देउवासँग भिड्ने नै भए प्रकाशमान

देउवासँग भिड्ने नै भए प्रकाशमान


नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुने अवस्था निम्तिएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ ।

पार्टी महामन्त्री डा. शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गर्नुभएको दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताउनुभएको थियो ।

कांग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।

महामन्त्री डा. कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ र उहाँले सर्वसम्मत भएमात्र आफू दलको नेताका लागि अघि बढ्ने स्पष्ट पार्नुभयो । काँग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको थियो ।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

नयाँ सरकार गठनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो पार्टीका संसदीय दलका नेता चयन गरे पनि कांग्रेसले भने सांसद पदको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्न वैधानिक हुने जिकीर गरेको छ ।

कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसद्को पहिलो बैठक यही फागुन २१ गतेका लागि आह्वान गर्नुभएको छ । त्यसअघि संघीय संसद् सचिवालयले संघीय सांसदहरुको पद तथा गोपनीयताको शपथ फागुन २० गतेका लागि निर्धारण गरेको छ । प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ अपराह्न ५ बजे हुनेछ । उहाँहरूलाई सम्बन्धित सदनका ज्येष्ठ सदस्यले शपथ दिलाउनुहुनेछ ।

फागुन १३ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाली कांग्रेस संसदीय दलको विधान संशोधित तथा परिमार्जनसहित, २०७४’लाई सर्वसम्मतले अनुमोदन गरेको थियो । साथै संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

– भीष्मराज ओझा