसकै कतिपय नेताले पनि राष्ट्रपति बन्ने चाहना राखेका कुरा समाचारमा आएका छन् भने मधेसकेन्द्रित दलका सिनियर नेताको नाम पनि लिइने गरिएको छ । तथापि, यी सबै चर्चाहरुलाई चर्चामा सीमित तुल्याउँदै विद्या भण्डारी नै राष्ट्रपतिमा दोहोरिने माहोल भने दिन प्रतिदिन सशक्त बन्दै गएको छ ।
प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विद्यालाई नै राष्ट्रपति बनाउनुपर्नेमा एक ठाउँ उभिएका छन् । यसमा ओलीको सार्वजनिक धारणा आइनसकेको भए पनि प्रचण्डले चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिमा हालकै अनुहार दोहोरिने संकेत विभिन्न अवसरमा गरेका छन्।
आज पनि एक कार्यक्रममा सरिक हुने सिलसिलामा अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तै संकेत गरे । हालकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउने मत नेकपा एमाले र माओवादी केन्द्रमा बलियो रहेको उनको भनाई थियो ।
राष्ट्रपति र उपराष्ट्रपति दुबैले पुरै समय कार्यकाल विताउन नपाएकाले अहिलेकै व्यक्तित्वहरुलाई निरन्तरता दिने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै प्रचण्डले एक–दुई दिनभित्रै यस विषयमा आफूहरु टुङ्गोमा पुग्ने जानकारी दिए । उनले एमालेले राष्ट्रपतिको टुङ्गो लागेपछि मात्रै माओवादी केन्द्रले उपराष्ट्रपतिको टुङ्गो लगाउने उनको भनाई थियो । विद्या नै राष्ट्रपतिमा दोहोरिए आफूले उपराष्ट्रपति भए पनि पाउनुपर्ने चाहना प्रस्तुत गर्दै आएका माओवादी केन्द्रका नेता अमिक शेरचनको सम्भावनालाई अन्योलमा पार्दै प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुन नै पुनः दोहोरिने संकेत गरे ।
भोलि शनिबारसम्म मन्त्रालय बाँडफाँडलगायतका विषय टुङ्गो लगाएर आइतबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको पनि प्रचण्डले बताए ।
यो पनि हेर्नुहोस्-
प्रतिक्रिया